दिल्ली यात्राको सेरोफेरो -बबिता बस्नेत

दिल्ली यात्राको सेरोफेरो -बबिता बस्नेत


कमनवेल्थ गेमको अवसर पारेर भारतले नयाँदिल्ली एयरपोर्टको रूपरंग नै फेरेको कुरा सुनिएको थियो, हुन पनि विशालै बनाएको रहेछ, हिथ्रो (लन्डन) या सुवर्णभूमि (बैंकक) कै झल्को दिनेगरी । ‘फ्लाइट डिले’ भएकाले त्रिभुवन विमानस्थलमा अतिरिक्त तीन घन्टा बस्नुपर्दा हैरान भएका हामीलाई नयाँदिल्ली एयरपोर्टको तामझामले अलि अप्ठ्यारो, असजिलोजस्तो, कस्तो-कस्तो गराइरहेको थियो । यसो हुनुको कारण दिल्ली एयरपोर्टको प्रगति नभएर काठमाडौं एयरपोर्टको दुर्गति थियो । मौसमका कारण बिहानै उड्नुपर्ने जहाजहरू दिउँसोसम्म नउड्दा यात्रीहरूको खचाखच थियो । कुन फ्लाइट किन ढिलो भएको हो, अब कतिबेला हुन्छ जस्ता कुराहरूको सूचना कहीँ छैन, ट्वाइलेटको अवस्था त्यस्तै दयनीय, फोहोरले भित्र पस्नै नसकिने । त्यत्तिका मानिसहरूलाई सुरक्षा जाँचपछि धमाधम जहाज उड्ने ठाउँतिर पठाइँदै थियो जब कि त्यहाँ ती मानिस बस्ने ठाउँसम्म थिएन । बस्ने ठाउँ नभएपछि ‘यतै बस्दै गर्नुस्’ भन्न सकिन्थ्यो । झ्यारझ्यार गरिरहेको टेलिभिजनको च्यानल परिवर्तन गर्नुस् न भनेर त्यहाँ कार्यरत कर्मचारीलाई भन्दा ‘खै बिग्रिएको छ, घोचोले हान्नुपर्छ’ भने । पर्यटन वर्षलाई लक्षित गरेर ठाउँ-ठाउँमा लेखिएको ‘अब २०११ मा भेटौँला’ भन्ने सन्देशलाई अब त निकाले हुन्छ नि २०११ त भइसक्यो भन्दा मन्त्रीज्यूको आदेशबाट राखिएकोले आदेश नभई निकाल्न नमिल्ने बताइयो । पर्यटकहरूलाई आकरि्षत गर्ने महत्त्वपूर्ण स्थान एयरपोर्ट नै हो तर एयरपोर्टको अवस्था झन्झन् दयनीय बन्दै गएको छ । बसपार्कमा बस कुरेझैं गरी ट्वाइलेट पनि जान नपाई एयरपोर्टमा प्लेन कुरिरहेका बेला प्रा. डा विश्वम्भर प्याकुर्‍याल र सुजीव शाक्य भन्दै हुनुहुन्थ्यो- अब कहिले मन्त्रीले भित्तामा लेखिएका कुरा हटाऊ भन्लान् र यिनले हटाउलान् त…।
नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलको इमिग्रेसनमा लाइन बसिरहेका बेला म र अधिवक्ता भीमार्जुन आचार्यका बीचमा रहनुभएका पूर्वप्रधानसेनापति रुक्मांगद कटवालको मुहारमा हेर्दै सिभिल पोसाकमा रहेका एक व्यक्तिले हिन्दीमा सोधे- आप आर्मीका चिफ हे न, कसले, किन सोधिरहेको थियो केही नबुझी मैले ‘हो उहाँ नै हो’ भनें, चिफसा’ब मुस्कुराउनु मात्र भयो । तिनले फेरि सोही कुरा दोहोर्‍याएपछि उहाँले ‘रिटायर्ड हँु’ भन्नुभो । उहाँले त्यति के भन्नुभएको थियो ‘आइए सा’ब आपका स्वागत हे’ भन्दै उहाँले हातमा लिनुभएको ब्याग बोकी ती व्यक्तिले लाइनबाट निकालेर लगे । अलि पर भारतीय आर्मीका उच्च अधिकारीहरू उहाँलाई स्वागत गर्न उभिइरहेका रहेछन्, सलाम ठोक्दै घेरा हालिहाले । एकै ठाउँमा बस्ने भएकाले बिहानको ब्रेकफास्ट या बेलुकाको खानाका समयमा रिटायर्ड चिफसा’बका कुरा सुन्ने हाम्रो योजना उहाँको बस्ने-खाने सबै व्यवस्था भारतीय सेनाबाटै गरिएको सुनेपछि चकनाचुर भयो । कार्यक्रम सकेर एयरपोर्ट फर्कुन्जेलसम्म पनि उहाँ सेनाको घेराभित्रै रहनुभयो, सेनाकै रूपमा सही भारतमा उहाँले प्राप्त गर्नुभएको सम्मान नेपालीका निम्ति गर्वयोग्य थियो । उहाँले बोलेको सुन्न पनि मानिसहरूमा बढी नै उत्सुकता भएझैं लाग्यो, कार्यक्रमका अन्य सत्रहरूभन्दा उहाँको सत्रमा भारतीय अधिकारीहरूको उपस्थितिले सो कुरा प्रमाणित गरिरहेको थियो ।
