फितलो आयोजना माथि उठ्यो प्रश्न

फितलो आयोजना माथि उठ्यो प्रश्न


– श्रीविक्रम भण्डारी

‘मेरो गौरव, मेरो पौरख, मेरो खेलकुद’ भन्ने नारासाथ पुस ९ गतेबाट सुरु भएको राखेप च्याम्पियनसीपमा समावेश सम्पूर्ण २९ खेलका राष्ट्रिय प्रतियोगिता सम्पन्न भएका छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीका विभिन्न शहरमा आयोजित प्रतियोगिताहरू माघ ९ गते उसु खेलको समापनसँगै सम्पन्न भएको हो । एक महिना सम्म संचालन भएको राखेप च्याम्पियन विवादरहित सम्पन्न भएपनि फितलो आयोजनाको वारेमा भने प्रश्नचिन्ह उठेको छ ।

राखेप च्याम्पियनको आयोजनाअघि यो प्रतियोगिताको आयोजनाको औचित्यमाथि ठूलो प्रश्न खडा भएको थियो । परिणाम च्याम्पियनसिप धरापमा समेत परेको थियो । तर अहिले राखेप च्याम्पियनसीप सफलता पूर्वक सम्पन्न भएर खेलकुदलाई नयाँ संदेश दिन सफल भएको छ । हो, केहि खेलका प्रतियोगिताहरू फितलो रुपमा आयोजना गरिएको देखिएपनि केहि खेलका प्रतियोगिताहरू भव्यरुपमा संचालन भएका थिए । जस्ले राष्ट्रिय मात्र नभै अन्तर्राष्ट्रिय झझल्को दिएका थिए । तर समग्रमा राष्ट्रिय च्याम्पियनसीप जुन उद्देश्यअनुरुप आयोजना गरिएको थियो त्यसमा भने खरो उत्रिएको छ ।

खेलाडीको अधिकार खेल्न पाउने पर्ने हो, त्यसमा राखेप च्याम्पियनसिप सफल भएको छ । यसर्थमा कि यहि प्रतियोगिता मार्फत मुलुकभरिका खेलाडीहरूले जिल्ला, क्षेत्रिय हुँदै राष्ट्रिय प्रतियोगितामा आफ्नोे प्रतिभा देखाउने अवसर पाएका छन् । जुन खेलाडी र खेलकुदको लागि सुखद पक्ष मान्न सकिन्छ । यसर्थमा कि आयोजना भएका स्थानले यो च्याम्पियनसिपमा आफ्नोपनको महसुस गरेका छन् ।

तर परिणामका हिसाबले यो च्याम्पियनसिप कत्तिको सफल बन्यो ? त्यो अहिले चर्चा र खोजीको विषय बनेको छ । नयाँ हिरोको खोजीको र राष्ट्रिय टीम तयारीको लागि आयोजना गरिएको यो च्याम्पियनसिप ति कुरामा सहायक सिद्ध भयो त्यसको जवाफ राखेपले दिनुपर्ने छ । साथै खेलकुदको रातो कितावमा परेर पनि किन पूर्व तयारी र छोटो समयमा प्रतियोगिताको आयोजना गरियो त्यसमा ठूलो प्रश्न तेर्सिएको छ ।

राखेपका सदस्यसचिव केशवकुमार विष्टले राष्ट्रिय च्याम्पियनसिपको नतिजावाट आफु संतुष्ट भएको बताएका छन् । हामीले जुन उद्देश्यअनुरुप यो च्याम्पियनसिप आयोजना गरेका थियौं त्यसमा अपेक्षित रुपमा सफल भएको दावी गरेका छन् । विष्टले हाम्रो उद्देश्य नयाँ खेलाडीको उत्पादन र प्रतिभाशाली खेलाडी खोजी भएको खुलासा गर्दै त्यो कार्यमा यो च्याम्पियनसिप सफल भएको वताएका छन् । हो, यो सुरुवात हो, केहि कमी–कमजोरी अवश्य भएका होलान त्यसलाई मध्यनजर गर्दै दोश्रो संस्करणमा यसमा विशेष ध्यान पु¥याउने प्रतिबद्धता जाहेर गरेका छन् ।

राखेप च्याम्पियनसिपमा स्क्वास, भलिबल, सेपाकताक्रो, एथलेटिक्स, बक्सिङ, ह्यान्डबल, तेक्वान्दो, कुस्ती, फेन्सिङ, बास्केटबल, जुडो, टेबलटेनिस, राष्ट्रिय तेक्वान्दो, कबड्डी, सुटिङ, भारोत्तोलन, गल्फ, साइक्लिङ, हक्की, खो खो, आर्चरी, फुटबल, ब्याडमिन्टन, सफ्ट टेनिस, पौडी, ट्रायथलन, कराते र लनटेनिसको समावेस गरिएको थियो ।