पाउण्ड स्टर्लिङको मोहले यस्तै भएँ

पाउण्ड स्टर्लिङको मोहले यस्तै भएँ


-सुमल कुमार गुरुङ,
आज मोहम्मद असलम चौधरीको नयाँ नोकरीमा पहिलो दिन हो । सिलिक्क परेको पातलो जिउ, चट्ट कमिज र जिनको पतलुनमा निकै फुर्ती र जाँगर देखाउँदै हुभर लगाउँदै छ । निधारमा चिट्चिट् अलि-अलि पसिनाको थोपा-थोपा निस्केर कञ्चटको बाटो हुँदै झर्दैछन् । मैले उसको अनुहार र शरीरको बनावट हेरेर बंगलादेशी नै हुनुपर्छ भन्ने अन्दाज लगाएँ । क्लिनर सुपरभाइजर, ख्रिस्टियानोले मलाई ऊ स्वेलेनको बदलीमा आजदेखि काममा भर्ना गरेको हो भनेर चिनाएका थिए ।
मैले पक्का पनि बंगाली नै हो भनेर बंगला भाषामा उसलाई सोधें, -“तपाईंको नाम के हो ?”
छक्क पर्दै एकपल्ट मलाई हेर्‍यो हात मिलाउँदै आफ्नो नाम भने, “मोहम्मद असलम चौधरी” अनि फेरि मलाई सोधे -“तपाईं बंगलादेशी हुनुहुन्छ ?”
“होइन ! म नेपाली हुँ” भनेर हाँस्दै छोटो जवाफ दिएँ ।
“कहाँबाट सिक्नु भयो ? तपाईको बंगलाभाषा राम्रो छ त ।”
“म भारतमा पढ्दा धेरै बंगाली साथीहरु थिए, उनीहरुबाट सिकेको थिएँ” भनेर जवाफ दिएँ र उनी मुसुमुसु हाँस्दै आफ्नो काममा व्यस्त भए ।
भाषा एउटा सशक्त माध्यम हो जसबाट हामीले धेरै विषयहरु उपर विजय हासिल गर्न सक्छौं । सबैभन्दा पहिले अरु समुदायका मानिससंग अत्मियता र मित्रता छिट्टै गाँस्न सक्छौं । असलमलाई पनि मैले बंगाली भाषा बोलेकोमा खुशी लागेको अनुभूति मलाई भयो ।
उनको बोल्ने शैलीबाट उनी बंगलादेशको सिलेटिया बंगाली रहेछन् भन्ने कुरा मलाई थाहा लाग्यो किनभने सिलेटिया बंगालीहरुले आफ्नै सिलेटिया भाषा बोल्ने गर्छन् । बंगाली भाषाभन्दा अलि फरक बंगलादेशको सिलेट जिल्ला र भारत, असमको कछार जिल्लामा बसोबास गर्ने बंगालीहरुले सिलेटिया भाषा बोल्ने गर्छन् । असलम बेलायत छिरेको झण्डै पाँच वर्ष हुन लागेको रेहेछ, तर, अहिलेसम्म विधार्थी भीसामा नै बेलायतमा बस्दै आएका रहेछन् । मलाई उनीबारे केही जान्ने कौतुहलता जाग्यो । त्यसैले उनलाई केही प्रश्नहरु तेर्साएको थिएँ । जवाफमा भन्दै थिए….
