ब्रायन एडम्समाथिको खर्च खेदजनक-वसन्तराज कुँवर

ब्रायन एडम्समाथिको खर्च खेदजनक-वसन्तराज कुँवर


एकबिहानै सङ्कटा महाङ्काल मन्दिरतर्फगएको थिएँ र त्यहाँ एकमुठी चामल र एक टुक्रा खानेकुराका लागि अर्को नेपाली दाजुभाइसँग हात फैलाउँदै गरेका थुप्रै नेपाली मैले देखँे । हाम्रा भाषामा माग्ने भनिने ती नेपाली अर्को नेपालीसँग बाँच्नका लागि चाहिने न्यूनतम खानेकुराका लागि सङ्घर्ष गर्दै थिए, त्यो पनि आफ्नो आत्मालाई तल गिराई हात पसारेर, अनुनय गरेर । म निकैबेर ती लामबद्ध भएका माग्नेलाई कसले के दिँदोरहेछ भनेर अध्ययन गरिरहँे । सयमा केवल तीनदेखि पाँचजनासम्मले तिनलाई केही दिँदारहेछन्, बाँकी ९५ जनाले तिनका अनुरोधलाई देखेको नदेखै गरेर जाँदारहेछन् । बाँच्नकै लागि मन्दिरबाहिर हात थापिरहेका ती मेरा नेपाली दाजुभाइको त्यो विवश्ाता मैले वास्तवमै भन्नुपर्दा दु: खी भएर हेरेँ । एक मनमा आयो आज प्रत्येक नेपाली आ-आफ्ना घर चलाउन र आ-आफ्ना परिवारका पेट भर्न सकिरहेका छैनन् भने तिनले अरूलाई कसरी दान गर्न सक्लान् त ? नेपाली गरिब भएकाले अर्को नेपालीलाई आर्थिक सहयोग गर्न नसकेका हुनुपर्छ भन्ने मेरो त्यस बिहानीको ठहर रह्यो ।
त्यसै दिन बेलुका ब्रायन एडम्स नामक विदेशी गायक रंगशालामा आउने कार्यक्रम थियो । मैले थाहा पाएँ- त्यहाँ दुई हजारदेखि ६ हजारसम्मको टिकट राखिएको थियो रे । मलाई लाग्यो यो ब्रायन एडम्सको गाना को सुन्न जाला ? जब कि नेपालीको अर्को खान नपाउने दाजुभाइलाई एक रुपैयाँ दिनेसम्मको आर्थिक हैसियत छैन । मलाई लाग्यो- साँझमा त्यो पनि जाडोमा यत्रो गरिबी भएको देशबाट टुँडिखेलमा हजारौँ तिरेर को सधैं टेलिभिजन र क्यासेट सीडीमा सुनिरहेको गीत सुन्न जाला ? कसरी रंगशाला भरिएला ? म यस्तै विश्वास लिइरहेको थिएँ तर मेरो विश्वास यति कमजोर र गलत रहेछ कि पछि मैले थाहा पाएँ ती गायकलाई हेर्न र तिनका गीत सुन्न मात्र नेपालीले दुई घन्टाका लागि ६ करोड तिरेछन् । नेपाली ६ हजारदेखि दस हजारसम्म तिरेर रातमा रंगशाला पुगेछन् । यो ब्रायनका लागि त सुखद कुरा होला तर प्रत्येक मन्दिरबाहिर हात पसारेर एक रुपैयाँ भीख माग्ने अर्को विवश नेपालीलाई भने त्यो कुरा कस्तो लाग्यो होला ? आज म त्यही कुरा सोचिरहेको छु । यद्यपि प्रधानमन्त्रीका दौडमा कुदिरहेका पार्टी अध्यक्षहरूलाई यस्ता कुरामा ध्यान दिन फुर्सद नहोला, तर पनि हामी नेपाली जो आफूलाई यो देशको सच्चा नागरिक मान्ने गर्र्छौं तिनले भने मलाई लाग्छ यो कुरामा संवेदनशील भएर एकछिन सोच्नैपर्छ । एकातर्फविदेशीलाई हेर्न मात्र हामी दुई घन्टामा ६ हजार तिर्न तयार हुन्छौँ र अर्कोतर्फभोको-नाङ्गो अर्को नेपाली दाजुभाइलाई एक रुपैयाँ दिन पनि हामी तयार छैनौँ । सोचौँ त यो कति दु: खद र कति गहिरो कुरा छ ?
