गाउँपालिका महासङ्घका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी

गाउँपालिका महासङ्घका अध्यक्षविरुद्ध अख्तियारमा उजुरी


– किशोर बुढाथोकी, सिन्धुपाल्चोक

गाउँपालिका महासंघका अध्यक्षले प्रतिनिधित्व गर्ने सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा लाखौँ रुपैयाँ भ्रष्टाचार भएको भन्दै उजुरी परेको छ । अध्यक्ष होमनारायण श्रेष्ठसहितका पदाधिकारीले एक आयोजनाको ६० लाख रुपैयाँ भ्रष्टाचार गरेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको हो ।

उजुरी परेपछि आयोगले जिल्लास्थित कोष तथा लेखा नियन्त्रक कार्यालय र जिल्ला प्राविधिक कार्यालयलाई अनुगमनका लागि पत्राचार गरेको थियो । सो अनुसार बुधबार तीन सदस्यीय टोली जुगल गाउँपालिका पुगेको प्रमुख कोष नियन्त्रक लक्ष्मीप्रसाद निरौलाले जानकारी दिए ।

कोषका ध्यानवीर राइसहितको टोलीले गाउँपालिकामा भएको कामको अवलोकन गरेर फर्किएको छ । अनुगमन टोलीले आवश्यक कागजातहरु फोटोकपी गरेर फर्किएको गाउँपालिका स्रोतले जनाएको छ ।

जिल्लाको कर्णाली भनेर चिनिने यो गाउँपालिकाका स्थानीय भ्रष्टाचार भएको भन्दै आयोगमा उजुरी दिएका ह्ुन् । बलेफी–तेम्बाथान सडक अन्तर्गत गाउँपालिका कार्यालय रहेको स्थान ढाँडेदेखि साविक पाङताङ गाविसको कात्तिकेसम्म सडक स्तरोन्नती गरिएको भन्दै पालिकाका पदाधिकारीले भ्रष्टाचार गरेको स्थानीयको भनाई छ ।

स्थानीयकाअनुसार सो रकम सडक मर्मतका लागि छुट्याइएको थिएन । गाउँपालिकाको भवन निर्माणका लागि भनेर विनियोजन गरिएको थियो । तर, आर्थिक वर्षको अन्त्य हुनै लाग्दा बजेट फ्रिज हुने भएकाले सो रकम सडकमा लगानी गरिएको भन्दै भुक्तानी गरिएको स्थानीय गजेन्द्र थापा बताउँछन् । ‘रकम फ्रिज नै हुँदैन, किन यसो गरियो, हामी अचम्भित छौं,’ उनले भने ।

गाउँपालिका स्रोत अनुसार आर्थिक वर्ष सकिनै लाग्दा गाउँपालिका कार्यालयमा ३१ जनाको भेला बनाई एउटा समिति बनाइएको थियो । समिति बन्ने, सम्झौता हुने र पैसा भुक्तानी हुने दिन एउटै भएकले पनि शंका उत्पन्न भएको हो । दस हजार पाँच सयको हाराहारीमा मतदाता संख्या रहेको पालिकाको ठूलो आयोजनाको भेलामा ३१ जना मात्रै हुनु पनि हास्यास्पद रहेको थापाको भनाई छ । यहाँसम्म कि समिति निर्माणको समयमा भएको भेलामा सहभागी भएको संख्या भन्दा आयोगमा उजुरी दिनेको संख्या बढी छ । आयोगमा दर्ता भएको १४४२ नम्बरको उजुरीमा सो भन्दा बढी स्थानीयवासीको हस्ताक्षर छ ।

‘सडकमा लगाउने स्क्याभेटरमा हालिएको तेल, जालीलगायतको बिल छ,’ स्थानीय भन्छन्, ‘डोर हाजिरी फारम समेत किर्ते गरिएको छ ।’ स्थानीयका अनुसार शंका लागेर हामीले उजुरी हालिएको हो ।

गाउँपालिकाको दबाबपछि त्यहीं रहेको मुनलाईट हाइड्रोपावर, गेलुङ खोला हाईड्रोपावर र शिवश्री हाइड्रोपावरबाट निशुल्क प्रयोग गरिएको थियो । तर, उपभोक्ता समितिले भने उक्त बाटो निर्माणमा लागेको डोजर, तेल लगायत बजेट मार्फत नै खर्च भएको कागज मिलाएर रकम भुक्तानी लिएको छ । उपभोक्ता समितिले खर्च विवरण पेश गरी ५८ लाख २० हजार भुक्तानी लिएको छ ।

जुगल गाउँपालिकाका इन्जिनियर सुरेश पौडेलले कार्य सम्पन्न भएको भन्दै गाउँपालिकामा उक्त सडक आयोजना डोजर, मेसोनरी वाल, ड्राइस्टोन सोलिङ, एचडिपिई पाइप, तेल लगायत शीर्षकमा स्टेटमेन्ट तयार पारी बुझाएको देखिन्छ । तर, स्थानियवासीले भने उक्त सडकमा जलविद्युत आयोजनाको डोजर लगाइएको, पाइप जडान समेत नभएको, सडक किनारमा वाल मेसोनरी वाल नलगाएको बताएका छन् ।

गाउँपालिकाको कार्यालयमा २०७५ वैशाख २५मा माइन्यूट गरी उपभोक्ता समिति निर्माण गरिएको हो । मिति २०७५/२/२५ को कागजातलाई सच्याई १/२५ बनाइएको छ । बाटो स्तरोन्नतीका लागि देवेन्द्र शाक्यको नेतृत्वमा उपभोक्ता समिति बनाइएको र उक्त समितिमा ३२ जना सदस्य बनाइएको आयोगमा हालिएको उजुरीमा उल्लेख छ ।

जलविद्युत आयोजनाले भने १५ दिनसम्म आयोजनाको डोजर र तेल गाउँपालिकालाई निशुल्क दिएको बताएको छ । आयोजनाका एक कर्मचारीका अनुसार गाउँपालिकाले सडक मर्मतका लागि भनेर मागेपछि दिइएको हो ।

भ्रष्टाचार कार्यमा गाउँपालिका अध्यक्ष र वडा नम्बर ४ का वडाध्यक्ष प्रेम तामाङको समेत संलग्नता रहेको निवेदकहरुको दाबी छ । सो बारे विस्तृतमा बुझ्न खोज्दा गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठको ९७५१००३३८८, उपाध्यक्ष सिर्जना तामाङको ९७४१४७३२३८ र वडा नं. ४ का अध्यक्ष प्रेम तामाङको ९७४१५२५१८५ नम्बरको मोबाईल अफ गरिएकाले सम्पर्क हुन सकेन ।