कस्तो प्रधानमन्त्री ? -बबिता बस्नेत

कस्तो प्रधानमन्त्री ? -बबिता बस्नेत


मुलुकमा फेरि एकपल्ट नेताहरूबीच प्रधानमन्त्री पदको प्रतिस्पर्धा छ । ऊ हुने कि त्यो हुने, ऊ नभए को हुने, म हुँदाहुँदै अरू कहाँ हुने – यो उस्तो त्यो उस्तो, एक-अर्काबीच हिलो छ्यापाछ्याप पनि त्यत्तिकै छ । त्यसो त हाम्रो मुलुकमा प्रधानमन्त्रीका लागि यसप्रकारको हानाथाप सुरु भएको निकै भयो, यसबीचमा चुनावी नाटक पनि सम्पन्न भइसकेको छ । तर, जे-जे भए पनि यो मुलुकले प्रधानमन्त्रीका रूपमा एउटा कुशल नेतृत्व भने प्राप्त गर्न सकेको छैन । यो देशमा अहिले प्रधानमन्त्री कार्यकारी प्रमुख हो, संविधानसभामा राज्यप्रमुखको स्वरूपका बारेमा टुङ्गो लागि नसकेकाले भोलि प्रधानमन्त्रीको स्थान कहाँ हुन्छ यसै भन्न सकिन्न । भलै सर्वसाधारणले यो विषयमा आफ्नो धारणा राख्न पाएका छैनन् तथापि मुलुकको कार्यकारी राष्ट्रपति हुने या प्रधानमन्त्री भनेर एउटा स्तरमा बहस जारी छ । कुनै पनि मुलुकका निम्ति प्रधानमन्त्री पद भनेको वास्तवमै एउटा सम्मानित एवम् गरिमामय कुरा हो तर नेपालको सर्न्दर्भमा भने यस पदको गरिमालाई घटाउन, होच्याउन र घृणास्पदझैं बनाउनका लागि केही महिनादेखि नेताहरू दिलोज्यान दिएर लागेका छन् । प्रमुख मानिएका राजनीतिक दलका ‘शीर्षस्थ’ भनिने नेताहरूले प्रधानमन्त्री पदलाई एउटा सानो संस्थाको कार्यकारी प्रमुखभन्दा पनि तलकोझैं बनाइदिए । ससाना सङ्घसंस्था, प्राइभेट अर्गनाइजेसनहरूमा समेत कार्यकारी पदका लागि निश्चित मापदण्ड राखिन्छ, उसको भिजन, विगतमा उसले गरेका कामहरूको सफलता/असफलता, काम गर्ने तौरतरिका, नेतृत्व क्षमताजस्ता कुराहरू हेरिन्छ । आफैंले आफैंलाई योग्य छु भनेर गरेको दाबीलाई त्यति राम्रो मानिँदैन र अरूले गरेको प्रस्तावलाई महत्त्व दिइन्छ । तर, मुलुकको कार्यकारीका निम्ति भने जो जे-जस्तो भए पनि आफ्नै पार्टीले पाउनुपर्ने, पार्टीले पाएर मात्रै पनि नहुने आफैं हुनुपर्ने, पदका लागि जस्तोसुकै तमासा गर्न पनि तयार पार्टी र तिनका नेताहरूको आत्मकेन्द्रित कार्यले सारा नेपालीको भविष्य र आत्मसम्मानमाथि लामो समयदेखि खेलबाड गरिरहेको छ ।
दलहरूका निम्ति अहिले यो मुलुकको प्रधानमन्त्री किन हुनेभन्दा पनि को हुने भन्ने प्रमुख कुरा भने जनताका लागि प्रधानमन्त्री किन भन्नेचाहिँ सरोकारको विषय हो । दलहरूका लागि प्रधानमन्त्री पद हो जहाँ ऐस-आराम, नाम, अगाडिपछाडि सुरक्षाकर्मी, पैसाको चलखेल, नातानाला, परिवारको अगाडि छुट्टै प्रकारको फार्तीफुर्ती, सञ्चारमाध्यममा लगातारको चर्चा, सपरिवार विदेश भ्रमणलगायत हो । अहिलेसम्मका कार्यले यस्तै देखाएको छ । प्रधानमन्त्री हुँदा र नहुँदा सांस्कृतिक कार्यमा आएको फरकको बारेमा एमाले नेता माधवकुमार नेपाल सम्बद्ध एउटा सानो उदाहरण हेरौँ । नेपाल एमालेको महासचिव रहेका बेला उहाँकी आमाको देहान्त भयो तर उहाँले ‘हामी कम्युनिस्टहरू पुराना रुढीवादी मान्यता मान्दैनौँ’ भनेर आफ्नी जन्म दिने आमाको काजकिरियामा हिन्दू परम्पराअनुरूप १३ दिनसम्म सेतो वस्त्र धारण गरेर कोरा बस्नुपर्ने कार्य गर्नुभएन । समयक्रममा उही ‘कम्युनिस्ट नेता’ माधवकुमार नेपाल यो देशको प्रधानमन्त्री भएपछि दशैंमा सबै आफन्तहरू राखेर किस्तीमा काजु, किसमिस र फलफूलसहित टीका-जमरा लगाएको कुरा टेलिभिजनबाट हेर्न पाइयो । सांस्कृतिक मूल्य-मान्यता भन्ने कुरा व्यक्तिको पृष्ठभूमि र संस्कारसँग जोडिएको कुरा हो, आमाको किरिया नबार्ने संस्कारबाट आउनुभएका माधव नेपालले टीका-जमराको संस्कारलाई भने कसरी निरन्तरता दिनुभयो – त्यसप्रकारको तामझाम प्रधानमन्त्री हुँदा मात्रै हो या अरू दशैंमा पनि रहन्छ – अरू त अरू मिलेसम्म छोराछोरीको विवाह, ब्रतबन्ध पनि पदमै भएका बेला गरिहालुँ भन्ने प्रवृत्ति पनि हामीकहाँ विकास हुँदै आएको देखिन्छ ।
