अपाङ्गता भएका व्यक्तिको मानवाधिकारको रक्षा गर्न ध्यानाकर्षण

अपाङ्गता भएका व्यक्तिको मानवाधिकारको रक्षा गर्न ध्यानाकर्षण


राष्ट्रिय मानवाधिकार आयोगले अपाङ्गता भएका व्यक्तिको मानवाधिकारका प्रश्नमा अझै समस्या रहिरहनु उपयुक्त नभएको ठहर गर्र्दै सङ्घीय, प्रदेश तथा स्थानीय सरकारको ध्यानकर्षण गराएको छ । विश्वभर हरेक वर्ष ३ डिसेम्बरलाई अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका रूपमा मनाउँदै आएको सन्दर्भमा आयोगले अपाङ्गमैत्री वातावरण निर्माण गरी मानवाधिकारको संरक्षण र परिपालन गर्न सरोकारवाला सबै पक्षसँग पुनः आग्रह गरेको छ ।

आयोगले आफ्ना सिफारिस कार्यान्वयनको स्थितिका बारेमा गम्भीर रहेको तथा अपाङ्गता भएका व्यक्तिका मानवाधिकारका प्रश्नमा अझै समस्या देखिनु दुःखद् रहेको जनाएको छ । अनुगमन, अनुसन्धान तथा अध्ययन गरेका तथ्यका आधारमा सरकारलाई विभिन्न समयमा शहरी क्षेत्रका सबै सडक, भवन तथा अन्य भौतिक संरचना अपाङ्गमैत्री हुने गरी निर्माण गर्न, अपाङ्गता भएका व्यक्तिका परिचयपत्र नियमित र व्यवस्थित रूपमा प्रदान गर्न, अपाङ्गता भएका व्यक्तिको एकिन तथ्याङ्क सङ्कलन गरी सोहीअनुसारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न आयोगले आग्रह गरेको हो ।

शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका क्षेत्रका पहुँच कायम गरी उनीहरूको नागरिक, राजनीतिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको संरक्षण र सम्बद्र्धन गर्न सरकार तथा सरोकारवाला निकायलाई आयोगले यसअघि नै सिफारिस गरेको स्मरण गरेको छ । नेपाल अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी महासन्धि, २००६ को सन् २०१० मा पक्ष राष्ट्र भइसकेको स्मरण गर्दै उक्त महासन्धिको प्रावधान अनुसारको कर्तव्य अनुसरण गर्नसमेत आयोगले सम्बद्ध पक्षलाई ध्यानकर्षण गराएको छ ।


(अपाङ्गता उत्थान समन्वय समिति चितवनले अपाङ्गता भएका व्यक्तिको २८औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा मङ्गलबार भरतपुरमा आयोजना गरेको ऱ्यालीमा सहभागी ।)

pict:rss