“अब मेरो स्नात्तोकोत्तरको जाँच सिद्धिएपछि फुलटाइम काम गर्न पाउँछु” भनेर टाउको कन्याउँदै, एक हातले हुवर लगाउँदै मलाई उनले जवाफ दिए ।
अलि बोझिल स्वरमा फेरि भने, “यो मेरो ९ महिनाभित्र पाएको पहिलो काम हो” यतिबेला अलि नैराश्यता अनुहारमा प्रष्ट झल्किएको देखेँ ।
त्यसपछि उनी अफिसको करिडरतिर हुवर लगाउदै अघि बढ्छन् । मैले यो देशमा असलम जस्ता हजारौ शिक्षित मानिसहरु विशेषगरी एसियन मूलका मानिसहरु क्लिनर, रेस्टुरेन्ट, मासु बेच्ने पसलहरुमा र तल्लो दरको तनखा लिएर निम्नस्तरका कामहरु गरिरहेका देखेको छु । सेक्युरिटी क्षेत्रमा काम गर्नेहरुका लागि ड्युटी अवधि लामो र पैसा बढी भएकोले सकभर सेक्युरिटी क्षेत्रमा काम गर्ने प्रयास गर्छन् । मलाई असलमले ९ महिनाभित्र पाएको पहिलो काम हो भन्ने वाक्य निकैबेरसम्म कानमा गुञ्जिरह्यो । यो ९ महिनासम्म असलमलाई मनमा पीर र नोकरीको लागि कति संघर्ष गरेका होलान् । जीवन जिउनु कति गाह्रो भएको होला भनेर सोचें । यथार्थमा बेलायत ६ दशक अघिको बेलायत रहेन अहिले । उहिले यहँा काम गर्ने मानिसहरुको कमी भएकोले वेस्ट इण्डिज क्षेत्रबाट बस ड्राइभरका लागि मानिसहरु झिकाएका थिए, त्यस्तै भारत, पाकिस्तानबाट टेक्स्टाइल क्षेत्रमा काम गर्नका लागि धेरै मानिसहरु बेलायत सरकारले झिकाइएको थियो । त्यसभन्दा पहिले टनलहरु र रेलवे लाइन बिछ्याउनका लागि आयरल्याण्डका मानिसहरु झिकाइएको थियो ।
अहिले युरोपियन युनियन भित्रका गरीब राष्ट्रका मानिसहरु बेलायत ओइरिएका छन् तथा लेटिन अमेरिका, एसिया र अफि्रकाबाट पनि उतिकै कुनै न कुनै माध्यमबाट बेलायत आउनेक्रम जारी छन् । पछिल्लो केही वर्षयतादेखि नेपालीहरुको समूह, भूपू गोर्खालीहरु र उनका दरसन्तानहरु आउने क्रम भइरहेको छ ।ं नेपालीहरुले यो अधिकार धेरै पहिले नै प्राप्त गर्न सकेको भए नेपालीहरुको संख्या अल्पसंख्यक बेलायती नागरिकहरुमा सबैभन्दा बढी हुनेथियो । यस्तै बाहिरबाट हजारौ वर्ष पहिलेदेखि नै बेलायतमा मानिसहरु आउने क्रम थियो र अहिलेसम्म पनि यथावत छ । यसै कारण बेलायतलाई माइग्रेसनबाट बनेको देश पनि भनिन्छ । लोकतन्त्रको जननी भनेर चिनिने बेलायत एकपल्ट संसारको सबैभन्दा शक्तिशाली र धनी राष्ट्र थियो । बेलायती साम्राज्यमा कुनै बेला सूर्यास्त हुँदैनथ्यो भन्ने भनाइ साँचो थियो ।
बेलायतको वर्तमान अर्थिकमन्दीले तल्लोतप्काका जन्तालाई नोकरीको लागि निकै सास्ती उठाउनुपरेका छन् । नेपालबाट आएका हजारौं विधार्थीहरुको विचल्लीको कथा-व्यथा आफ्नो ठाउँमा छ । दशकौं पहिले आएका नेपाली बौद्धिक क्षेत्रका केही व्यक्तिहरु बाहेक धेरैजसोले सेक्युरिटीमा काम गरेर जीवन निर्वाह गरिरहेका छन् । उनीहरुको शैक्षिक योग्यता र प्रमाणपत्र केवल पालेसम्मको काममा सीमित रहेकाले उदासीन देखिन्छ । एकजना घिमिरे थरको भाइले मलाई भनेका थिए – “म अब छिट्टै नेपाल जाँदैछु कारण यो देशमा मैले केही गर्न सकिनँ, नेपालमा मैले महिनाको ३०-३५ हजार मज्जाले कमाउथें” । घिमिरे भाइ कुनै क्याम्पसमा लेक्चरर थिए रे र उनले ट्यूशन पढाएर राम्रो पैसा सजिलै कमाउने कुरा बेलाबेलामा भन्ने गर्थे ।
