दरबारभित्र भएको संसार हल्लाउने महान् विद्रोह !

दरबारभित्र भएको संसार हल्लाउने महान् विद्रोह !


■ डिल्ली अम्माई

‘आस्था वा निष्ठाको निर्णय’ भन्दै ‘द ड्युक अफ ससेक्स’ ह्यारी र उनकी श्रीमती द डचेज अफ ससेक्स मेघनले दरबारबाट विद्रोह गरे । मेघन उनले कल्पनै नगरेको संसारकै पुरातन दरबारिया अनुशासनको घनचक्करमा पिसिइन् । उनी एक कलाकार त्यो पनि हलिउडको । सधैं दर्शकहरूलाई सुम्सुम्याउनु पर्ने, कसैको आदेशबिना आफ्ना शुभचिन्तकहरूसँग भेट गर्न पाइने र दर्शकहरूसँग जोडिइरहँदा मन रम्ने पेशा । तर त्यस्तो सर्वसाधारणहरूको बीचमा हुर्केको, बढेको र ख्याति कमाएको कलाकार दरबारभित्रको निरङ्कुश अनुशासनभित्र बस्न असहज मान्नु स्वाभाविक नै हो । तर मेघनले विश्वकै दर्बिलो र शक्तिशाली बकिङ्घम दरबारबाट आंफूले मात्रै विद्रोह गरिनन्, शाही परिवारको पाँचौँ रोलक्रममा रहेका ‘द ड्युक अफ ससेक्स’ ह्यारीले पनि उनीसँगै विद्रोह गरे । प्रमुख कारण दरबारका कट्टरपन्थी र बेलायतका कुलीनहरूको रंगभेद नै देखियो ।

ह्यारी र मेघनका एक छोरा पनि छन् आर्ची । उनलाई चिम्पान्जीसँग तुलना गर्दै बिबिसीका एक प्रस्तोता दानी बेकरले विवादास्पद ट्वीट गरे । अस्पतालबाट निस्कँदा ह्यारी र मेघनले एउटा चिम्पान्जी बोकेर ल्याएको तस्बिरले बेलायतका अधिकतम रंगभेदीहरूको प्रतिनिधित्व गरेको थियो । मेघन गोरा परिवारकी हैनन् । उनको रंग कालो छ । आर्चीलाई चिम्पान्जीसँग गरिएको तुलनाले कुलीन गोराहरूको मनमा कतिसम्म रंगभेदी घृणा छ भन्ने कुराको प्रतिनिधित्व गर्छ ।

त्यस्तै, दरबारियाहरूले मेघनलाई निरन्तर खेदिरहेको हुनाले त्यो उनका श्रीमान् ह्यारीलाई समेत सैह्य हुने कुरा भएन । त्यस्तै, शाही परिवारको नयाँ सदस्य भएपछि हुने तनावबाट मेघन कसरी जुधिरहेकी छिन् भनेर उनलाई प्रेसमीटमा प्रश्न सोध्दा जवाफमा भनेकी थिइन्– ‘मैले निकैअघि एच (ह्यारी)लाई बाँच्नु मात्रै पर्याप्त नहुने बताएकी थिएँ । जीवनको उद्देश्य बाँच्नु मात्रै होइन । तपाईं निरन्तर अघि बढ्नुपर्छ ।’ त्यतिबेला ह्यारीले आवेगमा भनेका थिए, ‘मैले अतीतमा आफ्नी आमा गुमाइसकेको छु र अब म आफ्नी श्रीमतीलाई त्यही शक्तिको शिकार भइरहेको देखिरहेको छु ।’

यसले के देखाउँछ भने दरबारभित्रको रंगभेद, खिसीट्युरी र मानसिक यातनाले सीमा नाघ्दै गर्दा दुवैले सामान्य नागरिकको जीवनलाई सर्वोत्तम सम्झे र दरबारिया जीवनलाई त्याग्ने निर्णय गरे । त्यो विद्रोह निरन्तर प्रताडनापछिको क्रमभङ्गता हो । लोभी मान्छे राजकीय पदको लागि स्वाभिमान समेतलाई दाउमा राख्छ तर ह्यारीले ‘आस्था वा निष्ठा’को लागि राजकीय सम्मानसहित बेलायत दरबारको पाँचौ सम्मानित पद त्यागिदिए । आस्था र निष्ठा अर्थात् स्वाभिमानको लागि यो पदको कुनै औचित्यता रहेन ।

आफ्नी आमा राजकुमारी डायनाको सन् १९९७ मा कार दुर्घटनामा भएको अचानक मृत्युबारे कुरा गर्दै राजकुमार ह्यारीले भने, ‘मैले देखेको छु, मेरो प्रिय व्यक्तिलाई कसरी एक वस्तुको रुपमा पेश गर्न थालियो जसका कारण मानिसहरूले उनलाई एक जिउँदो व्यक्तिलाई झैँ व्यवहार गर्न छाडेका थिए ।’ हो, उनकी आमा राजकुमारी डायनालाई यति खेदियो कि भाग्दाभाग्दै उनले जीवन नै सकिन् । मेघनको पनि त्यो अवस्था नआओस् भनेर उनले साहसिक विद्रोह गरे । आफ्नो छोराको लागि, श्रीमतीको लागि र उनले भनेबमोजिम आमाको लागि ।

