खाद्य संस्थानको चामल : कागलाई बेल पाक्यो हर्ष न विस्मात् !

खाद्य संस्थानको चामल : कागलाई बेल पाक्यो हर्ष न विस्मात् !


हिमाली जिल्ला डोल्पामा सरकारले दिने अनुदानको चामल महँगो भएपछि जनताले किन्न छोडेका छन् । दुर्गम तथा हिमाली जिल्लामा सरकारले अनुदानमा नेपाल खाद्यान्नको चामल वितरण गर्ने गरे पनि महँगो हुने भएपछि जनताले किन्न छोडेका छन् । जापान सरकारले अनुदानमा दिने गरेको जापानी चामलको मूल्य बजारको चामलभन्दा पनि महँगो भएपछि जनताले खाद्यान्नको जापानी चामल किन्न नमानेका हुन् ।

प्रतिकेजी रु ६५ मा बिक्री गर्न केन्द्रले मूल्य निर्धारण गरेपछि महँगो भन्दै जनताले किन्न नमानेको नेपाल खाद्य संस्थान डोल्पाले शाखाले जानकारी दिएको राससले जनाएको छ । जिल्लाको दुनै शाखा, सर्मी डिपो र जुफाल डिपोमा आएको तीन हजार ५१५ क्विन्टल जापानी चामल बिक्री हुन सेकेको छैन ।

विसं ०७२÷०७३ मा रु ५० प्रतिकेजीमा बिक्री भएको जापानी चामल यस वर्ष एकै पटक प्रतिकेजीमा रु १५ वृद्धि भई ६५ मा पुगेपछि महँगो भएको भन्दै जनताले किन्न नमाने पछि बिक्री नभएको नेपाल खाद्य संस्थान डोल्पा शाखाका प्रमुख हरिप्रसाद जोशीले जानकारी दिए ।

जनताले जापानी चामल किन्न नमाने पछि मूल्य समायोजनका लागि जिल्ला समन्वय समितिले आपूर्ति मन्त्रालय र नेपाल खाद्य संस्थानमा पत्राचार गरेको जिल्ला समन्वय प्रमुख शेरबहादुर बूढाको भनाई छ । उनका अनुसार सरकारले जनताका लागि दिएको अनुदानको चामल नै बजारको भन्दा महँगो भयो, जनताले किन्न सक्दैनन् । बजारको चामलको भन्दा राम्रो गुणस्तर अनुदानमा दिने चामलमा छ ।

हाल डोल्पाको शाखा र डिपोबाट सोना मनसुली प्रतिकेजी रु ६०, मध्यम रु ६०, मकवानपुरे रु ५२, मोटा रु ५१, जिरा मसिनो रु ७०, गोरखनाथ रु ६५ र उसिना रु ३५ प्रतिकेजीमा नेपाल खाद्य संस्थानले जनतालाई बिक्री गर्दै आएको छ ।

सबै जनतासँग महँगो चामल किन्नको लागि पैसा नहुने भएकाले जति सक्दो सस्तो चामल रोज्नु परेको स्थानीय धनरुपे कामीले आफ्नो वास्तविकता सुनाए । छाँक टार्नकै लागि खाद्यान्नको चामल किन्नुपर्छ, तर खाद्यान्नकै चामल महँगो भयो, किन्ने क्षमता छैन भन्छन् उनी ।

‘सरकारले दिने चामल बजारको सरह नै भयो, हामीजस्ता गरीबका लागि सरकारले दिने र बजारको चामलमा कुनै फरक छैन, जति नै जातका चामल दिए पनि महँगो भएपछि कागलाई बेल पाक्यो हर्ष न विस्मात्,’ धनरुपेले भने ।