खर्चको खोलो मात्रै बगाउने कि ‘म्यानेज’ पनि गर्ने ?

खर्चको खोलो मात्रै बगाउने कि ‘म्यानेज’ पनि गर्ने ?


■ सनत आचार्य

२० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले जनवरी १ तारिखदेखि नेपाल भ्रमण वर्ष शुरु गरेको छ । काठमाडौंको दशरथ रंगशालामा एक भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटित उक्त कार्यक्रमको आन्तरिक तथा बाह्य तयारी भने फितलो देखिएको छ । यहाँसम्म कि आजका मितिसम्म पर्यटकहरूका आवश्यक सूचना, जानकारीलगायत नीतिगत योजनाहरू कार्यान्वयन गर्ने नेपाल पर्यटनबोर्डसमेत नेतृत्वविहीन छ ।

नेपालमा बाह्य पर्यटकहरूको सङ्ख्या वृद्धि गरी विदेशी मुद्रा आर्जन गर्ने र समग्र आर्थिक विकासमा टेवा पुऱ्याउने उद्देश्यका साथ सन् १९९८ बाट शुरु गरिएको पर्यटन वर्ष हरेक वर्षझैँ यस वर्ष पनि विदेशीहरूका लागि खासै उल्लासमय देखिँदैन ।

सरकारले सन् १९९८ र २०११ को कार्यान्वयनपश्चात् सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने निर्णय गरेको हो । यो भ्रमण वर्ष मुलुक सङ्घीय गणतन्त्रमा प्रवेशसँगैको पहिलो भ्रमण वर्ष पनि हो । सरकारले २०१५ लाई भ्रमण वर्ष घोषणा गर्ने तयारी गरेको भए तापनि महाभूकम्पका कारण विश्व सम्पदामा सूचीकृत संरचनालगायत अन्य संरचनाहरू ध्वस्त भएको र पुनर्निर्माणको सम्भावना नभएकोले उक्त वर्ष घोषणा गर्न सकेन ।

तत्पश्चात् सन् २०१८ लाई पनि भ्रमण वर्ष घोषणा गर्ने प्रारम्भिक तयारी रह्यो । उक्त समयमा पनि संरचना निर्माण नभएको र नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना सुधार नसकिएको र दोस्रो ठूलो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनीको पनि काम सम्पन्न नभइसकेकोले उक्त वर्ष पनि सरकारले भ्रमण वर्ष घोषणा गर्न सकेन ।

पर्यटनका दृष्टिकोणले नेपाल विश्वका १० देशहरूमध्ये पाँचौँ स्थानमा पर्दछ । मनमोहक हिमशिखर, प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, वन्यजन्तुहरूको दृश्यावलोकन र नेपालमा पाइने विभिन्न प्रजातिका चराहरू नेपालको पर्यटनका आधार हुन् । नेपाल प्रवेश गर्ने अधिकांश पर्यटकहरू पहाडी र हिमाली क्षेत्रको पदयात्रा गर्ने गर्दछन् । त्यसैगरी उनीहरू सगरमाथा, मनास्लु, धौलागिरिलगायतका हिमशिखरहरू आरोहण गर्ने गर्दछन् ।

विश्वका कैयौँ देशहरूको पर्यटन क्षेत्र नै आम्दानीको मुख्य स्रोत रहेको छ । यहाँ भ्रमण गर्ने पर्यटकले नै देशको अर्थतन्त्रमा ठूलो योगदान पु¥याएको छ । नेपालमा पनि पर्यटन क्षेत्रलाई नयाँ शिराबाट सोच्न सके हाम्रैजस्तो गरिब देशले आर्थिक उन्नति गर्ने कुरामा कुनै सन्देश छैन । तर, दुर्भाग्य यसको तयारी भने अत्यन्त कमजोर र फितलो महसुस मात्र होइन अनौठो रहेको छ ।

भ्रमण वर्ष २०२० को प्रचारप्रसारका लागि नेपालबाहिर आयोजना गरेका अधिकांश कार्यक्रमले विदेशी पर्यटक र मानिसलाई आकर्षित गर्न सकिरहेको छैन । दूतावासले गरेको अधिकांश कार्यक्रमको सहयोगीको रूपमा गैरआवासीय नेपाली सङ्घ रहेको छ । कार्यक्रमहरूमा यिनकै प्रतिनिधिहरूको हालिमुहाली देखिन्छ । तर, दुर्भाग्य ! यिनै गैरआवासीय नेपाली सङ्घले सञ्चालन गरेको होटेल र रेष्टुराँमा भिजिट नेपाल २०२० को पर्चा पोस्टर टाँसेको वा राखेकोसमेत देखिँदैन ।

पर्यटन वर्ष घोषणासँगै पर्यनका लागि लक्षित समूह कुन हो भन्ने कुरा विदेशी दूतावासले नबुझेको देखिन्छ । हामीले स्वदेशी पर्यटकहरूलाई आकर्षित गर्न खोजेको हो वा विदेशी ? आयोजक प्रस्ट हुन जरुरी छ । त्यस्तै प्रचारप्रसारका लागि प्रवद्र्धनात्मक क्रियाकलापहरूको पहिचान गरी विदेशी पर्यटकहरूलाई आकर्षित गर्न जरुरी थियो । यस्तो देखिएन । यसबाट दूतावासहरू देशको ढुकुटी सक्नेबाहेक नयाँ पर्यटकहरूलाई नेपाल पर्यटकीय दृष्टिकोणले उत्तम देश हो है भन्ने बुझाउनु नसकेको देखिन्छ । भ्रमण वर्ष घोषणासँगै पर्यटकलाई आवश्यक पहिलो यातायात, दोस्रो आवास र तेस्रो पर्यटन गन्तव्य हुन् । तर, यातायात क्षेत्र भने अस्तव्यस्त देखिन्छ ।

