समाचारले पार्‍यो सकारात्मक प्रभाव

समाचारले पार्‍यो सकारात्मक प्रभाव


pathakmanchलामो समयदेखि विवादमा तानिएको नरपानी चुनढुङ्गा सम्बन्धमा गत ४ गते (वर्ष १८ अङ्क २३) को साप्ताहिक घटना र विचारमा समाचार प्रकाशित भएपछि सो समाचारले अर्घाखाँची जिल्लावासीमा खुसीको लहर छायो भने चुनढुङ्गा खानीका विषयमा धर्ना–आन्दोलनमा बसेका आन्दोलनकारीलाई थप ऊर्जा मिल्यो ।
जिल्लाकै सबैभन्दा चिसोस्थल मानिने नरपानीमा गत मङ्सिर २५ गतेदेखि स्थानीयवासी सदाका लागि उत्खनन् बन्द गरिनुपर्ने मागसहित २४ घन्टे धर्ना कार्यक्रममा उत्रिएका छन् । सो क्रममा धेरै जनता बिमारी पर्दासम्म सरोकारवालाहरूको माग सम्बोधन नगरेको समयमा घटना र विचारले जनताको पक्षमा आवाज उठाएको कारण धर्नामा बसेका करिब एक सय जनताले रातिको समयमा पत्रिका पाएको र दुई–तीनपटक दोहोर्‍याएर पत्रिका पढ्दै पत्रिका टिमलाई धन्यवाद दिएका छन् । घटना र विचारमा समाचार प्रकाशन भइसकेपछि त्यसपछि शनिबारको दिन सदरमुकाममा रहेको बिन्दु होटलमा जिल्लामा रहेका बौद्धिक सर्कल, केही राजनीतिक दल, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले सार्वजनिक बहस कार्यक्रममार्फत नरपानी चुनढुङ्गा सदाका लागि बन्द गरिनुमा नै मुलुकको हित हुने धारणा व्यक्त गरेका थिए ।
सधैँ ढिला निर्णय लिने पुरानो बानी बसेका काङ्ग्रेसी नेताहरूलाई पनि घटना र विचारको समाचार सामग्रीले घचघच्यायो । हुन त खानी प्रभावित गाविस नरपानीका काङ्ग्रेसहरूले खानी बन्द गर्नुपर्ने विज्ञप्ति पहिला नै निकाले पनि जिल्लास्तरीय काङ्ग्रेसजनले व्यक्तिगत धारणा मात्र सार्वजनिक गर्ने गरेका थिए । गत ८ गते आइतबार जिल्लास्तरीय बैठक बसी नरपानी चुनढुङ्गा खानी सञ्चालन सदाका लागि बन्द गरिनुपर्ने आधिकारिक धारणा सार्वजनिक गरेको नेपाली काङ्ग्रेस जिल्ला सचिव वासुदेव आचार्यले टेलिफोनमार्फत जनाएका छन् । आचार्यका अनुसार घटना र विचारको लेख अध्ययन गरिसकेपछि अर्घाखाँची काङ्ग्रेस पूर्णरूपमा जनताको पक्षमा उभिई धार्मिक र पर्यटकीय स्थल नरपानी बचाउने अभियानमा जुटेकोसमेत जानकारी गराएका छन् । ढिलै भए पनि काङ्ग्रेसको यो निर्णय राष्ट्रको पक्षमा भएको जिल्लावासीको बुझाइ रहेको छ । तथापि अहिलेसम्म पनि नेकपा एमाले र एनेकपा माओवादीको तर्फबाट भने आधिकारिक धारणा सार्वजनिक भएको छैन । हामी उनीहरूको स्पष्ट धारणाको प्रतीक्षामा छौँ ।
सो समाचार अध्ययन गरिसकेपछि नेकपा–माओवादीका जिल्ला इन्चार्ज भेषराज भुसाल, जिल्ला सेक्रेटरी भुवन, राजमोका केन्द्रीय सदस्य सागर केसी, एकीकृत क्रान्तिकारीका डिलाराम पाण्डेलगायत थुप्रै काङ्गे्रसी नेता तथा कार्यकर्ताले समाचारको प्रशंसा गर्दै धन्यवाद दिएका थिए ।
खानी बन्द हुनुपर्ने मागका साथ लामो समयदेखि अत्यधिक चिसो मानिने नरपानीमा धर्ना बसेका आन्दोलनकारी कुनै भाडामा आयातीत मानिस नभई स्थानीय जनता हुन् । यसरी आन्दोलनमा बस्नेहरूलाई काम नगरी खान पुग्दैन र अहिले धर्नाकारीहरू बिमारी पर्न थालेका छन् । माग सम्बोधन नभएसम्म हामी मर्न पनि तयार रहेका छौँ । राज्यले समयमै माग सम्बोधन गरी उत्खनन् बन्द गर्नुमा सबैको हित हुने पुन: दोहोर्‍याउन चाहन्छौँ ।
– पदम केसी, अध्यक्ष, नरपानी चुनढुङ्गा रोक्का सङ्घर्ष समिति

