तीन जिल्लामा पाँच एकीकृत बस्ती निर्माण गर्ने

तीन जिल्लामा पाँच एकीकृत बस्ती निर्माण गर्ने


भूकम्प प्रभावित ३ जिल्लाका ५ क्षेत्रमा एकीकृत बस्ती विकास गर्ने गरी सरकारले निर्णय गरेको छ । सिन्धुपाल्चोक, रामेछाप र काभ्रेपलाञ्चोकका ५ स्थानमा एकिकृत बस्ती विकास गरिने भएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–२ खर्कडाँडास्थित नोर्बुलिङ, मेलम्ची नगरपालिका–१२ नम्डोललिङ, भोटेकोसी गाउँपालिका–५ ल्याङथलीमा एकीकृत नमुना बस्ती विकास गर्ने योजना स्वीकृत गरेको छ । यस्तै, रामेछापको मन्थली नगरपालिका–८ माझीबस्ती गाईखुरा र काभ्रे मण्डनदेउपुर नगरपालिका–१० स्थित तीनधारामा होमस्टेसहित नमुना एकीकृत बस्ती निर्माण हुनेछ ।

हेलम्बुमा ४० घर, मेलम्चीमा ७० घर र भोटेकोससी १० घर निर्माण हुनेछन् । भने मन्थलीमा २४ घर र मण्डनदेउपुरमा ३७ घर निर्माण गर्ने प्राधिकरणको योजना छ ।
यस्तै, बैठकले गुनासो व्यवस्थापन सूचना प्रणालीको अभिलेखमा अन्यत्र बस्नयोग्य घर बनिएका व्यक्तिको सूची सोही अनुसार भए÷नभएको सम्बन्धमा सम्बन्धित गाउँपालिका तथा नगरपालिका प्रमुख प्रशासकीय अधिकृतलाई प्रमाणित गरी पठाउन निर्देशन दिने निर्णय पनि गरेको छ ।

बैठकले प्राधिकरणअन्तर्गतका केन्द्रीय आयोजना कार्यान्वयन इकाईका लागि कर्मचारी दरबन्दी पनि स्वीकृत गरेको छ । दरबन्दी अनुसार केन्द्रीय आयोजना कार्यान्वयन इकाई मातहतका शिक्षा, भवन र अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारमा क्रमशः ४ सय ६३, ३ हजार २ सय ५० र ७ सय ४ कर्मचारी स्वीकृत गरिएको छ ।