गाउँमा चुपचाप उभिएको छु

गाउँमा चुपचाप उभिएको छु


■ त्रिभुवनचन्द्र वाग्ले

कुहिनो फाटेको बुस्कोट
दशैँको पात्रोमा हाँच्छ
दाँत झरेका हजुरबा जस्तै,
चपाउनु र पचाउन के छ र !

यी दशैँहरू हजुरआमालाई जिस्क्याउँछन्
र पहेँला पातमा नाच्छ
हजुरआमाका अर्धानो धोती
कहिले फेरिने हुन् रूखमा पालुवा

समयका घाउहरू
बाँडेर दर्दनाशक दबाइ
वर्षाले झपारेपछिको चन्द्रमा सुस्ताउँछ
प्यारीको गालामा, दागी छ चन्द्रमा
प्यारीको हाँसो पिनाजस्तै अमिलो छ
प्यारीको बयान,
कहाँ दर्ता गर्ने विरोधपत्र ?

जाँतो हो जीवन घुमिरहन्छ
घुमिरहन्छ जाँतो सामल पिनेर
झर्छन् सातुका धुलो
किन पिनिएको मकैको अखण्ड सपना र सग्लो स्वरूप
भत्काएर मकै, जाँतो विजयको नारा लगाउँछ
सीमारेखा मास्ने साम्राज्यवादी लयमा
पिनिनुको अनुभवमा के निबन्ध लेख्नु र ?
जाँतोको आँखा छैन, पढ्दैन
(पिनिनुका कथा, निबन्ध)
मुख छ, खान्छ मात्र

आँखा !
कुन ? शिवको
जो लाल छ भाङले, गाँजाले, दारूले
खै अदालतमा न्यायको धर्मसभा ?
शिवका नयन पुजिन्छन्
लागूपदार्थको आरोपमा भाङ काटिनुपर्छ छप्पछप्प
मात्तिनुपर्ने मानिस, काटिनुपर्ने अफिम
कहाँ छन् मानिसका आँखा
जो चिम्लेर आफ्ना आँखा ढुङ्गामा बुद्धका आँखा खोज्छन्
बुद्धका आँखा !
खै रित्ता मानिसका दशैँमा रोएका
पिङमा हल्लिन्छन् आकाङ्क्षा साइँलीका, माइलीका र कान्छीका
कलकत्ते आउँछ चमेलीको तेल घसेर
र पिङ हल्लाउने स्वाङमा हल्लाइदिन्छ साइँलीका, माइलीका र कान्छीका मन
उता धान खेतमा अधियाँ अक्षता हाँस्दै छन्
हामी कहिले तिम्रा निधारमा टाँसिने

शितले नुहाएर तितेपाती
पकाउँछ भान्छामा स्वादिलो चाड
भन्छ– मसँग शुभकामनाका मीठामीठा शब्द जो छन्
कहाँ छन् मानिससँग विवेक मलाई ‘तिते’ बनाइएको किन ?
तीता मान्छेहरू
मीठा सपना बाँड्छन्, मीठा झुठ बाँड्छन्

आज बाटो फाँड्नु छ
दशैँ बोलाउने बाटो
घाँटी ठाडो पारेर अग्ला रुखलाई खाँतिर गर्छ मान्छे
पोथ्राहरू फाँड्नुमा विजय गाउँछ मान्छे
भन्छ, यात्रा सफलताका लागि पोथ्रा फाँड्नुपर्छ
ए भुइँचम्पा हो दशैँको बाटो नछेक ल
गाउँमा मालिकजस्तै
गजधम्म दशैँ आउँदै छ
बाटो छोडिदेऊ
म गाउँमा चुपचाप उभिएको छु ।