साझा प्रकाशनका पूर्वकर्मचारीलाई वार्तामा आउन आग्रह

साझा प्रकाशनका पूर्वकर्मचारीलाई वार्तामा आउन आग्रह


साझा प्रकाशनमा धर्ना गरिरहेका पूर्वकर्मचारीलाई वार्तामा आउन भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा अर्यालले आग्रह गरेकी छिन् ।

पुल्चोकस्थित प्रकाशनमा पुगेकी मन्त्री अर्यालले प्रकाशनमा चाँडो उपदानको माग गर्दै धर्ना गरिरहेका पूर्वकर्मचारीले वार्ताका माध्यमबाट समाधान खोज्न भनेकी छिन् ।

उनले भनिन्, ‘ठूला द्वन्द्व त वार्ताबाट समाधान निस्किन्छ भने यहाँ पनि वार्ताबाट नै समस्याको समाधान हुनेछ ।’ मन्त्री अर्यालले साझा प्रकाशन लामो इतिहास बोकेको जीवन्त संस्था भएको बताइन् ।

साझाका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले व्यवस्थापन वार्ताबाट समाधान खोज्न लागेको बताए । उनले भने, ‘हामीले नियमित बैठक गरेर समाधान खोजिरहेका छौँ ।’ साझाका पूर्वकर्मचारी चन्द्र योङयाले सरकारले जुनसुकैरुपमा भए पनि आफूहरुले पाउनुपर्ने उपदानका रकम उपलब्ध गराउनुपर्ने बताए । एक सय २७ जना पूर्वकर्मचारीलाई साझाले झण्डै रु १७ करोड उपदानबापत दिनुपर्नेछ । उनीहरु एक महिनादेखि धर्ना गरिरहेका छन् ।