धरानमा यसरी भेटियो चीन

धरानमा यसरी भेटियो चीन


– मनिता चाम्लिङ

चिनियाँ राजदुतावास र चीन सांस्कृतिक केन्द्र नेपालले धरानमा ‘चीनलाई भेटौँ’ कार्यक्रमको आयोजना गरेको छ । सोमवार धरानमा आयोजित प्रदेशस्तरीय कार्यक्रम उद्घाटन गर्दै प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले नेपाल र चीनबीच सदियौँदेखिको आत्मिय सम्बन्ध कायम रहेको बताउँदै चीनबाट नेपालले धेरै पाठ सिक्न जरुरी रहेको बताए । उनले अर्थतन्त्रमा विश्वमा नै दोश्रो स्थान हासिल गरेको चीनको उपलब्धि सँधै नेपालको लागि प्रेरणादायी हुने र चीन सबै राष्ट्रको लागि एउटा पाठशाला भएको उल्लेख गर्दै छोटो समयमा चीनले गरेको आर्थिक क्रान्तिको पाठ नेपालले पनि सिक्नुपर्ने तर्क गरे ।

कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका पूर्वउपकुलपति महेश कुमार उपाध्यायले अर्काको आन्तरिक मामिलामा कहिल्यै हस्तक्षेप नगर्ने तर आफ्नो समृद्धि बाँड्न सँधै अग्रसर हुने चीनको नीति रहेको भन्दै सह्राहना गरे ।

सोही कार्यक्रममा चीन सांस्कृतिक केन्द्रका निर्देशक इङ फो छोङले केन्द्रले चीनको सँस्कृति नेपालमा बाँड्ने र नेपालका सँस्कृति चीनीयाँ जनसमक्ष पुर्याउने पुलको काम गर्दै आएको दाबी गरे । उनले पहिलोपटक धरान आउँदा अति नै सुन्दर लागेको बताउँदै काठमाडौ, पोखरापछि चीनीया पर्यटकहरू धेरै धरानमा आएको जनाए ।

चीनले इतिहासदेखि वर्तमानसम्म गरेका आर्थिक क्रान्तिका तस्बिरहरू समेत कार्यक्रममा प्रदर्शनी गरिएको थियो भने चीनका साँस्कृतिक फिल्म पनि प्रदर्शन गरिएको थियो ।

आयोजक संस्थाका संयोजक राजेन्द्र रिमालले संचालन गरेको कार्यक्रममा बीपी प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार, धरान उप–महानगरपालिकाका प्रशाासकीय अधिकृत सुदिप पोख्रेल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा चीनका विविध पक्ष बारेमा क्विज कन्टेष्ट समेत गराईएको थियो । सो फिल्म फेस्टिवल मंगलवार विराटनगरमा पनि हुने आयोजकले जनाएको छ ।