आफ्नो मन्तव्यमा परराष्ट्रमन्त्री सुजाता कोइरालाले पटक-पटक मेरा पिता गिरिजाप्रसाद कोइराला, मेरा हजुरबुबा कृष्णप्रसाद कोइराला र ठूलोबुबा बीपी कोइराला भन्दै उनीहरूको भारतीय नेताहरूसँगको दोस्ती र नेपालको राजनीतिमा पुर्‍याएको योगदानको चर्चा गर्दा सबै मुखामुख गरिरहेका थिए । उनलाई गिरिजाप्रसादकी छोरी या कृष्णप्रसादकी नातिनी भनेर होइन नेपालको परराष्ट्रमन्त्रीका रूपमा त्यहाँ निम्त्याइएको थियो । तर, उनी देशको अवस्थाको बारेमा होइन आफ्ना पिता-पर्ुखाको वर्णन गरिरहेकी थिइन् । यसअघि प्रधानमन्त्रीको भारत भ्रमणमा उनी सहभागी नहुँदा भएको विवादमा उनले सञ्चारमाध्यमलाई दिएको प्रतिक्रिया असाध्यै लज्जास्पद लागेको थियो । मिडियासामु उनले भनेकी थिइन्- मैले त भारत भ्रमणमा जानका लागि पार्लरमा गएर कपाल मिलाइसकेकी थिएँ, नयाँ साडी पनि किनेकी थिएँ, पछि बिरामी परेँ त्यही भएर जान पाइनँ । त्यही ठाउँमा यदि कुनै पुरुष मन्त्री भएको भए निश्चित रूपमा भन्ने थिए- भारत भ्रमणमा के-के कुरा उठाउने भनेर एजेण्डाहरू तयार थिए, प्राथमिकताहरू तय गरिसकेका थियौँ, के गर्नु बिरामी परेँ, जान पाइनँ । तर, उनले त कपाल र सारीको कुरा गरिन् जसले कुनै पनि मन्त्रीको औपचारिक भ्रमणमा नितान्त निजी प्रयोजनबाहेक अर्को अर्थ राख्दैनथ्यो । नीति-निर्माणमा महिला सहभागिताको कुरा गर्नेहरूका लागि सुजाता कोइरालाको त्यो भनाइ एउटा गतिलो झापड थियो । यसपटक पनि त्यस्तै भयो, उनले बाउबाजेको तारिफ गरिन् र म तिनकै छोरी-नातिनीबाहेक अरू केही होइन भन्ने सन्देश दिइन् । परराष्ट्रमन्त्रीका रूपमा धेरै कुरा राख्न सकिन्थ्यो ।
निम्ता गरिएका प्रतिनिधिबाहेक मिडियालगायत अन्य कसैलाई पनि भित्र प्रवेश नदिने भनी आयोजकले केही पत्रकारहरूलाई ढोकाबाट फर्काउँदै गरेको देखिएको थियो । तर, कार्यक्रमको बीचतिर एकाएक हलमा देखापरे सभासद् बबन सिंह । कालो सुट टाई लगाएका उनी सरासर आएर म र सभासद् अनिल झाको बीचमा खाली रहेको कुर्सीमा बसे । नचिन्नेलाई वास्तै भएन, चिन्नेहरूलाई लाग्यो, ल… कहाँबाट आए बबन सिंहजी ? सहभागीका रूपमा यिनको नाम पनि थिएन । उनी त्यहाँ पुग्दा नेता रामशरण महत बोलिरहनुभएको थियो, एकछिनपछि नेता प्रदीप ज्ञवाली बोल्न थाल्नुभो । ‘टी ब्रेक’ पछि उनी सिटमा देखिएनन् र फेरि फर्किएर आएनन् पनि, पछि चर्चा हुँदा कसैले भन्यो- प्रदीप गिरीले बोलाउनुभएको हुन सक्छ, केही समयदेखि बबन र प्रदीप दुवै दिल्लीमै हुनुहुन्छ । प्राय: नेताहरूले भारतमा पुगेर कसै न कसैलाई भेटिरहेका बेला सद्भावना पार्टीका महासचिव तथा सभासद् अनिल झाले भने त्यसप्रकारको चहलपहलमा खासै रुचि राखेको देखिएन । किन होला त ? जिज्ञासामा राम्रै जवाफ पाइयो-छिमेकीलाई भेटेर घरको झगडा साम्य हुने होइन, के भेटिर’नु ? यता एमाले नेता प्रदीप ज्ञवालीलाई भेट्न आएका प्रवासी नेपालीले हिँड्ने बेलामा सबैलाई स्तब्ध बनाए, एयरपोर्ट जान गाडीभित्र चढिसकेका नेताहरूको मुखमा हेर्दै भने- ल है हजुर मुलुक यहाँहरूकै हातमा छ, समयमै संविधान बनेर देश अगाडि बढोस्, हामी त यहाँ बसेर चिन्ता गर्ने मात्रै हो, काम गर्ने त यहाँहरू नै हो, संविधान बनाउनुस् है ।