म नार्कोनन् उपचार केन्द्र नामक लागूऔषधको दर्ुर्व्यसनमा परेकाहरूलाई नयाँ जीवन दिन लागिपरेको छु । यस केन्द्रमा खाना बनाउने दुईवटा भान्सा छन् । त्यहाँ झन्डै सातजना काम गर्छन् । पहिला उनीहरू हेल्पर हुन्छन् र विस्तारै दक्ष भएर पूरै भान्सा सम्हाल्न सक्ने हुन्छन् । भान्सामा अहिले कस-कसले खाना बनाउन मद्दत गर्छन् भन्ने कुरा पनि मलाई राम्ररी थाहा हुँदैन किनकि हेल्परहरू फेरिरहेका हुन्छन् । भान्साका प्रमुख प्रेम लामाले यो सब व्यवस्था गर्छन् र काम चलिरहेको छ ।
केही दिन अगाडिको कुरो हो । एउटा हाउस प्रमुख म कहाँ आए र एक घटना सुनाए । उनले सुनाएको घटनाको सार यस्तो थियो । एउटा भान्सामा काम गर्ने मैरै नाम ? वसन्त) भएका एक हेल्पर रहेछन् । उनको उमेर करिब २८ वर्ष हुँदो हो । पूर्वी पहाडबाट आएका वसन्त हेर्दा साना काठीका छन् । उनी पहाडबाट काम खोज्ने सिलसिलामा नार्कोनन् आइपुगेछन् र खाना पकाउन सहयोग गर्ने पदमा काम गर्न थालेछन् । नार्कोनन्मा बस्ने नि: शुल्क व्यवस्था छ र कर्मचारीको हैसियतले उनले केही रकम पनि पाउने गर्छन् । यहीबीच उनले विवाह गरेछन् । त्यो विवाह कसरी कतिबेला गरे त्यो नार्कोनन् स्टाफहरूलाई थाहा भएन । जब उनले विवाह गरे त्यसपछि आफ्नी श्रीमतीलाई काठमाणैं ल्याएछन् । श्रीमती ल्याएपछि उनलाई डेरा खोज्नुपर्ने भएछ । डेरामा श्रीमती राखेको केही समयमै उनकी श्रीमतीले पेट बोकिछिन् र अब उनलाई हरेक महिना अस्पताल धाउनुपर्ने भएछ । बच्चा नजन्मुन्जेलमै उनको थुप्रै खर्च भएछ र बच्चा जन्मेपछि झन् थुप्रै खर्च बढेछन् । उनले नार्कोनन्बाट मासिक सात हजार पाउँदा रहेछन् । जतिसम्म उनी एक्लै थिए सबै रकम बच्दोरहेछ र विवाह गर्नेबित्तिकै डेरा खोज्नेदेखि बच्चा पाउनेसम्मको प्रक्रियाले उनको खर्च बेस्सरी बढे छ । एक दिनको कुरो हो- भान्सामा खाना राम्रो भएन भनेर त्यहाँका हाकिम राजीव नकर्मीले गाली गर्दा वसन्त ग्वाँ-ग्वाँ डाको छोडेर रोएछन् र तलबले परिवार पाल्न नसकेको विलौना गरेछन् । यो नयाँ समस्याले त्यस हाउसका इन्चार्ज नकर्मी अलमल्ल परेछन् र गुनासो सुनाउन मकहाँ आइपुगेछन् । वास्तवमै म पनि यो नयाँ समस्या सुनेर एकछिन अनिर्णयको बन्दी बनेँ । यहाँ थुप्रै कर्मचारी काम गर्छन् । सबैको आ-आफ्नै समस्या होला । नार्कोनन् केन्द्रमा