चितवनमा ठगी गर्ने ‘जर्नेल’ झापाबाट पक्राउ

चितवनमा ठगी गर्ने ‘जर्नेल’ झापाबाट पक्राउ


भारतीय सेनामा जागिर लगाइदिने भन्दै चितवनका युवाहरुबाट लाखौँ नगद तथा जिन्सी असुलेर बेपत्ता भएको एक दम्पत्ति झापाको विर्तामोडबाट पक्राउ परेका छन् । आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै भारतीय सेनामा भर्ती गराइदिने प्रलोभन दिएर विभिन्न व्यक्तिलाई ठग्ने पाँचथरको साबिक रानीगाउँ–५ घर भई हाल बिर्तामोड बस्दै आएका ४५ वर्षीय प्रकाश भनिने दानबहादुर नेपाल र उनकी ३० वर्षीय श्रीमती ममता नेपाल रहेका छन् । नेपाल दम्पतीलाई बिहीबार झापामा पक्राउ गरी चितवन पुर्याइएको बुझिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको आदेशमा इलाका प्रहरी कार्यालय बिर्तामोडले ठग दम्पतिलाई नियन्त्रणमा लिएको हो ।

चितवनका विभिन्न युवालाई भारतीय सेनामा जागिर लगाइदिने भन्दै उनीहरुले नगदका साथै सुनका गरगहना समेत ठगेका थिए ।

तीन साताअघिबिर्तामोडस्थित जात्रुवाडी भन्ने स्थानमा कोठा भाडामा लिएर बस्दै आएको सूचना पाएपछि प्रहरी सक्रिय भएको थियो । केही समययता विभिन्न बहाना बनाएर सर्वसाधारणलाई ठगी गर्ने गिरोह सक्रिय रहेकाले त्यस्ता गिरोहबाट सजग रहन प्रहरीले आग्रह गर्दै आएपनि सर्वसाधारणमाथि ठगीको जाल फ्याँक्ने जालीहरुको कमी नरहेको र आमनागरिक पनि ठगको जालमा पर्नबाट जोगिन नसकेको विभिन्न घटनाले प्रष्ट्याएको छ । नेपाल दम्पति ठगी घटनाको पछिल्लो एक सामान्य उपमा मात्र हो ।