काङ्ग्रेस कार्यालयमा ‘त्यो’ रात

काङ्ग्रेस कार्यालयमा ‘त्यो’ रात


नेपाली काङ्ग्रेसको महाधिवेशनको तिथि घोषणा गरियोस् भनी पूर्वसांसद दामन पाख्रिन तामाङ र क्षेत्रीय अध्यक्ष रामहरि शर्मा नेपाल आमरण अनशनमा बस्नुभएपछि काङ्ग्रेसभित्र उत्पन्न भएको आँधी–बेहरी महाधिवेशनको तिथि घोषणा हुनेबित्तिकै शान्त भएको छ । महाधिवेशनको तिथि घोषणा नभएको भए काङ्ग्रेसभित्र पुनः महाभारत शुरु हुने सङ्केतहरू प्रस्ट देखापर्न थालेका थिए । पार्टीमा कोइरालाविरोधी भनेर चिनिने प्रदीप गिरी, बद्रीनारायण बस्नेत, चिरञ्जीवी वाग्लेहरू आमरण अनशनलाई कसरी असफल गराउन सकिन्छ भन्ने विषयमा छलफल गर्न तीनपटकसम्म बैठक बसेको र अन्ततः अनशनका विरुद्ध महाअनशन गराउने निर्णय गरेको बुझिन आएको छ । जसअनुसार २३ गते अपराह्नदेखि पार्टी केन्द्रीय कार्यालयको प्राङ्गणमा बलराम गिरी र मनोज मेहतालाई महाअनशनमा बसाइयो । दिउँसो दुई बजेदेखि महाअनशनमा बसेका मेहता र गिरीलाई साँझ केही कार्यकर्ताहरू (अनशनसमर्थक)ले महाअनशन गर्नुको कारणबारे प्रश्न गर्न थाले ।

त्यसरी समूहले नै आएर प्रश्न गरेपछि महाअनशनवालाहरू आत्तिए र पालबाट बाहिर निस्किए । मेहताले आफूलाई केही थाहा नभएको बताउँदै राति आठ बजेतिर महाधिवेशनको तिथि तत्काल घोषणा हुनुपर्छ भन्ने समर्थक पुस्तिकामा सही गर्नुभयो । मेहताले भन्नुभयो, ‘मलाई बद्रीनारायण बस्नेत र प्रदीप गिरीहरूले महाअनशन बस्न बाध्य तुल्याएका हुन् । वास्तवमा म महाधिवेशन तत्काल हुनुपर्छ भने पक्षमा छु ।’ त्यसो भनेर मेहता पार्टी कार्यालयबाट बिदा हुनुभयो भने बलराम गिरी अनशन छोडेर खानाखान बाहिर जानुभयो । त्यसको एक घन्टापछि राति नौ बजेतिर पार्टी कार्यालयमै फर्कनुभयो । त्यसैबेला बद्रीनारायण बस्नेत पनि आफ्नो दलबलसहित पार्टी कार्यालयमा प्रवेश गर्नुभयो । बस्नेतले गिरीलाई पालभित्र जान र महाअनशन बस्न निर्देशन दिनुभयो, तर गिरी पालभित्र पस्न मान्नुभएन । बस्नेत र गिरीको मुखबाट सोमरसको गन्ध आएको प्रत्यक्ष महसुस यो संवाददाताले त्यसबेला गर्न पायो ।

गिरी आतङ्कितझैँ थिए । गिरी विराटनगर जुटमिलमा कार्यरत कर्मचारी हुन् र उनी महाअनशनमा बस्न काजमा काङ्ग्रेस कार्यालयको प्राङ्गणमा झिकाइएका थिए । महाअधिवेशन हुनुपर्छ भन्नेहरूको चापलाई प्रत्यक्ष देख्न पाएका गिरीले आफ्नो सुरक्षाको ग्यारेन्टी नभएसम्म पालभित्र नपस्ने कुरा बस्नेतसँग बताएपछि बस्नेतले भन्नुभयो, ‘त्यो’ सब व्यवस्था हुन्छ । यहाँ कोशलजी (कोशलराज रेग्मी) आउनुभएको थियो, कहाँ जानुभयो खोइ ?’
नभन्दै त्यतिबेलै पार्टी कार्यालयभित्रबाट रेग्मी बाहिर निस्कनुभयो । उहाँले मानिसहरूको झुण्डमा झाँक्नुभयो र बद्री बस्नेतलाई खोज्दै मूलढोकातिर बढ्नुभयो । कार्यालयको प्राङ्गणमा महाधिवेशनका पक्षधरहरूको बाहुल्य रहेको देख्नु भएर होला उहाँहरू मूलढोकाको बाहिर उभिएर केहीबेर खुसुर–बुसुर गर्नुभयो । रातको साढे नौ बजिसकेको थियो । बस्नेत र रेग्मी त्यहाँबाट बाहिर जानुभयो । राति एघार बजेतिर खाटी काङ्ग्रेस बद्रीनारायण बस्नेत र कोशलराज रेग्मी, प्रदीप गिरी र प्रेमसिंह धामी (एमाले नेता) सँगै काङ्ग्रेस कार्यालयको प्राङ्गणमा देखापर्नुभयो । उहाँहरू दलबलसाथ हुनुहुन्थ्यो र बलराम गिरीलाई पुनः ‘महाअनशन’मा बसाएर त्यहाँबाट बिदा हुनुभयो ।

यस किसिमको अप्रिय थालनीलाई सभापति कृष्णप्रसाद भट्टराईले महाधिवेशनको तिथि घोषणा गरेर शुरुमै समाप्त गरिदिनुभयो । काङ्ग्रेसलाई कहाँ राख्नेहरूमध्येबाट महामन्त्री बनाउने कुरामा भट्टराई–कोइरालाबीच सहमति भएको बताइन्छ । आफ्नो छाया पनि देख्न नचाहनेहरूलाई पनि अँगालो मारेर काङ्ग्रेसलाई पुरानो स्थितिमा फर्काउने यात्रामा लाग्न कोइराला सहमत हुनुभएको छ । यसैक्रममा आगामी महामन्त्रीका रूपमा सभामुख रामचन्द्र पौडेल, खुमबहादुर खड्का, ढुण्डीराज शास्त्री, तारानाथ रानाभाट आदिको नाम लिइँदै छ । त्यसो त खड्का र रानाभाट निश्चित महामन्त्री भन्नेहरू पनि प्रशस्त छन्, तर पौडेल र शास्त्रीमध्ये एकजना महामन्त्री हुनुपर्छ भनी अलग ढङ्गले आवाज पनि उठिरहेको छ । त्यसमा पनि पौडेल र शास्त्रीमध्ये कोचाहिं महामन्त्री बन्नुपर्छ भन्ने विषयमा मतैक्यता पाइन्न । कतिपयले एकको र कतिपयले अर्काको नाम लिइरहेका छन् । अन्त्यसम्म स्थिति यस्तै रहेमा महामन्त्री को हुने भन्ने विषयमा किसुनजीको मत निर्णायक हुने बताइन्छ ।

(घटना र विचार साप्ताहिक, २०५२ चैत २८ गते)