कलंकीको ‘अण्डर पास’ खुल्न दुई साता लाग्ने

कलंकीको ‘अण्डर पास’ खुल्न दुई साता लाग्ने


कलङ्कीको जाम हटाउने समाधानका रुपमा हेरिएको कलङ्की–खसीबजार ‘अण्डर पास’ को काम अन्तिम चरणमा पुगेको चक्रपथ सुधार योजनाले जनाएको छ । एक÷दुई सातापछि ‘अण्डर पास’ खुला हुने कलङ्की–कोटेश्वर सडक निर्माणमा समन्वय गरिरहेको सो निकायले जानकारी दिएको हो ।

आठ सय मिटर लामो ‘अण्डर पास’ मा दुई तह कालोपत्र गर्न बाँकी रहेको योजनाका इञ्जिनियर निरञ्जन शर्मा अर्याल बताउँछन् । कालोपत्र बाँकी रहँदा नै यो खुला गर्ने योजना रहेको उनको भनाई छ । उनका अनुसार सडक छेउमा बोर्ड राख्नेलगायतका केही काम सकाएर एक÷दुई सातापछि अण्डरपास खुला हुनेछ ।

निर्माण कम्पनीले आगामी मङ्सिरसम्ममा काम सक्ने योजना बनाएको छ । आठ लेन सडकमध्ये माथि मुख्य सडकमा चार र सहायक सडकमा पर्ने ‘अण्डर पास’ मा चार लेन छन् । मुख्य लेनमा पनि दुई तह नै कालोपत्रे गर्न बाँकी छ । इञ्जिनियर अर्याललाई उद्धृत गर्दै राससले जनाएअनुसार सडकमा एकातिरको लेन सञ्चालन गरेर अर्कातिर काम गर्दै आउने कार्य जारी छ ।

कोटेश्वर–कलङ्की सडक निर्माणको कामको ९७ प्रतिशत काम सकिसकेको हो । ‘अण्डरपास सडक’ नेपालका लागि पहिलो हो । उपत्यकाको सबैभन्दा बढी सवारी चाप रहेको कलङ्कीलाई व्यवस्थापन गर्न यो सडकले सहयोग गर्ने विश्वास गरिन्छ ।

जम्मा १०।४ किलोमिटर लामो यो सडक निर्माणको काम चिनियाँ सरकारको सहयोगमा चिनियाँ निर्माण कम्पनी सङ्घलाई कन्सट्रक्सन गु्रपले गरिरहेको छ । सडकमा फुटपाथ, ट्राफिक सङ्केत र पेन्टिङको काम बाँकी रहेको समूहले बताउँदै आएको छ ।

चार वर्ष पहिले ४० महिनामा निर्माण सम्पन्न गर्ने गरेर सम्झौता भएको थियो । भूकम्प र नाकाबन्दीका कारण काम त्यो वर्ष काम ठप्प भएकाले एक वर्ष अवधि थप भएको थियो ।