वामपन्थको सक्कली परिभाषाको खोजी-शोभाकर पराजुली

वामपन्थको सक्कली परिभाषाको खोजी-शोभाकर पराजुली


हामीहरू नेपालमा कम्युनिस्ट बढी भएकोले हो वा कम्युनिस्टहरूको प्रपोगण्डाको कारणले हो कम्युनिस्टहरूलाई नै वामपन्थी मान्दछौँ । तर, यो सत्य होइन । यहाँ यस्तो विडम्बना छ कि कम्युनिस्टबाहेक अरूले आफूलाई वामपन्थी भनेमा ऊ हास्यको पात्र हुन्छ । आखिर नाममा के नै राखेको छ र भनेर यसमा त्यति बहस हुने गरेको पनि छैन । वास्तवमा सभामुखको बायाँतर्फबस्ने र सुधारको पक्षमा रहेकाहरूलाई वामपन्थी भनिने गरेको परम्परा फ्रान्सबाट नै सुरु भएको आधिकारिक जानकारी पाइन्छ । तर, त्यतिबेलाको सर्न्दर्भ कम्युनिस्टहरूको थिएन । मूलभूत रूपमा सुधारवादीहरू र लोकतन्त्र गरिब जनताको रक्षक बन्नुपर्छ भन्ने सोच्नेहरू वामपन्थी थिए । मतकै बारेमा कुरा गर्दा पनि त्यतिबेलासम्म सबैजसो देशहरूमा महिला, गरिब, दास आदिलाई मत दिने समान अधिकार थिएन । आफू चुनावमा खडा हुनसमेत निश्चित सम्पत्ति हुनैपर्ने अवस्थासमेत कतिपय देशहरूमा थियो । त्यस अवस्थामा सुधार र सबै जनताको निष्पक्ष अधिकारको पक्षमा रहनेहरू वामपन्थी थिए । यो शब्द भारत-नेपालमा समेत आएको छ- वामपन्थी अर्थात् लेफ्टिस्ट । युरोपमा समाजवादीहरू त्ाथा लोकतान्त्रिक समाजवादीहरूलाई पनि वामपन्थी भनिन्छ । वास्तवमा लोकतन्त्रलाई मान्ने समाजवादीहरू र लोकतान्त्रिक समाजवादीहरूमा कुनै भिन्नता छैन । केवल नाम राख्ने र भन्ने कुरा नै हो ।
अहिले त युरोपका धेरैजसो देशमा कम्युनिस्टहरू पतनोन्मुख छन् । रुससमेतमा कम्युनिस्टहरू दिनहुँ कमजोर भइरहेका छन् । अहिले विकसित देशहरूमा वामपन्थी भनेको लोकतान्त्रिक समाजवादी हुनु नै हो । नेपालको सर्न्दर्भमा वैचारिक रूपमा नै यसको पक्षधर रहेको दल भनेको नेपाली काङ्ग्रेस नै हो । काङ्ग्रेसले २००७ सात सालमा जहानियाँ शासनको अन्त्य गर्न जनताको नेतृत्व गर्‍यो । यसले आफ्नो सरकार हुँदा विभिन्न क्रान्तिकारी कार्यहरू गर्‍यो । २०४६ सालपछि पनि काङ्ग्रेसले नै जमिनको हदबन्दी घटायो । गरिबहरूको ऋणमा ८० प्रतिशतसम्म ब्याज मिनाह गर्‍यो । यातायात, शिक्षा, स्वास्थ्य, सञ्चारसमेतका क्षेत्रमा विकास गरेर जनताको जीवनस्तर उठाउन ठूलो सहयोग गर्‍यो । यो नेपालको वास्तविक वामपन्थी दल हो ।
आधुनिक युगमा वामपन्थ्ाी दल हुनुका मूलभूत रूपमा दुईवटा योग्यता हुन्छन् वा आवश्यकता हुन्छन् । पहिलो- यसले विकास, समानता र शान्तिलाई फ्युजन गर्ने सिद्धान्त लिएको हुनुपर्छ । त्यो सिद्धान्तलाई व्यवहारमा पनि क्रमश: लागू गर्दै जान आवश्यक छ । सिद्धान्त नभए पनि कुनै समयमा गरिबको हितमा कुनै काम गर्नु भनेको जनतालाई झुक्याउनु पनि हुन सक्दछ । यो अरू जनपक्षीयहरूलाई जनताबाट विस्थापित गर्ने चाल पनि हुन सक्दछ । वामपन्थी सोचको सिद्धान्त र व्यवहारमा तालमेल हुन आवश्यक छ ।
