दाङका अधिकांश होटल दुर्गन्धित

दाङका अधिकांश होटल दुर्गन्धित


जिल्लामा सञ्चालन भएका होटलको बिहीबार अनुगमन गरिएको छ । वास फोरम र घोराही उपमहानगरपालिका–१४ ले गरेको अनुगमनमा अधिकांश होटलमा सरसफाइ नभएको पाइएको अनुगमन टोलीले जनाएको छ ।

अनुगमनका क्रममा अधिकांश होटलले पकाएर राखेका वस्तु खुल्ला रुपमा राखेको पाइएको वास फोरमका संयोजक गोविन्द खड्काले जानकारी दिए । खुल्ला खाने वस्तुमा झिँगा लागेको पाइएको थियो ।

‘होटलहरुमा चाउमिन, समोसा, पकौडी, नमकिन, मिठाई, मासुसमेत खुल्ला रुपमा राखिएको पाइयो,’ संयोजक खड्काले भने ।

त्यसैगरी कतिपय होटलका शौचालयसमेत फोहर पाइएको अनुगमन टोलीले जनाएको छ । कतिपय शौचालय दुर्गन्धित भई प्रयोग गर्न सक्ने अवस्थामा नरहेको पाइएको थियो भने कतिपय होटलमा खाना पकाउने र भाडा सफा गर्नेसमेत नजिकै रहेको पाइएको थियो ।

टोलीले होटललाई सफा राख्न, खानेकुरा छोपेर राख्न, शौचालयको सफाइ गर्न तथा खाना बनाउने स्थान र भाँडा मिस्ने स्थान छुट्टाछुट्टै बनाउन सुझाव दिएको थियो । राससका अनुसार वडा नं १४ लाई सरसफाइयुक्त वडा बनाउने अभियान जारी छ ।

अनुगमन टोलीमा पत्रकार महासंघका सचिव उदय जिएम, वास फोरमका संयोजक खड्का, वडाध्यक्ष शक्तिराम डाँगी, जिल्ला सरसफाइ फोकल पर्सन तिलक न्यौपाने, वडा नं १४ का सचिव तिलकराम डिसीलगायत सम्मिलित थिए ।