‘गोल्डन ब्याच’का राजु ‘युएस तेक्वान्दो च्याम्पियनसिप’मा

‘गोल्डन ब्याच’का राजु ‘युएस तेक्वान्दो च्याम्पियनसिप’मा


श्रीविक्रम भण्डारी

‘युएस ओपन तेक्वान्दो च्याम्पिययन’ जनवरी २८ देखि फेब्रुअरी २ सम्म अमेरिकाको लस भेगासमा सञ्चालन हुँदैछ । उक्त च्याम्पियनसिपमा राजु नगरकोटी र गोपाल भण्डारीले नेपालको प्रतिनिधित्व गर्दैछन् । त्यस्तै, टीम व्यवस्थापकको रुपमा मकाउ चेम्बर अफ कमर्सका अध्यक्ष सुदर्शन थापा मगर जाने भएका छन् । नेपालबाट अफिसियल प्रतिनिधित्व कसले गर्ने त्यो बारेमा टुङ्गो लागेको छैन ।

च्याम्पियनसिपमा पूर्व राष्ट्रिय खेलाडी नगरकोटीले ४५ वर्षमाथि उमेर समुहमा ८० केजीमा प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै भण्डारीले ३१ वर्षमाथि उमेर समुह पुम्सेतर्फ इन्डिभिजुयल रुपमा प्रतिस्पर्धा गर्नेछन् ।

दुवै खेलाडीहरुले नेपाल तेक्वान्दो संघ मार्फत ‘युएस ओपन तेक्वान्दो च्याम्पिययन’मा सहभागिता जनाउनका लागि रजिष्ट्रेशन दर्ता गरेका थिए । जसलाई आयोजक कमिटीले सहभागिताको लागि मान्यता दिएको राजु नगरकोटीले जानकारी दिए । साथै उनले रजिष्ट्रेशन दर्ताको लागि तेक्वान्दो संघले गरेको सहयोगप्रति आभार प्रकट गरेका छन् ।

विदेश मकाउमा बसेर पनि समग्र तेक्वान्दो खेलको विकासको लागि अहम भूमिका निभाई रहेका राजुले युएस ओपन तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेर नेपालको झण्डा अन्तर्राष्ट्रियस्तरमा फहराउने प्रतिवद्धता जाहेर गरेका छन् । उमेर समुहको खेल आफैमा चुनौती प्रतिस्पर्धात्मक हुने बताउँदै आफुले मकाउमै बसेर भए पनि मुलुकको प्रतिष्ठा बढाउनमा कुनै कसर नराख्ने बताएका छन् । उनले तेक्वान्दोलाई आर्थिकदेखि खेलकुद सामग्री प्रदान गरेर सहयोग गर्दै आएका छन् ।

राजुले २०५० सालमा तेक्वान्दोको ब्ल्याकबेल्ट प्राप्त गरेका थिए । उत्कृष्ट खेलाडी र प्रशिक्षकका रुपमा परिचित राजुले चौथो राष्ट्रिय प्रतियोगितामा गरेको सनसनीपूर्ण प्रदर्शन अहिले पनि चर्चा गरिन्छ । विदेशमा पनि तेक्वान्दोको कला प्रदर्शन गरेर वाहवाही बटुल्न सफल राजु मकाउमा आयोजना हुने तेक्वान्दो प्रतियोगितामा रेफ्री र कोेचको भूमिका निभाउँदै आएका छन् ।

त्यस्तै मकाउ नेपाली तेक्वान्दो टीमको सदस्य रहेका राजुले मकाउमा तेक्वान्दो खेलको प्रमोशनमा विशेष भूमिका निभाउँदै आएका छन् । झण्डै १ सय पूर्व तेक्वान्दो खेलाडीहरुको उक्त टीमले मकाउमा रहेका नेपालीलाई तेक्वान्दो सिकाउँदै आएको राजुुले बताएका छन् । राजुले २०१७ मा दक्षिण कोरियावाट तेक्वान्दोमा इन्टरनेशनल मास्र्टस टे«निङ लिएका छन् ।

२०४५ सालमा आर्मीमा भर्ति भएका राजुले ०५४ सालसम्म उक्त क्लबवाट खेल्नुकोे साथै प्रशिक्षण दिएका थिए । अनुशासित, सहयोगी र मिलनसार खेलाडीको रुपमा परिचित राजु त्यसबेला आर्मीको तेक्वान्दो कोर्स टोलीमा सवैभन्दा उत्कृष्ट खेलाडी थिए । त्यसवेला उक्त कोर्स टोलीमा १ सय ६० खेलाडी थिए ।

राष्ट्रिय खेलाडी हुँदा वेन्टम वैट ५७ केजी भन्दा माथि खेल्ने राजुले त्यसवेलाका चर्चित खेलाडी संगीना बैद्य, सविता राजभण्डारी, किशोर श्रेष्ठ, आलोक राना, वीरेन्द्र केशरी लगायतका खेलाडीसंगै राष्ट्रिय प्रशिक्षण लिएका थिए । उक्त ब्याज नेपाली तेक्वान्दोको ‘गोल्डन ब्याच’ थियो ।

२०५४ सालमा विदेश लागेका राजुले मकाउमा बसेर पनि तेक्वान्दो खेल्दै र प्रशिक्षण दिँदै आएका थिए । राजु अहिले मकाउको एसजेएम क्यासिनोमा सेक्युरिटी सुपरभाइजरको रुपमा कार्यरत छन् ।