प्रचण्ड-खनाल गठबन्धनको सन्देश

प्रचण्ड-खनाल गठबन्धनको सन्देश


अत्यन्त पट्यारलाग्दो, अस्वाभाविक र असान्दरि्भक तवरले ँराष्ट्रिय सहमति’को दुहाई दिँदै अन्ततः बहुमतीय प्रक्रियाकै सहारा लिएर एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्रीको कुर्सीसम्मको यात्रा तय गर्न सफल हुनुभएको छ । यसरी ‘सहमति’ शब्दकै खिल्ली उडाउँदै खनाल प्रधानमन्त्री बन्नुभएको सन्दर्भलाई महिनौँदेखि कामचलाउ सरकारको भरमा थेगिएको मुलुकले संसद्बाट निर्वाचित सरकार पाएको अर्थमा त लिइएको छ, तथापि अनेक आशङ्का, अविश्वास र त्रासयुक्त सवालहरू पनि खनालको प्रधानमन्त्री पदारोहणसँगसँगै आमतहमा जन्मिन पुगेका छन् । विशेषतः प्रधानमन्त्री बन्न र बनाउनकै निम्ति माओवादी र एमालेका अध्यक्ष-तहमा अत्यन्त सुनियोजित र गोप्य तवरले गरिएको सातबुँदे सहमतिले सिङ्गो राजनीतिक वृत्तलाई यतिबेला नराम्रोसँग खल्बल्याएको छ भने अप्राकृतिक र शान्ति सम्झौताको मर्मविपरीत ठानिएको यस ‘सहमति’ले मुलुकमा जारी शान्तिप्रक्रियालाई अवरुद्ध तुल्याई द्वन्द्व सिर्जना गर्ने सम्भावना ह्वात्तै बढाएको छ ।
सात महिनादेखि राष्ट्रिय सहमतिकै नाममा देशलाई बन्धक बनाउने खेलका प्रमुख जिम्मेवार एमाले अध्यक्ष झलनाथ खनाललाई मुलुकको प्रमुख कार्यकारी ओहदा त हासिल भएको छ, तर महत्त्वपूर्ण राजनीतिक दल तथा पक्षहरूलाई किनारा पार्दै अघि बढ्ने झलनाथ-प्रचण्ड रणनीतिका कारण स्वयम् प्रधानमन्त्री खनालको मार्गलाई मात्र व्यवधान खडा गर्ने तथा चुनौतीयुक्त तुल्याउने नभई ँअतिवाम ध्रुवीकरण’को दिशातर्फ मुलुकलाई डोर्‍याउँदै अन्ततः कल्पना नै नगरिएको द्वन्द्व र अस्थिरताको भूमरीमा पार्ने खतरा पैदा गरिदिएको छ । आ-आफ्नै दलका नेता तथा कार्यकर्ता र आमनेपालीलाईसमेत गुमराहमा पारेर व्यक्तिगत स्वार्थकेन्द्रित सहमति गर्ने प्रवृत्तिले यही सङ्केत गरेको छ ।
प्रधानमन्त्री खनालका अगाडि अत्यन्त गम्भीर जिम्मेवारी र चुनौतीको पहाड नै ठडिएको छ । मूलतः शान्ति स्थापना र संविधान निर्माणका लागि वातावरण सहज तुल्याउने काम वर्तमान सरकारको प्रमुख जिम्मेवारीमा पर्छ । तर, समयावधि र दलहरूबीच पन्पिएको अविश्वास तथा असमझदारीका कारण संविधान निर्माण कार्य यसै पनि अत्यन्त दुरुह ठानिएको परिवेशमा अन्य दलहरूलाई निषेध गरेर मनपरी ढङ्गले अघि बढ्ने रणनीति अख्तियार गरिएबाट खनाल यस जिम्मेवारी निर्वाहमा चुक्नुहुने सम्भावना बढाएको छ । इतिहासले दिएको जिम्मेवारी निर्वाह गरेर यश आर्जन गर्नेभन्दा पनि माओवादी अध्यक्ष प्रचण्डको ँरिमोट कन्ट्रोलर’का रूपमा प्रयोग भएर सर्वाधिक असफल र आलोच्य प्रधानमन्त्रीका रूपमा आफूलाई दर्ज गर्ने खेलको सहभागीका रूपमा आफू भासिएको त खनालले प्रारम्भमै महसुस गरिसक्नुभएको हुनुपर्छ, यदि कतिपयले उहाँका निम्ति प्रयोग गरिदिएको विशेषणअनुरूप झलनाथ ‘विवेकी’ र ‘विद्वान्’ नेता हुनुहुन्छ भने । खनालले आफूलाई सिद्धान्तनिष्ठ, योग्य र सफल नेता सावित गर्ने हो भने यतिखेर आमरूपमा उठेका अनेक सवालको चित्तबुझ्दो जवाफ त्यो पनि अभिव्यक्तिमार्फत नभई व्यवहारतः दिन सक्नुपर्ने अपरिहार्य नै छ । अबका केही दिन या साताभित्रै प्रधानमन्त्रीका रूपमा उहाँले निर्वाह गर्नसक्ने ‘क्षमता’को खुलासा त हुने नै छ, उहाँका कार्यनीति, शैली र व्यवहारमार्फत । प्रधानमन्त्रीको दायित्वनिर्वाहमा उहाँलाई सफलता मिलोस् भन्ने शुभकामना मात्रै दिन सकिन्छ अहिले त ।
यता, स्वाभाविक रूपमा सरकारको नेतृत्व चाहिरहेको नेपाली काङ्ग्रेसले निश्चय पनि यतिबेला दुःखानुभूति गरिरहेको हुनुपर्छ । त्यसमाथि आफंैले काँध चढाएको, अक्कर-अक्करमा ठक्कर लाग्नुबाट जोगाउँदै ल्याएको पार्टी एमालेले नै गम्भीर घात गरेको सन्दर्भले काङ्ग्रेसको चित्त बढ्ता फटाएको यथार्थ स्वीकार गर्न हिच्किचाइरहनु पर्दैन । तर, नेपाली काङ्ग्रेसजस्तो पार्टी राजनीतिक यात्रामा आइपर्ने यस्ता घातप्रतिघातको खेलमा अल्भिmन सुहाउँदैन । काङ्ग्रेसले आफ्नो इतिहास, हैसियत र जिम्मेवारीबोध गर्दै खतरनाक परिस्थितितर्फ उन्मुख हुन लागेको मुलुकलाई सही दिशा र गति प्रदान गर्न पुनः एकपटक आफ्नो ऊर्जा खपत गर्नुपर्छ । प्रतिपक्षीका रूपमा संसद्मा रचनात्मक र सशक्त भूमिका निर्वाह गर्ने एवम् बाँकी अवधिमा शान्ति र संविधान निर्माण कार्यलाई कसरी पूर्णता दिन सकिन्छ भन्ने चिन्तनमा तत्काल आफ्नो समग्र ध्यान केन्द्रित गर्नुमा उसको भलाइ छ । लोकतन्त्रको सच्चा पहरेदार बन्नु नै आफ्नो मूल धर्म रहेको यथार्थ यतिबेला नेपाली काङ्ग्रेसले मनन गर्न सक्नुपर्छ ।