पीडित स्थानीयको पक्षमा उभिए जनप्रतिनिधि

पीडित स्थानीयको पक्षमा उभिए जनप्रतिनिधि


द्वन्द्वकालमा अर्घाखाँची जिल्लाका सबै भूमि लगत जलेर नष्ट हुँदा बैंक कर्जा हासिल गर्नेदेखि आफ्नो जमिन छुटयाउनबाट जिल्लावासी बन्चित बनेका छन् । दुई दुईपटक सदरमुकाम सन्धिखर्कमा आक्रमण गरिएको भए पनि विशेषगरी ०५९ भाद्र २३ गतेको घटनाले जिल्लालाई ठूलो क्षति पुर्याएको थियो । यसरी भूमि लगतविहीन बन्न पुगेको अर्घाखाँचीकोे लगत तयार पार्ने उद्देश्यले गत ०६९ सालमा सन्धिखर्कमा विशेष नापी कार्यालय स्थापना गरी नापी विभागको निर्देशिका २०६९ बमोजिम साविक २८ वटा गाविसमा पूर्जा निर्माण, जमिन चेकजाँच, दर्ता तथा पूर्जा वितरण जस्ता कार्य नभएका होइनन् । तर, नापी विभागको नयाँ निर्देशिका २०७१ जारी भएसँगै भएगरेका कामहरु बदर मात्र नभई करिव साढे चार करोड रुपैयाँ राज्यलाई नोक्सान भएको थियो ।

नापी विभागको नयाँ निर्देशिका ०७२ वैशाख देखि लागु भएयता गत शुक्रबार साविक सिमलपानी गाविसमा जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको छ । पूर्जा वितरण कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले लालपूर्जा प्राप्त गर्नेहरूलाई वधाई मात्र दिनुभएको नभई सहभागीहरुलाई आफ्नो जमिन बाँझो नराख्न आग्रह समेत गर्नुभयो । जिल्लामा सबैभन्दा बढी भ्रष्टाचार दक्षिण खाँचीमा हुने गरेको भन्दै उहाँले आफूसहित सम्पूर्ण जनप्रतिनिधि, उपभोक्ता समिति र कर्मचारीहरुलाई निगरानीमा राखेर आफुले तिरेको करको हिसाबकिताब खोज्न आव्हान गर्नुभयो ।

यसैगरी, कार्यक्रमका विशिष्ट अतिथि तथा शितगंगा नगरपालिकाका नगरप्रमुख सुर्यप्रसाद अधिकारीले आफु शासक र शोषक नभई जनताको सेवाका लागि ५ वर्षसम्म सबैको साझा भएकोले विकास निर्माणमा कसैले पनि राजनीति गर्न नहुने बताउनु भयो । शितगंगालाई समुन्नत नगरपालिका बनाउनका लागि सबैभन्दा ठुलो बाधक भ्रष्टाचार भएको कारण भ्रष्टचारीहरुलाई खबरदारीका साथै आफ्नो गाउँटोलमा कुन प्रयोजनका लागि कति रकम प्राप्त भएको छ र कसरी खर्च भएको छ भन्ने विषयमा जनता अब ब्युँझनुपर्ने बताउनु भयो । घिमिरे र अधिकारीको मन्तव्य सुन्दा वहाँहरू प्रदेशसभा सदस्य तथा नगरप्रमुख नभई भ्रष्टाचारविरुद्धकै अभियन्ता हुन् भन्ने आभास मिलेको थियो ।

कार्यक्रमका अध्यक्ष तथा विशेष नापी कार्यालय अर्घाखाँचीका प्रमुख उमेश कुमारले विवाद नगरी अनुशासनपुर्वक आफ्नो कर्तव्य पुरा गर्ने नापी कर्मचारी तथा सहभागीहरुलाई धन्यवाद दिँदै कुनै जटिल समस्या भएमा सिधै आफुलाई सम्पर्क गर्न अनुरोध गर्नुभयो । विशेष नापीका लेखा अधिकृत गोविन्द पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला मालपोत प्रमुख लोक कार्कीलगायत स्थानीयहरुको उपस्थिति थियो ।

साविक ४२ गाविस रहेको अर्घाखाँचीमा हालसम्म १२ गाविसले जग्गाधनी प्रमाण पूर्जा प्राप्त गरिसकेका छन् भने चालु आर्थिक वर्षमा सन्धिखर्क नगरपालिका वडा नम्बर १ र २ ले मात्रै पूर्जा पाउने छन् । पूर्जा वितरण गरिएका क्षेत्रहरुमा तुलनात्मक रुपमा हालसम्म ८५ प्रतिशत जमिन दर्ता भएको विशेष नापी कार्यालयमा ७१ जनाको कर्मचारी दरबन्दी भए पनि हाल ३५ जना कर्मचारी कार्यरत रहेका छन् । यहाँसम्म आइपुग्दा करिव १४ करोड रकम खर्च भइसकेको छ । अहिलेकै कर्मचारी म्यानपावरलाई आधार बनाएर भन्नुपर्दा जिल्लाको नापजाँच सम्पन्न गर्न थप २ वर्ष समय लाग्ने बुझिएको छ । नापजाँच सम्पन्न भएका क्षेत्रहरुको सरकारी तथा सार्वजनिक जमिनका पूर्जाहरु विशेष नापी कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गर्ने गरेको छ ।

– मुक्तिनाथ भुसाल