आखेटोपहार कारोबारीहरू कस्तुरीको विनासहित पक्राउ

आखेटोपहार कारोबारीहरू कस्तुरीको विनासहित पक्राउ


दुर्लभ एवम् संरक्षित वन्यजन्तुको आखेटोपहारको अवैध कारोबार गरी आर्जन गर्न खोज्ने व्यक्तिहरू अनुसन्धानको दायरामा तानिएका छन् । आखेटोपहार बिक्री गर्न हिँडिरहेको अवस्थामा काठमाडौंको सामाखुसी (टोखारोड)बाट प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले विजय लामा र सन्तोष तामाङलाई नियन्त्रणमा लिएको हो ।

वन्यजन्तुसँग सम्बन्धित अपराध अनुसन्धान तथा रोकथामको लागि केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरी टोलीले बुधबार पक्राउ गर्दा उनीहरुको साथमा संरक्षित वन्यजन्तुको आखेटोपहार (कस्तुरीको बिना जस्तो) समेत फेलापरेको प्रहरीको भनाई छ ।

पक्राउ परेका व्यक्तिमध्ये विजय लामालाई म.न.प्र. वृत्त स्वयम्भुले ०७४ असोजमा काठमाडौं नागार्जुन न.पा. वडा नं. २ पहेंलो गुम्बाबाट रेडपाण्डाको छाला, चितुवाको छालासहित पक्राउ गरेको र पछि काठमाडौ जिल्ला वन कार्यालयबाट अनुसन्धान गरेपश्चात् काठमाडौं जिल्ला अदालतबाट दश लाख रुपैया धरौटीमा छुटेका थिए ।

यस्तै अर्का अभियुक्त सन्तोष कुमार तामाङलाई म.न.प्र. बृत बालाजुले ०७४ भदौमा काठमाडौं मनमैजूबाट रेडपाण्डाको छालासहित पक्राउ गरेको थियो । पछि ती पाँच लाख धरौटीमा छुटेका थिए ।

यसरी पटके अपराधमा संलग्न दुवै अभियुक्तलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ तथा साइटिस महासन्धी, १९७५ विरुद्दको अपराधअन्तर्गत मुद्दा चलाउन लागिएको प्रहरीले जनाएको छ ।