प्रधानमन्त्री पदमा पुग्नेबित्तिकै मानिस ठूलो र प्रख्यात बन्छ भन्ने भ्रम पनि नेताहरूमा देखिन्छ । संसारमा कहीँ पनि पदमा पुग्दैमा कोही व्यक्ति महान् बन्न सक्दैन । प्रख्यात र महान् बन्नका लागि त मानिसले सोहीअनुरूपको काम गर्नुपर्छ, अविष्मरणीय कार्य गर्नेलाई मात्रै इतिहासले सधैं जीवित राख्छ पदमा पुग्नेलाई होइन । तर, यहाँ त एकपल्ट पदमा पुगेर नाम र दाम कमाइहालुँ भन्ने मान्यताले काम गर्ने गरेको छ न कि कुनै उल्लेखनीय काम गरुँ भन्ने भावनाले । यो मुलुककै कुरा गर्ने हो भने इतिहासमा धेरैजना प्रधानमन्त्री भइसके, ३३औं स्थानमा अहिले माधव नेपाल हुनुहुन्छ । यी ३३ जनामध्ये अहिले सम्झिने नै हो भने ज्यादै कम प्रधानमन्त्रीहरूको नाम औंलामा गन्न सकिन्छ । सम्झनामा कसले के गरेको थियो भनेर कामबाट मानिसको छवि र नाम स्मरणमा ल्याउँछन् मानिसहरूले, कुनै पनि व्यक्तिको स्वरूप सम्झिएर नाम सम्झिन वर्तमानमा त गाह्रो हुन्छ भने इतिहासको त कुरै भएन । राणाकालकै कुरा गर्ने हो भने बहुचर्चित जंगबहादुर राणापछि मानिसहरूले देवशमशेरलाई सम्झन्छन्, देवशमशेर भन्नेबित्तिकै गोराखापत्रको स्थापनादेखि उनले गरेका सुधारका कार्यहरू अगाडि आउँछन् र्सर्ूयबहादुर थापा या गिरिजाप्रसाद कोइरालालाई जस्तो स्वरूपमै त आहिलेको पुस्ताले कहाँ देखेको छ र – समयको हिसाबले हेर्ने हो भने देवशमशेरभन्दा भीमशमशेर कैयौँ गुणा धेरै समय प्रधानमन्त्री बने तर मानिसहरूले देवशमशेरलाई नै सम्झिन्छन् किनभने आफूलाई सम्झनुपर्ने कारणहरू उनले छोडेर गएका छन् । यो मुलुकमा कुनै बेला रंगनाथ पौडेल नामका व्यक्ति पनि प्रधानमन्त्री भएका थिए भन्ने हेक्का कमैले राख्छन् किनभने सम्झनाका लागि उनले आफू पदमा रहँदा त्यस्तो खासै केही छोडेर गएका रहेनछन् । हिजोका नगेन्द्रप्रसाद रिजाललगायतका केही समय पदमा पुगेका प्रधानमन्त्रीहरू र आजका माधव नेपालमा पनि खासै भिन्नता आउला भनेर अपेक्षा गर्नुपर्ने कारणहरू छैनन् । इतिहासमा भएका प्रधानमन्त्रीहरूको लहरमा अहिलेचाहिँ वास्तवमै सक्षम र यो मुलुकका लागि केही गर्न चाहने व्यक्ति प्रधानमन्त्री बन्नुपर्ने बेला हो । वर्तमानका अप्ठ्याराहरूलाई चिर्न पार्टीभन्दा माथि उठेर मुलुकलाई सर्वोपरी ठान्ने मानिसलाई मुलुकले अहिले प्रधानमन्त्रीका रूपमा खोजेको छ । झलनाथ खनाल वा रामचन्द्र पौडेल जीवनमा एकपल्ट प्रधानमन्त्री हुन नपाएर या शेरबहादुर देउवा र प्रचण्डले फेरि प्रधानमन्त्री हुने मौका नपाएर यो मुलुक समस्याग्रस्त बन्दै गएको होइन । हाम्रो देशको अहिलेको अवस्था भनेको इतिहासको कालखण्डमा निकै असहज अवस्था हो, त्यसैले मुलुकले विशिष्ट समस्या भोगिरहेका बेला प्रधानमन्त्री बन्नुलाई जीवनको सुनौलो मौका ठान्नेहरूभन्दा यो असहज परिस्थितिलाई सामना गर्दै मुलुकलाई अग्रगति दिन सक्ने ऐतिहासिक पात्रको खाँचो छ ।