लगानी सम्मेलनमा निजी क्षेत्रको उत्साह

लगानी सम्मेलनमा निजी क्षेत्रको उत्साह


लगानी सम्मेलनलाई निजी क्षेत्रले सकारात्मक रुपमा लिएको छ । निजी क्षेत्रले मुलुक भित्रिने बाह्य लगानीकर्तालाई ‘रेड कार्पेट’ ओछ्याएर स्वागत गर्ने बताएको छ ।

सरकारले आयोजना गरेको लगानी सम्मेलनमा निजी क्षेत्र सहकार्यका लागि जुटेको छ । सम्मेलन मुलुकको विकास र समृद्धिका लागि अवसर भएको उनीहरुको भनाइ छ । सरकारलाई छक्क पार्ने गरी उनीहरु सहकार्यमा जुटेका सरकारी अधिकारीहरु बताउँछन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघले नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’ अर्थात उपयुक्त थलो बताएका छन् ।

सङ्घीयतासहितको नयाँ संविधान कार्यान्वयनसँगै मुलुकको इतिहासमा पहिलोपटक स्थिर सरकार गठन भएको परिप्रेक्षयमा हुन लागेको लगानी सम्मेलनलाई उनीहरूले समृद्धितर्फको अबको यात्रामा सहयोगी माध्यम बन्नसक्ने बताएका छन् । अनुभव, सीप र दक्षता आदानप्रदान र उद्योगका लागि दीर्घकालीन रुपमा पूँजी जुटाउन आयोजना भएको लगानी सम्मेलनलाई उनीहरूले स्वर्ण अवसरको संज्ञा दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न तथा स्वदेशमा नै धेरैभन्दा धेरै रोजगारीका अवसर सृजनाका निम्ति नीतिगत एवं प्रक्रियागत सुधार गर्दै लगानीको वातावरण तयार गर्न सरकारीस्तरबाट भएका प्रयासको सराहना गरिन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को अवधारणालाई मूर्तरुप दिन वर्तमान सरकारका प्रमुखबाट भएको अथक प्रयास, त्यसमा निजी–सार्वजनिक क्षेत्रले देखाएको तत्परताले सकारात्मक परिणाम देखाएको उनको ठम्याइ छ । आजदेखि शुरु हुने सम्मेलनमा ऊर्जा, सूचना तथा सञ्चार प्रविधि, उद्योग, पर्यटन, भौतिक पूर्वाधार, कृषि तथा वन पैदावरमा आधारित उद्योगलगायत ७७ वटा परियोजनामा लगानी जुटाउने प्रयास हुनेछ ।

विद्युत् उत्पादन, सूचना तथा सञ्चार प्रविधिमार्फत ‘डिजिटल’ अर्थ व्यवस्था निर्माण, मनोरञ्जन तथा तीर्थाटनका लागि पर्यटकीय गन्तव्य निर्माण, दिगो यातायात पूर्वाधार निर्माण, कृषि तथा वनजन्य उत्पादनमा लगानीको अवसर र नेपालमा लगानीको अनुभवका साथै लगानीमा अन्तराष्ट्रिय अनुभव आदानप्रदान सम्मेलनमा हुने विषयबाट आफूहरू उत्साहित भएको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ बताउँछन् ।

निजी क्षेत्रको धारणाः
–लगानी सम्मेलन मुलुकका लागि अवसर
–निजी क्षेत्रलाई सरकारको सहयात्रीको रुपमा लिन आग्रह
–उपयुक्त वातावरण बनाउन आवश्यक
–ठूला पूर्वाधार आयोजनामा प्रत्यक्ष वैदेशिक लगानी आवश्यक

विसं २०७३ मा आयोजित लगानी सम्मेलनपछि देशमा भएको राजनीतिक परिवर्तन तथा लगानीको वातावरणमा आएको सुधार, लगानीका सम्भाव्य नयाँ क्षेत्र र बदलिँदो क्षेत्रीय तथा अन्तराष्ट्रिय परिवेशमा नेपालको तुलनात्मक लाभका क्षेत्रमा भएको परिवर्तनबारे लगानीकर्तालाई जानकारी गराउने अर्को उद्देश्य प्राप्तिमा सफलता मिल्ने ठान्छन् नेपाल उद्योग परिसघका अध्यक्ष हरिभक्त शर्मा । सरकार र निजीक्षेत्रको साझेदारीमा सम्मेलनलाई सफल पार्नुपर्ने र नकारात्मकभन्दा सकारात्मक समाचारलाई प्राथमिकताका साथ प्रवाह गरेर ‘नेपालमा साँच्चै लगानीको वातावरण बनेको’ सन्देश फैलाउन अपरिहार्य भएको उनको भनाई छ ।

सम्मेलनको पूर्वसन्ध्यामा हुने अनौपचारिक बैठक, उद्यमी–व्यवसायीबीचको छलफल, दीर्घकालीनरुपमा नेपालमा लगानी ल्याउन गरिने व्यावसायिक वार्ता देशको विकासको मार्ग्चित्र निर्माणमा सहयोगी हुनेमा ढुक्क छन् ।

नेपालले लिएको आर्थिक वृद्धिको दीर्घकालीन लक्ष्यलाई सहयोग पु¥याउन काठमाडौँस्थित विदेशी कूटनीतिक नियोग, नेपालको विकासका साझेदार, निजी क्षेत्र, गैरआवासीय नेपाली सङ्घलगायतको सहयोग सम्मेलनमा रहनेछ । श्रम ऐन, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, औद्योगिक व्यवसाय ऐनको नियमावली, विदेशी विनिमय नियमन गर्ने ऐन, सार्वजनिक खरीद नियमावली संशोधन भएकाले लगानीकर्ताले झण्झट झेल्न नपर्नेलगायत नेपालमा लगानीमैत्री वातावरण सिर्जना भएको सन्देश प्रवाह सम्मेलनबाट हुने अपेक्षा गरिएको छ ।

लगानी सम्मेलनप्रति विदेशीले अभिरुचिका साथ हेरेका छन् । ४० देशका ६०० लगानीकर्ताले सम्मेलनमा भागलिने प्रतिबद्धता व्यक्त गर्नुलाई नेपालमा भएको सुधार नै हो । निजी क्षेत्र आर्थिक, सामाजिक रुपान्तरणका बाहक र विकासका साझेदार हुन् भन्ने सोच राख्न व्यवसायीहरुले सुझाव दिएका छन् ।

सम्मेलनमा निजी क्षेत्रका मात्रै २५ वटा आयोजनालाई ‘शो केश’ मा राखिएको छ । विशेषगरी आइएमइ समूह, विशाल समूह, गरुड समूहलगायतले केही ठूला परियोजना सम्मेलनका क्रममा प्रस्तुत गर्ने छन् ।

औद्योगिक घरानाका रूपमा स्थापित आइएमई समूहले ऊर्जा, सिमेन्ट, केवलकारजस्ता परियोजनामा लगानी भित्र्याउने गरी काम शुरु गरेको छ । निजी क्षेत्रले यसअघि अध्ययन गरेका र अगाडि बढाएका आयोजनासमेत सम्मेलनमा प्रस्तुत गर्ने तयारी छ ।