अर्को पक्ष भनेको पारदरि्शता हो । विकास, समानता र शान्ति जनतामा दिन्छौँ भन्ने तर व्यवहारमा भने त्यसो नगर्ने र नगरेकोले सजिलैसँग जनताले उनीहरूलाई हटाएर बिनाडर अर्को पक्षलाई विकल्पमा ल्याउन नसक्ने परिपाटीलाई समाउने पक्ष वामपन्थी हुन सक्दैन । वामपन्थीमा एउटा विशेष योग्यता हुन्छ । पहिलो ऊ राम्रो र सुधारका लागि काम गर्दछ । अझ सुधारका अरू सम्भावना देखिए तुरुन्त ती विकल्पका लागि तयार हुन्छ । ऊभन्दा राम्रो अर्को छ भन्ने जनतामा स्थापित हुन पाउनुपर्छ भन्ने सोच्ा छ भने त्यसलाई अपनाउन तथा जनतालाई बिनाडर विकल्प छान्न दिन तयार हुन्छ । यो व्यक्तिगत चरित्र र दलगत विषय दुवै हो । यस अर्थमा पारदरि्शता वामपन्थको पहिलो खुड्किलो हो । पारदरि्शतालाई लोकतन्त्रले मात्र र्सार्थक बनाउँछ । म पारदर्शी छु तर म गल्ती गरेर पनि जनतालाई मेरो उपस्थिति सरकारमा होस् वा अन्य स्थानमा अनिवार्य गर्दछु भने तथा मेरा विकल्पमा अरूको स्थान राख्दिनँ भने मेरो पारदरि्शताको अर्थ रहँदैन । लोकतन्त्रलाई लोकतान्त्रिक परिपाटीले पुष्ट पार्छ ।
खेलाडीहरूको जस्तो सोच वामपन्थी सोच हो जसले लोकतन्त्रलाई पूर्ण रूपमा आत्मसात् गर्छ । माओले भनेको कुरा मात्र, लेनिनले भनेको कुरा मात्र वा हिटलरले भनेको कुरा मात्र लोकतन्त्रको परिभाषामा पर्छ, त्यो मान्नु र जनताले त्यसलाई आत्मसात् गर्नु नै लोकतन्त्र हो भन्ने सोच वामपन्थी सोच होइन । खेलाडीहरू सकेसम्म राम्रो खेल खेल्दछन् । अरूसँग प्रतिस्पर्धा गर्छन् । तर, दर्शकहरूलाई मेरो खेल राम्रो भए पनि वा नराम्रो भए पनि ताली बजाउनुपर्छ भन्दैनन् । उनीहरू रातो वा सेतो वा कुनै रंगको कपडा लगाएको मात्र राम्रो खेलाडी हुन्छ त्यसैले उसले नराम्रो खेले पनि ताली बजाउनु वा गोरो वा कालो मानिसले मात्र खेल्नुपर्छ र उसको रंग मात्र वामपन्थ हो भन्दैनन् । उनीहरू पारदर्शी रूपमा खेल्दछन् । नियम सबैलाई एउटै हुन्छ । जनताले बिनाडर, धाक तथा त्रास राम्रो गर्नेलाई ताली दिन्छन् । नियमअनुसार नचल्नेलाई गाली पनि दिन्छन् ।
वामपन्थ पनि त्यस्तै हुन्छ । जो राम्रो गर्छ त्यसलाई जनताले राम्रो भन्छन् भन्ने सोचेर काम गर्छ र जनतालाई मेरो कुरामात्र राम्रो मान, मेरो भनाइ मात्र लोकतन्त्र हो भनसमेत भन्दैन । त्यसकारण वामपन्थको आधार कुनै विसर्ग वा उपसर्ग नलागेको लोकतन्त्र पनि हो । विसर्ग वा उपसर्ग अर्थात् जनताको जनवाद, जनताको लोकतन्त्र, जनवादी गणतन्त्र, जनवादी लोकतन्त्र आदिको त्यसमा स्थान हुँदैन । लोक भनेकै जनता हो र तन्त्र भनेको शासन हो । जनताको