विम्स्टेकको नाममा राजनीतिक स्वार्थ प्रतिबिम्बित

विम्स्टेकको नाममा राजनीतिक स्वार्थ प्रतिबिम्बित


पछिल्ला वर्षहरुमा क्षेत्रीय संगठनप्रति मुलुकहरु आकर्षित बन्दै गएका छन् । एसियामा ३३ वर्षीय सार्क संगठन एकातिर रहेको र अर्को तर्फ आशियान सक्रिय रहेका छन् । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीसँग जोडिएका मुलुकहरु विम्स्टेकको नाममा सक्रिय हुने तरखरमा देखिएका छन् ।

विम्स्टेकमा सार्कसँग जोडिएका पाँच मुलुक र आशियानसँग जोडिएका दुई मुलुक सक्रिय देखिएका छन् । यो आर्थिक र प्राविधिक सहयोग आदान प्रदानमा मात्र सिमित नहुने संकेत एकाध मुलुकको राजनीतिक स्वार्थले समेत प्रतिविम्ब गर्दैछ ।

सन् २०१६मा सार्कको १९ औं बैठक पाकिस्तानमा गर्ने तय भएपनि भारत र पाकिस्तानबीचको आन्तरिक द्वन्द्वका कारण बैठक बस्न सकेन । दक्षिण एसियाको राजनीतिमा प्रभाव पार्ने उद्देश्य बोकेको भारतले सार्कलाई निष्प्रभावी बनाएर सार्कको विकल्पको रूपमा बिम्स्टेक उभ्याउने प्रयत्न भने निरन्तर गर्दै आएको छ । भारत–पाक विवादपछि भारतले इस्लामाबादमा हुन लागेको सार्क सम्मेलन बहिष्कार गर्ने घोषणा गरेको थियो ।

सार्कको विकल्पमा उभ्याइएको विम्स्टेकले विभिन्न देशको आर्थिक–सामाजिक विकास र गरीबी निवारण तथा क्षेत्रीय व्यापार प्रवद्र्धन गर्नमा खासै योगदान पु¥याउन सकेको छैन । तर, विश्वका अन्य क्षेत्रीय सङ्गठनहरू यूरोपियन युनियन, अफ्रिकी युनियन, अरब लिग, आशियानलगायतले त्यस क्षेत्रको सर्वाङ्गीण विकासका मेरूदण्ड नै साबित भएका छन् । अहिले आर्थिक रुपमा बिम्स्टेकबाट नेपालले कमसल फाइदा लिन सक्ने बताएपनि यसलाई आर्थिक सामाजिक विकासमा योगदान गर्ने मञ्चका रूपमा विकास गर्नुपर्ने देखिन्छ ।

तर, पछिल्लो समय बिम्स्टेक सार्कको प्रमुख अर्थतन्त्र भारत र आशियानको प्रमुख शक्ति थाइल्याण्ड प्रेरित सङ्गठनका रूपमा विकास भएको बुझन भने कठिन छैन । यूरोपेली युनियनले आफ्नो सदस्य राष्ट्रहरूमा खुला सीमा, एउटै मुद्रा, एउटै कानूनजस्ता आर्थिक–सामाजिक विकासका लागि धेरै काम गरेको छ ।

बिम्स्टेक र सार्क जस्ता क्षेत्रीय सङ्गठनलाई दक्षिण एसियामा प्रभूत्व जमाउन खोज्ने राष्ट्रले शक्ति रक्षाको उद्देश्यमा मात्रै प्रयोग गरिरहने हो भने यस्ता क्षेत्रीय तथा उपक्षेत्रीय सङ्गठनहरू हुनु र नहुनुको कुनै औचित्य नै रहँदैन । जे होस् भदौ १४ र १५ मा हुने सम्मेलनले लगानी भित्र्याउन नेपाललाई फाइदा मिल्ने आश गरिएपनि राजनीतिक रंगबाट प्रेरित संगठनको नजिर भने खासै राम्रो भएको पाईँदैन ।