नयाँ बर्षसँगै आत्मनिर्भर बन्ने अवसर मिलेको छ : राष्ट्रपति 

नयाँ बर्षसँगै आत्मनिर्भर बन्ने अवसर मिलेको छ : राष्ट्रपति 


राष्ट्रपति विद्यादेवी भण्डारीले नववर्ष २०७५ को अवसरमा सम्पूर्ण नेपालीलाई सुख शान्ति, सुस्वास्थ्य दीर्घायू, भातृत्व, एकता एवं समृद्धिको शुभकामना व्यक्त गरेकी छिन् । राष्ट्रपति भण्डारीले नयाँ बर्षसँगै आत्मनिर्भर बन्ने अवसर मिलेको भन्दै प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्न आग्रह गरेकी छिन् ।

नयाँ वर्षको शुभकामना सन्देश दिँदै उनले २०७४ देशको राजनीतिक इतिहासमा महत्वपूर्ण वर्ष रहेको भन्दै नेपालको संविधानद्वारा निर्दिष्ट राज्य पुनःसंरचनाअन्तर्गत संघीय संसद्, प्रदेशसभा र स्थानीय तहका निर्वाचन सफल रुपमा सम्पन भएको बताइन् ।

राष्ट्रपति भण्डारीले विभिन्न तहका सरकार र संसदीय अभ्यासका अतिरिक्त स्थानीय तहमा न्यायिक समितिमार्फत न्याय निरुपणका प्रक्रियासमेत स्थानीयस्तरमै अघि बढेको भन्दै यसले देशलाई लोकतान्त्रिक विधिबाट समृद्विको दिशामा अघि बढ्ने ढोकालाई थप सुदृढ तुल्याएको उल्लेख गरिन् ।

उनले विभिन्न तहका जननिर्वा्चित निकायमा अभुतपूर्व रुममा महिलाको प्रतिनिधित्व सुनिश्चित भएको बताउँदै राजनीतिक एवं संवैधानिक परिवर्तनबाट देशलाई सामाजिक समानता एवं आर्थिक समृद्वितर्फ अगाडि बढाउने र संविधानले निर्दिष्ट गरेको समाजवादउन्मुख अर्थव्यवस्थासहित राष्ट्रलाई आत्र्म्निभर बनाउने अवसर प्राप्त भएको बताइन् ।

देशमा रहेको अथाह प्राकृतिक सम्पदालाई दिगो रुपमा प्रयोग गर्दै मुलुकलाई समृद्व बनाउने दायित्व आम नेपालीको भएको स्पष्ट पारिन् ।

यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले २०७४ साल ऐतिहासिक निर्वाचन वर्षको रुपमा बिदाई भएको भन्दै नयाँ वर्ष २०७५ शुभारम्भको सुखद अवसरमा देश विदेशमा रहेका समस्त नेपालीलाई सुख शान्ति सुस्वास्थ्य एवं प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

उनले नयाँ वर्ष राजनीतिक स्थायित्व, विकास र समृद्विको यात्राले छलाङ हान्ने वर्ष हुने अपेक्षा लिएको उपराष्ट्रपतिको निजी सचिवालयद्धारा जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।