घिमिरे भाइले झण्डै डेढ वर्षपहिले मलाई यो कुरा भनेका थिए, तर, घिमिरे भाइ अहिलेसम्म त्यसै ठाउँमा सेक्युरिटीको काम गरेर बसिरहेका छन् । यस्ता कैयौ घिमिरे जस्ता पढेलेखेका नेपालीहरु बेलायतको सेरोफेरो ससाना कामहरु गरेर रमिइरहेका छन् ।
म फेरि असलमको कुरामा आउँदै यो लेखलाई अघि बढाउँदै छु । असलमले काम गर्न थालेको हप्तादिन भन्दा बढी भयो । पूरा मेहेनेत गरेर काम गरेकाले उनलाई खोट लगाउने ठाउँ थिएन । एकदिन उनले मलाई भने,
“दादा, मलाई म्यानेजरसँग भनेर अलि बढी घण्टाको कामको सिफारिश गरिदिनुहोस् न” भनेर अनुरोध गरे । उनको यो काम सिर्फ दिनको तीन घण्टाको छ । उनी चहान्छन् यदि दिनमा सात घण्टाजति पाएमा सबै समस्या हलहुने बताउँछ्न् ।
मैले “हुन्छ यदि भेकेन्सी भए भनि दिउँला नी” भनेर सान्त्वाना दिएँ ।
मलाई केही सोध्न मन लाग्यो , “तपाईको पढाइको बारेमा मलाई बिस्तृत भन्नुहोस् न” भनेर बंगालीमा सोधें ।
“दादा तपाईले पत्याउन हुन्नहोला”
मैले भने, “किन नपत्याउने भाइ ?”
“मैले बंगलादेशबाट एकाउन्ट विषय लिएर एमबीए गरेको थिएँ, त्यसपछि चार्टर एकाउन्ट पढेको थिएँ । चार्टर एकाउन्ट पास गरेपछि एउटा ठूलो कम्पनीमा काम गर्ने मौका पाएँ .. पैसा राम्रो नै थियो .. मेरो मातहातमा निकै कर्मचारीहरु काम गर्थे” भन्दै थिए ।
मैले बीचैमा कुरा काटेर प्रश्न गरें, “त्यतिराम्रो काम हुँदा हुँदै किन देश छोड्नुभयो ?”
“त्यस्तै भयो दादा, केही गर्छु भनेर आएको थिएँ”
“अनि चार्टर एकाउन्ट पढेको मान्छे फेरि के विषय लिएर पढ्नुभयो त ?” भनेर सोधें ।
“मैले फेरि यहाँ बिजनेस लिएर स्नातक गरें, अनि एमबीए पढ्न पढ्न थालें ।”
“तपाईले पहिले नै चार्टर एकाउन्ट गरिसकेको मान्छे फेरि ब्याचलर, एमबीए मैले बुझ्न सकिनँ ।”
“मेरो बंगलादेशको सर्टिफिकेटको मान्यता नभएकोले फेरि पढ्न थालेको अब दुर्इ दिन पछि मेरो अन्तिम परिक्षा छ हेरौं आगडि के हुन्छ, तर, मलाई लाग्छ मैले जति पढे पनि मैले उपल्लो काम पाउन सक्दिनँ .. आई हालें, अब यहाँ बस्ने सुविधा भएपछि सेक्युरिटीमा काम गर्नु पर्ला, अखिरीमा चाहिने पैसा न हो … पाउण्ड स्टर्लिङको मोहले यस्तै भएँ” भनेर मोप लगाउनको लागि टोयलेटतिर लागे ।
मैले सोचे ३२, ३३ वर्षको उमेरसम्म संघर्ष गरिरहेका असलम जस्ता कैयौ नेपाली बौद्धिक सर्कलका मानिसहरु पनि अहिले बेलायतमा यस्तै काम गरिरहेका छन् । अनि मैले पनि आफूलाई पाउण्ड स्टर्लिङको मोहले नै तानेको जस्तो आफूलाई लाग्यो ।