कञ्चनपुरमा गोली चल्यो, भीमदत्तनगरबाट अन्यत्र समेत प्रदर्शन शुरु

कञ्चनपुरमा गोली चल्यो, भीमदत्तनगरबाट अन्यत्र समेत प्रदर्शन शुरु


कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै बिहीबार पनि प्रदर्शन जारी रहेको छ । घटनाको छानबिनप्रति असन्तुष्टि जनाउँदै चर्किएको आन्दोलनका क्रममा केही बेरअघि गोली चलेको छ ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाउनुपरेको जनाएको छ । प्रहरीको गोली लागेर सातजना घाइते भएका र घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको छ । घाइते हुनेमा तिर्थराज पनेरु, अर्जुन भण्डारी, सन्तोष कठरीया र भासिका तेज भटट् लगायत रहेकामा भट्टको अवस्था गम्भीर रहेको बताइन्छ ।

प्राप्त जानकारीअनुसार भीमदत्तनगर बजार, भाँसी, सुडा, लालपुर, सिसैया, दैजी, चम्फापुरलगायत क्षेत्रमा प्रदर्शनकारीले सडक र बजार क्षेत्रका ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

भीमदत्तनगर र बेदकोट नगरपालिका क्षेत्रका विद्यालय र बजार प्रदर्शनकारीले बन्द गराएका छन् । स्वस्फूर्त रुपमा ठूलो सङ्ख्यामा विद्यालयका विद्यार्थीसमेत सडकमा उत्रिएका बताइएको छ ।

जिल्ला सदरमुकाम भीमदत्तनगरबाट सञ्चालन हुने यातायात सेवासमेत पूर्ण रुपमा ठप्प रहेको छ । अप्रिय घटना हुन नदिन ठाउँठाउँमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मीलाई खटाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

बेदकोट नगरपालिका, भीमदत्तनगरपालिका र जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शनकारीले चर्को नाराबाजी गरिरहेका छन् ।

यसैबीच आन्दोलन उग्र बन्दै गएपछि दीपायलमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दको कमाण्डमा आजैदेखि प्रहरी परिचालन गरिएको छ । हत्याकाण्डको अनुसन्धान र वास्तविकताबारे चन्दले जिम्मेवारी लिने गरी खटाइएको प्रहरीका एक अधिकृतको भनाइ रहेको छ ।

बालिका पन्तका हत्यारा पत्ता लगाउन माग गर्दै चार दिनदेखि प्रदर्शन हुँदै आएको छ । भीमदत्तनगर बजारमा मात्रै सीमित प्रदर्शन आज कञ्चनपुरका अन्य क्षेत्रमा समेत शुरु भएको छ । गत साउन १० गते साथीको घरबाट फर्किने क्रममा निर्मलाको बलात्कारपछि हत्या गरेको अवस्थामा शव उखुबारीमा फेला परेको थियो ।