चलखेल नगर्न नेपाल रिपब्लिक पार्टीको चेतावनी

चलखेल नगर्न नेपाल रिपब्लिक पार्टीको चेतावनी


कम्युनिष्ट शासन रहेको चीनले तिब्बती बौद्ध धर्मावलम्बीहरूलाई लामो समयदेखि दबाउँदै आएको र सिन्जियाङ प्रान्तका लाखौँ वीगर मुस्लिमहरूमाथि समेत दमनचक्र चलाएको भन्दै नेपाल रिपब्लिक पार्टीले तीव्र आक्रोश प्रकट गरेको छ । सो पार्टीका प्रेसिडेन्ट सिद्धार्थ गौतमले एक प्रेस विज्ञप्ति जारी गर्दै कम्युनिष्ट विचारधाराप्रति असहमतहरूलाई भौतिक रूपमा समाप्त पार्न रत्तीभर नहिच्किचाउने भन्दै छिमेकी चीनको आलोचना गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्– ‘चीनले बौद्ध र मुस्लिमहरूप्रति देखाएको आततायी व्यवहारले प्रजातन्त्र, मानवअधिकार, धार्मिक र अभिव्यक्तिको स्वतन्त्रताविरोधी एवम् सर्वसत्तावादी चरित्र फेरि एकपटक उदाङ्गो पारेको हाम्रो ठहर छ । दलाई लामाको अवतार घोषणा गर्ने जस्तो तिब्बती जनताको नितान्त धार्मिक मामिलामा समेत हस्तक्षेप गर्न खोज्ने चीनको दुष्प्रयास सर्वथा अक्षम्य रहेको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ– ‘हङकङको प्रजातन्त्र, स्वायत्तता र मानवअधिकारको आन्दोलनलाई दमनका भरमा समाप्त पार्ने चीनियाँ कम्युनिष्ट सरकारको कुटिल नियतका विरुद्ध अमेरिका, यूकेलगायत समग्र प्रजातन्त्रवादी विश्व समुदाय एकमत बन्दै आएको कुरा जति स्वागतयोग्य छ, उनीहरूलाई चेतावनी दिने चीनको दुस्साहस उत्तिकै भत्र्सनायोग्य रहेको छ । अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘हङकङ ह्युमन राईट्स एण्ड डेमोक्रेसी एक्ट’लाई मञ्जुरी दिनुभएको छ । यस एक्टमुताबिक अमेरिकाले यसको वार्षिक समीक्षा गर्छ कि चिनसित हङकङको स्वायतता बनिरहोस् । यस कदमको नेपाल रिपब्लिक पार्टी स्वागत गर्दछ र डोनाल ट्रम्पलाई धन्यवाद दिन चाहन्छ ।’

हङकङको स्वयत्तता आन्दोलनलाई नेपाली जनताको पूर्ण समर्थन र ऐक्यवद्धता सदैव रहिरहन्छ भन्दै नेपाली मूलका हङकङ नागरिकप्रतिको सुरक्षालाई लिएर आफ्नो पार्टी चिन्तित रहेको गौतमले जनाएका छन् । ‘नेपाल रिपब्लिक पार्टी चीनमा प्रजातन्त्र, धार्मिक स्वतन्त्रता, मानवअधिकार र अभिव्यक्तिको स्वतन्त्रता बहाल गराउन समग्र प्रजातान्त्रिक विश्व समुदायलाई हार्दिक अपिल गर्दछ । चीनको विक्षिप्त महत्वाकांक्षा र सर्वसत्तावादी आकांक्षालाई समयमै तह लगाइएन भने यो समग्र विश्व र मानव सभ्यताकै निम्ति खतरनाक सावित हुनसक्छ भन्ने कुरा सबैले बुझेकै हुनुपर्छ’– प्रेसिडेन्ट गौतमले उल्लेख गरेका छन् ।

विज्ञप्तिको अन्त्यमा भनिएको छ– ‘विभिन्न आवरणमा नेपालमा आफ्नो पञ्जा फैलाउने र बौद्ध धर्मका नाममा बौद्ध धर्म–संस्कृतिलाई नै विकृत बनाउने काममा कम्युनिष्ट चीन प्रत्यक्ष र त्यसभन्दा बढी परोक्ष रूपमा आक्रामक तवरले सक्रिय हुन थालेको प्रतिसमेत नेपाल रिपब्लिक पार्टी तीव्र आक्रोश व्यक्त गर्दछ । विविध आवरणमा नेपाललाई आफ्नो प्रभावक्षेत्र बनाउने र चलखेल गर्ने यस्तो दुस्साहस तत्काल बन्द गर्न हाम्रो पार्टी प्रजातन्त्रप्रेमी नेपाली जनताका तर्फबाट कम्युनिष्ट चीनलाई चेतावनी दिन चाहन्छ । सानो राष्ट्र भनेर नेपाललाई हेप्न र हाल हाम्रो देशमा सत्तारुढ कम्युनिष्ट पार्टीको भरमा नेपालमा चलखेल गर्ने सपना चीनले नदेखे हुन्छ । नेपाली जनताले उसको त्यो आकांक्षा कहिल्यै पूरा हुन दिने छैनन् ।’