जीविकोपार्जनको स्रोत बन्दै मौरीपालन व्यवसाय

जीविकोपार्जनको स्रोत बन्दै मौरीपालन व्यवसाय


गलकोट नगरपालिका–९ मल्म, बरेखानीका किसान मित्रलाल गौतमको घरमा १० घार मौरी छन् । एक घारमा वर्षको १५ किलोसम्म मह उत्पादन हुन्छ । एक किलो महको मूल्य रु. एक हजार पाँच सय छ । गौतमले झैँ बरेखानीका सबै किसानले मौरी पालेका छन् ।

मह बेचेर यहाँका किसानले वार्षिक रु. दुई लाखसम्म कमाउँछन् । स्वस्थ र स्वादिलो भएकाले महको माग बढी छ । गाउँघरमा खपत भएर रहेको मह किसानले बजार पुऱ्याउँछन् । ‘मौरीपालन यहाँको पुरानै पेसा हो, गाउँभरिमा ५० भन्दा बढी मौरी घार छन्,’ गौतमले भने ।

परम्परागत मुढे घार छाडेर किसानले आधुनिक घारमा मौरीपालन गरेका छन् । आधुनिक घारमा बढी र राम्रो मह उत्पादन हुन्छ । मौरीपालनमा किसानको आकर्षण देखेर गलकोट नगरपालिकाले गत आवमा अनुदानमा आधुनिक घार उपलब्ध गराएको थियो ।

एक घारमा वर्षको १५ किलोसम्म मह उत्पादन हुन्छ, एक किलो महको मूल्य रु. एक हजार पाँच सय छ

अनुदान, तालिम पाएमा मौरीपालन थप विस्तार गर्न सकिने किसान बताउँछन् । बरेखानी मौरीपालनका लागि उत्तम भूगोल र हावापानी भएको गाउँ हो । वर्षको दुई याममा मह तयार हुने किसान पुनाराम गौतमको भनाइ छ । उनका अनुसार असोज–मंसिर र चैत–जेठमा मह काढ्ने बेला हुन्छ ।

उत्पादन गर्न सके महलाई बजारको खाँचो छैन । हटिया, हरिचौरलगायत बजार क्षेत्रबाट बढी माग आउँछ । विदेशमा समेत कोसेलीका रूपमा बरेखानीको मह पुग्ने गरेको छ । ‘कुनै मिसावट नभएको शुद्ध र स्वादिष्ट मह बेच्छौँ,’ पुनारामले भने ।

मौरीपालन थप विस्तार गर्ने उनको योजना छ । ‘तरकारी गाउँ’ले चिनिने बरेखानीलाई मौरीपालनले अर्को चिनारी दिएको छ । गाउँका किसानको मुख्य पेसा तरकारी खेती हो । झन्डै ५० रोपनीमा व्यावसायिक तरकारी खेती छ । बरेखानीमा रहेका आठ घरधुरीमा स्थायी बसोवास गर्नेको संख्या त्यस्तै २२–२४ छ ।

जनसंख्या र भूगोलले सानो भए पनि बरेखानी उत्पादनका हिसाबले अगाडि छ । त्यहाँका किसानले २५ वर्षअघि देखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । प्रत्येक घरले वार्षिक पाँच–सात लाख रुपैयाँ तरकारी बेचेरै कमाउँछन् । किसानले पशुपालनलाई पनि अँगालेका छन् । कमाइको स्रोत भैँसीको दूध पनि हो ।

युवापुस्ता शहरी क्षेत्र र विदेश लागेपछि पाका किसानले गाउँको कृषि धानेका छन् । अधिकांश घरमा श्रीमान्–श्रीमती मात्र छन् । शरीर र स्वास्थ्यले साथ दिउञ्जेल कृषिमै रमाउने किसानको सोच छ । कठिन भूगोलका कारण कृषि उपजको बजारीकरणमा भने किसानले समस्या झेल्दै आएका छन् ।

गाउँदेखि दुई किलोमिटर तलसम्म सडक पुगे पनि त्यो नियमित चल्दैन । दैनिक डेढ घन्टा तरकारी बोकेर मध्यपहाडी लोकमार्गसम्म पुऱ्याउनुपर्ने बाध्यता छ । गाउँको मुख्य समस्या सडक नै रहेको स्थानीयवासी चन्द्रमणि गौतमले बताए । ‘यातायातको सुविधा नहुँदा कृषि उपज बजार लैजान समस्या छ,’ यनले भने ।

नगरपालिकाले बरेखानी जोड्ने सडकका लागि चालू आवमा रु. चार लाख ५० हजार बजेट छुट्याएको छ । उक्त बजेट मर्मतमै ठिक्क हुने स्थानीयवासी बताउँछन् ।
रासस