आगामी वैशाख १ गते ‘इटुँबहाः महोत्सव’ हुने

आगामी वैशाख १ गते ‘इटुँबहाः महोत्सव’ हुने


काठमाडौँको प्रसिद्ध भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावर्त महाविहार (इटुँबहाः) मा आगामी वैशाख १ गते ‘इटुँबहाः महोत्सव’ गरिने भएको छ ।

काठमाडौँ शहरको मध्यमागमा रहेको यो विहारमा पञ्चबुद्धको एउटा रुप अक्षोभ्य बुद्धको मूर्ति रहेको छ । लिच्छवि राजा भाष्कर देवका छोरा केशचन्द्रको नामबाट केशचन्द्र महाविहारको नामकरण भएको छ । यो विहारको इतिहास त्यसबेलाका राक्षस गुरुमापासँग जोडिएको छ ।

नेवार समुदायको प्राचीन कला, संस्कृति र परम्पराको संरक्षण गर्ने तथा भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले किलागल टोल सुधार समिति र रेट्रो मेडिया प्रालिले संयुक्त रुपमा यो महोत्सवको आयोजना गर्न लागेको हो ।

महोत्सवमा नेवारी कला, संस्कृति र पहिचान झल्काउने सामग्रीका साथै पुलु किसी, हाथा हाय्केगु, लाखे नाच, नेवारी भेशभूषा र नृत्य प्रदर्शन गरिने छ । कलाकार विमल बोलखेको नेतृत्वमा ८.२२ फिटको कागजमा सामूहिक ‘लाइभ पेन्टिङ’ पनि गरिने छ । मेलामा विभिन्न ३० प्रदर्शनी कक्ष रहने आयोजकले जानकारी दिएको छ ।

सामाजिक अभियन्ता आलोक तुलाधरले प्राचीन इतिहास बोकेको केशचन्द्र महाविहारले काठमाडौँ उपत्यकाको मात्र होइन सिंगो नेपालकै पहिचान बोकेको थलो भएको बताए । राससका अनुसार किलागल टोल सुधार समितिका अध्यक्ष अभिषेक कर्माचार्यले राजमतिको इतिहास पनि इटुँबहाःसँग जोडिएको र राजा जयदेव द्वितीयका रानी राज्यमतिको अपभ्रंस भई राजमति हुन गएको बताए ।