शासन भनेपछि जनवादी लोकतान्त्रिक गणतन्त्र भनेपछि के हुन्छ ? जनताको, जनतान्त्रिक, जनतन्त्र हुन्छ । यसको अर्थ एउटै भएन र ? अझ त्यसरी नाम थपेर तीनपटक जनताको नाम लिएकोले जनताले कुनै दल वा नेताले परिभाषा गरेको विषयलाई मात्र लोकतन्त्र हो भन्नुपर्ने भएपछि त्यो लोकतन्त्र हुन सक्दैन । लोकतन्त्रमा गरिब जनता बढी भएको देशमा गरिब जनताको हित गर्न नसके मत पाइँदैन । गरिबको नाम लिँदालिँदै पनि अरूले मत पाए भने गरिबको नाम लिने अझ फटाहा हुन् भन्ने बुझ्नुपर्छ । उनीहरू गरिबको नाममा गरिबलाई दु:ख दिने, लुट्ने आदि गर्ने हुन् भन्ने देखिन्छ । तर गरिबलाई राज्यविहीनताको अवस्थामा त्रास दिएर मत लिनु फेरि अलग विषय हो अर्थात् सुन्निएर मोटाउनु हो । त्यसैले कुनै फूलबुट्टा नगाँसेको लोकतन्त्र आफंैमा वामपन्थको आधार हो । त्यो लोकतन्त्र नमान्नेहरू वामपन्थीको पहिलो परीक्षामा नै पास हुँदैनन् । वामपन्थी आफूले नै घोषणा गरेर मात्र हुने कुरा पनि होइन । जनताले स्वतन्त्र भएर बिनाडरत्रास पाएको विकास र समानताको अवसर र त्यसलाई व्यक्त गर्ने छुट वामपन्थको आधार हो ।
यो हिसाबले उग्रकम्युनिस्टहरू जसले विश्वव्यापी मान्यतामा आधारित लोकतन्त्रलाई मान्दैनन् तथा आफ्नो विचारभन्दा अर्को विचारलाई तल्लो सम्झन्छन् र त्यवहार गर्छन् उनीहरू वामपन्थी होइनन् । वामपन्थी भनेका सुधारवादीहरू हुन् । उनीहरू त्यस्ता सुधारवादीहरू हुन् जो आफूभन्दा राम्रो सुधारवादीहरू आएमा तिनलाई आत्मसात् गर्नुपर्छ भन्ने मान्यतालाई व्यवहारमा लागू गर्छन् । चीनमा धेरै दलहरू खोल्न पाइन्छ । तर, त्यहाँ कम्युनिस्ट विचारविरोधी दल खोल्न पाइँदैन । कम्युनिस्ट विचारविरोधी दर्शन र सोच जति राम्रो र जनहितकारी भए पनि त्यो जनताको छनोटको अधिकारमा पर्दैन । यो कार्यले कुनै एकपटकको सुधारको कार्य रोकिन थाल्दछ । पहिलो सुधारको पाइलासँगै त्यो विचार र दल दक्षिणपन्थी हुन जान्छ । उत्तर कोरियाको कम्युनिस्ट सरकार वामपन्थी होइन, बरु कम्युनिस्ट हो । वामपन्थी र कम्युनिस्ट एक-अर्काका पूरक होइनन् । बरु लोकतन्त्र नहुने हुँदा कम्युनिस्टहरू वामपन्थी होइनन् । लोकतन्त्रवादीहरू आधा वामपन्थी हुन् र उनीहरूले लोकतन्त्रलाई मान्दै समाजवादी बाटो रोजे भने पूर्ण वामपन्थ्ाी हुन्छन् । तर, त्यो समाजवादी स्वरूप साम्यवाद आउनभन्दा पूर्वको प्रायोजित होइन गरिब जनताको हित र विकासलाई ध्यान दिने भन्ने अर्थमा हो । कम्युनिस्टहरूले राजनीतिक रूपमा कम्युनिस्ट विचार छोडेर लोकतन्त्र मानेमा उनीहरू वामपन्थी हुन् । नेपाली काङ्ग्रेस नेपालको सर्न्दर्भमा सैद्धान्तिक रूपमा पूर्ण वामपन्थी हो, यद्यपि यसका पनि व्यावहारिक कमी-कमजोरी हुँदैनन् भन्न सकिँदैन ।