राखेप सदस्यमा दावा नियुक्त

राखेप सदस्यमा दावा नियुक्त


युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले राष्ट्रिय खेलकुद परिषदको सदस्यमा नेपाल सितोरियो कराते महासंघका अध्यक्ष दावा गुरुङलाई नियुक्त गरेका छन् । पूर्वकोषाध्यक्ष सुरेन्द्र हमालले राखेपको कोषाध्यक्षबाट राजीनामा दिएपछि परिषदको सदस्य पद रिक्त भएको थियो ।

विगत तीन महिनादेखि खाली रहेको उक्त स्थान काङ्ग्रेसको कोटाबाट पूर्ति गर्नुपर्ने थियो, जसमा मन्त्री केसीले गुरुङलाई नियुक्त गरेका हुन् । दावा गुरुङ यसअघि रुक्मशम्सेर राणा राखेपको सदस्यसचिव हुँदा राखेपको सदस्य थिए ।

रिक्त राखेपको सदस्य पदको लागि कुवेर सिंह, राजिव श्रेष्ठ र मनोज वैद्यको नाम चर्चामा आए पनि अन्तिम बाजी भने दावा गुरुङले मारेका छन् । राखेप सदस्य नियुक्ति गर्ने क्रममा निकै विवाद देखिएपछि अन्तिम समयमा मन्त्री केसीले बोल्ड निर्णय लिएको मन्त्रालय स्रोतले बताएको छ । गुरुङलाई सदस्यमा नियुक्त गर्ने सहमति हिजो माघ ११ गते नै भएको बुझिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कुबेरसिंह र प्रकाशमान सिंहले मनोज वैद्यलाई प्रस्तावित गरेका समाचार सुनिदै गर्दा वैकल्पिक रुपमा राजीव श्रेष्ठको नाम चर्चामा आएको थियो । खेलकुदमा खेलकुदसम्बद्ध व्यक्तित्वले नै प्राथमिकता पाउनुपर्छ भन्ने चर्चा चलेपछि राजीव पहिलो रोजाईमा परेका थिए । तर सबै चर्चा र अनुमानलाई गलत सावित गर्दै मन्त्री केसीले खेलकुदकै व्यक्तित्व दावा गुरुङलाई नियुक्ति दिएका हुन् ।

राखेप सदस्यमा दावाको चर्चा पहिल्यैदेखि चलेको थियो । तर दावाले यस पदलाई खासै महत्व नदिएको स्रोतको बताउँछ । बताइएअनुसार पछि मन्त्री केसीले कोषाध्यक्षको पद पनि दिने भनेपछि गुरुङ राजी भएका हुन् । राखेपको सदस्यमा नियुक्तिसँगै गुरुङ कोषाध्यक्ष हुने पक्का जस्तै मानिएको छ ।