पर्यटकहरूले नेपालमा हवाईमार्गबाट पाइला टेक्ने पहिलो स्थान भनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो । सरकार र सरोकारवालाहरूले विमानस्थलबारे जति नै प्रचारप्रसार गरे पनि त्यहाँ उदेकलाग्दो छ । जब विदेशी र स्वदेशीहरू विमानस्थलबाट ओर्लिन्छन्, अध्यागमनको बेतिथिबाट जोकोहीलाई पनि दिक्क लाग्ने अवस्था छ ।

कुनै पनि यात्रु विमानस्थलबाट बाहिर आउँदा पाँचवटा घेरा पार गर्नुपर्छ । पहिलो अध्यागमन, दोस्रो ‘मेटल फी जोन’, तेस्रो सामान लिने र चौथो ग्रिन च्यानल र अन्तिम ट्याग भिडाउने ठाउँ । यी तीनवटै स्थानका आफ्नै कथा छन् । लामो दूरी पार गरेर आएका यात्रुहरूलाई यी पाँच घेरा पार गर्न कति समय लाग्ला ? यो अनुमान गर्ने विषय हो ।

अध्यागमन पर्यटकका लागि पहिलो बिन्दु हो । जब पर्यटक प्रवेशाज्ञाका लागि लाइन बस्न खोज्छन्, अनि अस्तव्यस्त हुन्छन् । कारण हो नेपाली मूलका विदेशी नागरिक । यिनीहरू प्रायः लाइन बस्दैन । बनेको लाइन पनि भत्काउँछन् । लेन अनुशासन पालना नगरेकै कारण लाइन बिग्रन्छ र अरू विदेशी पर्यटकहरू पनि अलमलमा पर्दछन् । त्यस्तै लाइन बस्नका लागि छेकबारसमेत हुँदैन ।

दोस्रो हो ‘मेटल फ्री जोन’ अर्थात् जहाँ पर्स, बेल्ट, झोला, टोपी, मोबाइल आदि एक्सरे मेसिनबाट परीक्षण गरिन्छ । यो स्थान आफैँमा आवश्यक छ । भ¥याङको पश्चिम–उत्तर कुनामा रहेको यो स्थानमा जम्मा दुईवटा एक्सरे मेसिन छ । स्थान आफैँमा सानो छ । तीन–चारवटा जहाज एकैपटक अवतरण गरेमा यहाँ करिब आठ सय यात्रु लाइन बस्नुपर्ने हुन्छ । सामान राख्नका लागि एउटा सानो ट्रली छ । यसरी अरूले ट्रे लिँदा बाँकी यात्रुले लामो समयसम्म पर्खनुपर्ने अवस्था छ ।

तेस्रो स्थान भनेको सामान लिने ठाउँ हो, यो ठाउँमा पनि यात्रु कम्तीमा आधा घन्टा लाइन बस्नुपर्छ । सामान राख्नका लागि ट्रलीहरू भए तापनि यी पर्याप्त छैनन् । यात्रु सङ्ख्याका आधारमा ट्रलीको व्यवस्था गर्न उपयुक्त देखिन्छ । त्यस्तै, चौथो स्थान भनेको ग्रिन च्यानल हो, जहाँ यात्रुहरूको सामानको भन्सार जाँच गरिन्छ । यो ठाउँमा एउटा मात्र एक्सरे मेसिन छ । यो ठाउँमा प्रायः मानिसको तजबिजमा सामान जाँच हुन्छ । यहाँ पनि ठेलमठेलकै अवस्था हुन्छ भने पाँचौँ स्थान हो– यात्रुको सामानको ट्याग भिडाउने । यहाँ तीन–चारजना बाह्य कर्मचारी हो या सहयोगी हुन्छन् । यिनीहरूले सम्पूर्ण यात्रुहरूको सामानको ट्याग जाँच गर्दछन् ।

यसरी एकजना यात्रु भनौँ या पर्यटकले पहिलो स्थानमै घन्टौँ समय लगाउँदा देश, सरकार र प्रशासनप्रति कस्तो मानसिकता बनाउला ? थकित शरीरले कस्तो महसुस गर्ला ?

भ्रमण वर्षको प्रारम्भसँगै यी र यस्ता विषयमा पनि ध्यान दिन जरुरी छ । अहिले जुन अनुपातमा विदेशी पर्यटक नेपाल आउँछन्, उनीहरूलाई सरल र सहज वातावरण बनाएमा पक्कै पनि उसले अर्को व्यक्तिलाई नेपालबारे भन्ने छ, एकजना पर्यटकले अर्को एकजनालाई आकर्षित गर्न सक्यो भने नेपालमा आगामी वर्षहरूमा पर्यटकहरूको सङ्ख्यामा वृद्धि नहुने कुरै छैन । दूतावासमार्फत पचासौँ करोड रुपैयाँ खर्च गर्नुभन्दा यस्ता कुरामा समेत ध्यान दिँदा खर्च कम, उपलब्धि ज्यादा र देशको अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान बढ्ने कुरामा शङ्कै छैन ।