घाँस काट्न गएका युवकमाथि भालुको आक्रमण

घाँस काट्न गएका युवकमाथि भालुको आक्रमण


लमजुङको विकट बस्ती प्रोविका २४ बर्षीय सोमबहादुर तामाङलाई भालुले आक्रमण गरेको छ । जंगलमा घाँस काट्न गएका तामाङलाई भालुले आक्रमण गरेको हो । प्रोवि मस्र्याङदी गाउँपालिका वडा नं २ को घनपोखरामा पर्दछ ।

भालुको आक्रमणमा परी गम्भिर घाइते बनेका तामाङ मंगलबार विहान सबैरे घरबाट घाँस काट्नका लागि जंगल गएको परिवारले जनाएको छ । तामाङको टाउको, मुख, घाँटी र दाँया पाखुरामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । घाइते तामाङको नाताले दाई पर्ने स्थानिय बुद्धिबहादुर तामाङ पनि सँगै जंगल गएका थिए ।

मंगलबार विहान साढे ८ बजेतिर भालुले आक्रमण गरेपछि बुद्धिबहादुरले गाउँलेलाई खबर गरेका थिए । ‘उनलाई जंगलबाट बोकेर गाउँमा ल्यायौं र उपचारका लागि शुरुमा लमजुङ जिल्ला अस्पताल पुर्याएऔं ।’ बुद्धिबहादुरले भने, ‘थप उपचारका लागि अहिले काठमाडौंस्थित शिक्षण अस्पताल पुर्याएका छौं ।’

आर्थिक अवस्था कमजोर भएका तामाङको उपचारका लागि पुख्र्यौली घर प्रोवि भई हाल बेंसीसहर बस्दै आएका पूर्णचन्द्र घिमिरेको संयोजकत्वमा १५ हजार रुपैयाँ तत्काल संकलन गरीएको छ । स्थानीय बलराम खत्रीले तामाङको उपचारको लागि टोलमा रकम संकलन गरी पठाउने तयारी गरिएको बताएका छन् ।