भेरी अञ्चल अस्पतालको नाम व्यक्तिको नाममा परिवर्तन गर्ने तयारी

भेरी अञ्चल अस्पतालको नाम व्यक्तिको नाममा परिवर्तन गर्ने तयारी


भेरी अञ्चल अस्पतालको स्तरोन्नति गरी नाम परिवर्तन गर्ने प्रक्रिया अघि बढाइएको छ । सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले भने, ‘प्रदेश ५, ७ र कर्णाली प्रदेशका जिल्लाका नागरिकलाई स्वास्थ्य सेवा पु¥याउँदै आएको यो अस्पतालको स्तरोन्नति प्रक्रिया मैले अघि बढाइसकेको छु ।’

अस्पतालको स्तरोन्नति गर्न आफूले उपप्रधानमन्त्री उपेन्द्र यादवसँग परामर्श गरिरहेको र उनी यसमा सकारात्मक रहेको मन्त्री राईको भनाइ छ । उनले भने, यो अस्पताललाई विगतमा करोडौँको जग्गा र सम्पत्ति दान गर्ने नेपालगञ्जकी दानवीर स्व. औतारदेई कसौधन (चौधराइन) को नाममा अस्पतालको नामाकरण गर्ने प्रक्रिया अघि बढाइएको छ ।’

दानवीर चौधराइनले नेपालगञ्जको विकासमा ठूलो गुन लगाएकी छिन् । उनले अस्पताललाई मात्र होइन, नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पस, नारायण उमावि र जिल्ला जनस्वास्थ्य कार्यालयलाई पनि करोडौं मूल्यका जग्गादान गरेकी छिन् । यो प्रक्रियामा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणा र स्व. औतारदेइ कसौधन (चौधराइन) सेवा प्रतिष्ठानका अध्यक्ष नन्दलाल वैश्यले पनि सघाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।