कसैले आर्थिक सहयोग गर्दैनन् । नार्कोनन् आफू बाँच्न नै सङ्घर्ष गर्नुपर्छ । त्यसमाथि हरेकको व्यक्तिगत समस्या समाधान गर्ने यसको क्षमता हुने कुरो भएन । एकातर्फाट हेर्दा म त्यस भान्सेलाई अब योभन्दा अलि धेरै दिने ठाउँमा जाऊ भन्न पनि सक्थेँ तर अर्कोतर्फयो कुरा पनि मलाई थाहा थियो कि उनले यो ठाउँ छोडे भने अर्को ठाउँ पाउनु पनि गाह्रै पर्छ । उनको आर्थिक हालत अझै बिग्रन सक्थ्यो । त्यसैले मैले त्यस भान्सेलाई बोलाएर के गर्न सकिन्छ त्यसबारे छलफल गर्ने निर्णय गरेँ । केही दिनभित्रै छलफल भयो । उनको अस्थायी भए पनि केही सहयोग गरियो तर स्थायी समस्या जहाँको त्यहीँ थियो त्यो के भने वसन्तलाई घर चलाउन आवश्यक पर्ने रकम उनले जम्मा गर्न सकिरहेका थिएनन् जसका कारणले उनी तनावमा रोइरहेका थिए ।
यो घटनाले मलाई बेचैन नै बनायो । आज वसन्तजस्ता यो मुलुकमा हामी कति नेपाली छौँ जसले आफ्नो परिवार धान्नेसम्मको रकम जोड्न सकेका छैनौँ । यही देशमा महँगी छ, यही देशमा रोग छ, यही देशमा काम छैन, यही देशमा कलकारखाना बन्द छन्, यही देशमा व्यापारघाटा छ, यही देशमा हवाईजहाजसमेत छैन र किन्न पनि दिइँदैन, यही देशमा राजनीतिक स्थिरता छैन, यही देशमा भ्रष्टाचार छ, यही देशमा पानी, बिजुली र ग्यास महँगो छ, यही देशमा कृषिजन्य कुरामा पनि विदेशको भर पर्नुपर्छ, संविधानसमेत बनेको छैन, यही देशमा सरकार अस्थिर छ, यही देशमा विदेशमा शौचालय सफा गर्न जान पनि कमिसन र घुस खुवाउनुपर्छ, यही देशमा त्यस्ता गरिबको पैसा खाएर विदेशमा ठगी गर्ने र जेलमा थुनाउने फटाहाहरू पनि छन्, यही देशमा जातीयताको आधारमा देशलाई टुक्रा-टुक्रा बनाउने कुरामा नेताहरू लागेका छन्, यही देशमा काम छैन, यही देशमा युनियनको नामबाट चलिरहेको उद्योगधन्दा बन्द गराउने काम भएको छ, यही देशमा खाली क्रान्ति भन्दै भत्काउने, तोड्ने र मार्ने मात्र कुरा हुन्छ । यही देशमा अर्कोतिर लाखौँ वसन्तजस्ता परिवार छाक टार्नकै लागि रोएर बसिरहेका छन् । के यो देशलाई वसन्तजस्ता रोइरहेका छन् भन्ने थाहा होला ? हुम्ला, जुम्ला र कालिकोटमा भात खान पनि पाउँदैन भन्ने थाहा होला ? मधेसमा कुनै जाति मुसा र मुसाले लुकाएको धान दुलो-दुलोबाट खोजेर आफ्ना बालबच्चा कसैले पालिरहेका छन् भन्ने कुरा थाहा होला ?
