‘सीमा स्तम्भ फेला पर्न सकेन’ : सशस्त्र प्रहरी

‘सीमा स्तम्भ फेला पर्न सकेन’ : सशस्त्र प्रहरी


कैलालीको पूर्वश्रीलङ्का टापुदेखि पश्चिम डोकेबजारसम्मको १०१ किमी लामो अन्तर्राष्ट्रिय सीमाको दूरीमा मुख्य ५३ र सहायक २२९ सीमास्तम्भ रहेकामा यीमध्ये मुख्य १३ र सहायक ५४ वटा सीमास्तम्भ फेला नपरेको तथ्याङ्क रहेको सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण हेडक्वार्टर कैलालीले जनाएको छ ।

बताइएअनुसार मुख्य ३९ वटा सीमास्तम्भ सबुत अवस्थामा रहेकोमा एक सीमा स्तम्भ मर्मत गर्नुपर्ने देखिएको छ । नेपाल—भारतको संयुक्त सीमा सर्भे नापी टोली नं ४ ले गत वर्ष मुख्य सीमास्तम्भ सात वटाको निर्माण र नौ वटा स्तम्भको मर्मत गरेको थियो ।

यस्तै सहायक स्तम्भमध्ये २५ वटाको मर्मत र ४१ वटा नयाँ निर्माण गरिएको थियो । सबुत अवस्थामा १७१ सीमास्तम्भ रहेकामा थप चार वटाको मर्मत गर्नुपर्ने देखिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसबाहेक कैलालीको सीमा क्षेत्रमा एक ‘रिफरेन्स’ सीमा स्तम्भसमेत रहेको छ ।

भारतले हालै आफ्नो नक्सामा नेपाली भूमि समावेश गरेको घटनापछि बढेको चिन्ता र जनचासोसँगै नेपाल भारतका सीमामा थप ठाउँमा सशस्त्र प्रहरी बलका बीओपी स्थापना गर्ने प्रयास थालिएको बताइएको छ ।

प्रदेश सरकारको पहल

भारतले आफ्नो नक्सामा दार्चुला जिल्लाको ब्यास गाउँपालिकाको कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतीय भूमिमा समावेश गरेको घटनाका विषयमा प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले नेपालको भारतसँग दार्चुलालगायतका अन्य भू–भागमा देखिएको अन्तर्राष्ट्रिय सीमासम्बन्धी विवादलाई कूटनीतिक माध्यमबाट यथाशीघ्र समाधान खोज्न नेपाल सरकारसँग अनुरोध गर्ने निर्णय गएको कात्तिकमा नै गरेको थियो ।

दार्चुलाको व्यास गाउँपालिका–२ को तुम्लिङदेखि टिङ्कर र साङ्ग्रु भन्ने गाउँसम्म नेपाली गाउँबस्ती भएर आवागमन गर्ने घोरेटो बाटो प्रदेश सरकारले नेपाल सरकारको सहकार्यमा निर्माण गर्ने र सुदूरपश्चिम प्रदेशको कालापानीसहित भारतसँग सीमा जोडिएको सिमाना र सीमा नाकामा आवश्यकतानुसार प्रभावकारी सुरक्षा व्यवस्थापनका लागि अनुरोध गर्ने निर्णय पनि उक्त बैठकले गरेको थियो ।

rss