अङ्ग बेच्न लागेका कविको बिलौना
सम्पादकज्यू, म निवेदक कोसी अञ्चल, सङ्खुवासभा जिल्ला, वाना–७ खप्टुवानिवासी स्व. कुलप्रसाद उपाध्याय रेग्मी तथा स्व. कुन्तमाया रेग्मीको छोरा ऐऐमा जन्म भई विगत ३६ वर्षदेखि काठमाडौंमा आप्रवासी जीवन व्यतीत गर्दै आएको एक कवि, लेखक, स्वतन्त्र पत्रकार तथा महाकवि देवकोटाको एक मात्र अनन्य भक्त रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ हुँ । म ११ वर्षको उमेरदेखि नै सक्रिय वामपन्थी विचारमा आबद्ध भई पञ्चायतविरोधी आन्दोलनमा लागेबापत २०४२ देखि सबै सम्पत्ति स्वाहा भएको थियो । मास्टरी पेसा पनि गयो । तत्पश्चात् लामो समय भाषा सम्पादन र लेखनबाट गुजारा चलाउँदै आएकोमा २०४९/०५० देखि आँखाको गम्भीर बिरामी परी प्रेसबाट हात धुनुपर्‍यो । २०५४/०५५ सालमा पनि मृत्युको मुखमा परी करिब १४ महिनापछि होस् फर्कन गई नेपाली भाषाकै सेवा गर्ने उत्कट अभिप्रायले ज्योतिषशास्त्रको अध्ययन गरेँ र त्यसैबाट कविता कुसुम, नेपाली झ्याउरे, नेपाली आवाज कवितासङ्ग्रह र प्रगतिशील र आधुनिक दृक्पञ्चाङ्ग २०६७ र ०६८ प्रकाशित गरेको व्यहोरा अवगत गराउँछु । तैपनि २०६५ देखि भएको लामो र अविरल लोडसेडिङका कारण २०६५ मङ्सिरदेखि कम्प्युटर नचल्नुका साथै बत्तीको अनियमितताले ३–४ पल्ट हार्डिक्स ड्यामेज भई हाल अलपत्रमा परिरहेको छु । अहिले पेसाविहीन बन्नुपर्दा दशौँ हजार ऋण लाग्न गएकोले उक्त ऋण तत्कालै तिर्नुपर्ने भएकाले आफ्ना शरीरका अङ्ग–प्रत्यङ्गहरू बेच्न बाध्य हुनुपरेको व्यहोरा तपाईंको लोकप्रिय पत्रिकामार्फत अवगत गराउँछु ।
हालमा अघिल्लो घरमा बस्दाको बाँकी दुई महिनाको कोठाभाडा रु. तीन हजार, नेपाल पत्रकार महासङ्घ काठमाडौं शाखाको तीन वर्षको सदस्यता शुल्कबापत करिब रु. तीन हजार, कम्प्युटर बनाउँदाको बाँकी रु. तीन हजार तथा हाल सरेको ठाउँमा पनि महिनाको रु. १२ सय गरी तत्कालै रु. १० हजार बुझाउनुपर्ने भएकाले म अहिले शरीरका कुनै पनि अङ्ग बेच्न बाध्य भएको छु । २०६८ मा बायाँ हात र २०६९ मा लडेर दायाँ हातको कुहिनाको गेडी सरेकाले लेखन कार्यसमेत स्थगित गरेको छु । स्मरणीय छ कि नेपालमा कवि वा कलाकारलाई सहयोग गर्ने सङ्घसंस्था अभैmसम्म पनि नभएको र नेपालको राजनीतिमा २०४६ पछि कृष्णप्रसाद भट्टराई र मनमोहन अधिकारीबाहेक राज्य सत्तामा अन्न खाने प्राणी नपुगेकाले त्यस्ता पाशविक नेता र मन्त्रीहरूसित सहयोग याचना गर्नु मेरो ब्रह्म र नैतिकताले नदिएको हुँदा सार्वजनिक रूपमा यो अपिल प्रकाशित गर्न बाध्य भएको छु । अर्थाभावका कारण अहिले मेरो मोबाइलसमेत बन्द रहेकाले शरीरका अङ्ग चाहिने महानुभावले मेरो इ–मेल ठेगानामा शीघ्र सम्पर्क गरिदिनुहुन यसै पत्रमार्फत सबैसित अनुरोध गर्दछु । लामो समय आफू पत्रकारिता र लेखनमा सक्रिय रहँदा २०४७ मा राज्यविप्लवको ऐन २०४६ लागेपछि मैले मिर्गौला बिक्रीको घोषणा गरेको थिएँ । फेरि पनि शरीरका कुनै पनि अङ्ग बिक्री गर्नुपरेकाले सबैमा जानकारीका निमित्त यो अपिल लोकप्रिय पत्रिकामार्फत् पठाएको छु । धन्यवाद !
यदि कविप्रति अलिकति पनि सहानुभूति राखिदिने सच्चा मानव भए मेरो एनबी बैंकमा रहेको १ रुपैयाँवाला खाता नं. १८४२५२ डब्ल्यूमा पनि सहयोग गर्न सकिनेछ ।
– रत्ननिधि रेग्मी, ‘शुक्राचार्य’, महाकवि देवकोटा आश्रम, काठमाडौं ।