देशलाई थाहा होस् या नहोस्, मलाई यो कुराहरू थाहा छ । प्रहरीमा जागिर खाँदा पूर्वदेखि पश्चिमसम्म घुम्दा मैले नेपालका गरिबीलाई नजिकबाट हेर्ने र महसुस गर्ने मौका पाएँ । आज अवकाशपश्चात् पनि मैले राज्यको कोषबाट केही मागेको छैन तर पनि झन्डै पचासजनालाई रोजगार दिएको छु । तिनको परिवारलाई पुग्ने नभए पनि बाँच्नेसम्मको व्यवस्था मिलाइदिएको छु । आज धेरै नेपाली आफ्ना देशका अन्य नेपालीको गरिबी देखेर दु: खी होलान् । मलाई लाग्छ म पनि त्यसमध्ये एक हुँ । सक्नेले नसक्नेलाई मद्दत गरिदिनु नै आजको आवश्यकता हो । तर, जब सङ्कटामा बस्ने एक नेपालीले दुईछाक खान माग्नुपर्ने र अर्को नेपालीले ६ हजारको टिकट तिरेर गाना सुन्न जाने र त्यस माग्ने नेपालीलाई एक रुपैयाँसम्म पनि दिन तयार नहुने अवस्था देख्छु, त्यो दृश्यले भने मलाई अझै चिन्तित तुल्याएको छ ।
त्यस दिन जो ब्रायन एडम्सलाई हेर्न गए तिनीहरूमध्ये झन्डै ८० प्रतिशत आफै कमाउन सक्ने व्यक्ति थिएनन् । तिनलाई टिकट किन्ने खर्च आमाबाबुले दिएको हुनुपर्छ । के ती आमाबाबुले ती सङ्कटाका गरिबहरूलाई पनि केही गरेका होलान् ? भारतले एडम्सको कार्यक्रमलाई सुरक्षा दिन नसकिने नाममा टारेर आफ्नो देशको पैसा बचायो, न त्र एसियन गेम गराउन सक्ने देशले फुच्चे र कतैबाट खतरा नभएको ती गायकको सुरक्षा गर्न नसक्ने हो र ? के नेपाल सुरक्षामा भयङ्कर भएकोले कार्यक्रम सफल भएको हो र ? मलाई लाग्छ त्यो होइन ? भारत बिस्तारै-बिस्तारै आफ्नो देश र नागरिकप्रति जिम्मेवार हुँदै छ । ऊ गरिबलाई सस्तो रासनकार्ड बाँड्छ । औषधि नि: शुल्क गर्छ । हाम्रो देश जनताका कल्याणमा केही गर्न सक्दैन तर एडम्सलाई दुई घन्टामा ६ करोड रुपैयाँ दिएर फर्काउँछ ।
म फेरि भन्छु- एडम्सका लागि यो राम्रो कुरा होला, राज्यप्रति गैरजिम्मेवार अभिभावकहरू जसले ६ हजारसम्म तिरेर आफ्ना छोराछोरीलाई गीत सुन्न पर्ठाई आफू सम्पन्न भएको प्रमाण दिन सफल भए तिनका लागि गौरवको कुरा होला, आफ्ना संस्कृति र यथार्थ धरातल नबुझेका युवाहरूका लागि त्यहाँ उपस्थित हुनु गौरवको कुरा होला, अपहरण र लुटपाट अनि चन्दा अनि जग्गाकब्जा रोक्न नसक्ने सरकारका लागि एडम्सको सुरक्षामा पाएको सफलता नाक फुलाउने कुरा होला तर जसले र जुन नेपालीले बिहान-बेलुकाको छाक टार्न माग्ने भएर हात पसारिरहेका अर्का नेपाली देखेका छन्, वसन्तजस्ता रोइरहेका परिवार देखेका छन् तिनका लागि ब्रायन एडम्समाथिको खर्चा खेदजनकबाहेक अरू केही हुन सक्दैन ।