दरबारको संलग्नतामा भएको एउटा कार्यक्रममा उपस्थित हुँदा मेघनले आफ्नो कारको ढोका आफैंले बन्द गरिन् । त्यस सन्दर्भलाई उनले ‘शाही प्रोटोकल’ तोडेको बताइयो । औपचारिक पहिरन वा अन्य आरोप धेरै लागे । त्यसको मुख्य कस रंगभेद नै थियो ।

विद्रोह औपचारिकता चाहनेको लागि अप्रिय हुन्छ । त्यो सधैं एकै प्रकारको हुँदैन । कहिले सन्त क्लेडियसको विद्रोह जस्तो प्रेमिल हुन्छ भने कहिले पारसको विद्रोहजस्तो बहुलठ्ठीपूर्ण, अलिक अराजक देखिने, नशिलो हुन्छ । जोर्डनी राजाकी सौतेली बहिनी तथा दुबईका सम्राटकी पत्नी हया जसको विद्रोह सन्तानको भविष्यको लागि भयानक खतरा मोलेर गरेको विद्रोह थियो । त्यो सहासिक विद्रोहलाई समेत खिसिट्युरी गर्ने मानिसको संसारमा कमी छैन ।

मेघनले भनेकी थिइन्– ‘मैले निकैअघि एच. (ह्यारी) लाई बाँच्नु मात्रै पर्याप्त नहुने बताएकी थिएँ । जीवनको उद्देश्य बाँच्नु मात्रै होइन । तपाईं निरन्तर अघि बढ्नुपर्छ ।’ त्यतिबेला ह्यारीले आवेगमा भनेका थिए, ‘मैले अतीतमा आफ्नी आमा गुमाइसकेको छु र अब म आफ्नी श्रीमतीलाई त्यही शक्तिको शिकार भइरहेको देखिरहेको छु ।’

जुन कारणले जहाँ गरिएका विद्रोह भए पनि मुलतः त्यसको उद्देश्य स्वतन्त्रतापूर्वक जिउन चाहनु हो । जब मानव नसामा स्वतन्त्रताको तरङ्ग रगतसँगै बग्न थाल्छ त्यसपछि राजा र रङ्कको भेद विलुप्त हुँदै जान्छ र त्यो सन्यासीझैँ समानता खोज्दै प्रकृतिको काखमा आइपुग्छ । दरबारबाट प्रकृतितर्फ हुत्तिँदा पूर्वयुवराज पारस शाहलाई कसैले ‘मति बिग्रेको’ भने, ह्यारीलाई बेलायती कुलीनहरूले त्यही आरोप लगाउँदै छन् । शिशु सन्तानसहित ह्यारीलाई रंगभेदको भूमरीमा पारेर चुट्नु चुटियो । उनको रगतमा बगेको स्वतन्त्रताको मूल्य जहानियाँ राजतन्त्रको खोक्रो औपचारिकताबाट प्राप्त नहुँदा देखिएको विक्षिप्तता कसले देख्नु ! त्यो विद्रोहभित्रको मूल्य यो युगले पहिचान गर्ने गतिमा थिएन र अझै केही काल गर्दैन पनि ।

मैले ‘कैदीहरूको पनि नरक हो दरबारिया जीवन’ नामक अघिल्लो लेखमा भनेको थिएँ, अझै लामो समयसम्म शाही विद्रोहीहरूलाई बेलुनझैँ उडाइएला, उचालिएला, पछरिएला । तर, उनको त्यो विद्रोहभित्रको मूल्य टाट पल्टिँदै गरेको कुलीन जमिन्दारहरूको युग सकिएपछि खोज्न थालिने छ । (हेर्नुहोस्-  स्वतन्त्रताको मूल्यको कसीमा पारसको विद्रोह ! ) प्रेमको लागि मृत्युदण्ड पाएका सन्त क्लेडियसको विद्रोही स्वर फ्लेमेनियाको चिहानबाट ब्युँझन झन्डै १८ सय वर्ष लाग्यो भने धीरेन्द्र, पारस, हया, शेख लातिफाहरूको विद्रोह वा विक्षिप्तताबारे आगामी युगले कहीँ केही मूल्य भेट्टाउनेछ । स्वतन्त्रताप्रेमीहरूले ‘दरबारिया जीवन कैदीहरूको पनि नरक हो’ भन्ने कुरा स्वीकार गर्दै त्यस्तो जीवनको परित्याग गर्नु पनि साहसिलो विद्रोह हो । यो यो कुरा यहाँ राख्दा धेरै औपचारिकतामा रमाउने पदलोलुपहरू त अझै पनि हाँस्ने नै छन् ।

दरबारिया विद्रोहमा हयाको विद्रोह पनि कम सहासिलो छैन । जोर्डनी राजाकी सौतेली बहिनी तथा दुबईका सम्राटकी पत्नी हया जसको विद्रोहले संसारका मानिस तरङ्गित बने । हयाले मृत्यु वा विद्रोह भनेर दरबारिया पर्खाल नाघ्ने साहस गरिन् । त्यो सकसपूर्ण विद्रोहको मूल्य उनी आफैँलाई बाहेक कसलाई पो थाहा होला र ! उनका दुई छोरीको स्वतन्त्रता रक्षाका लागि उनले दरबारको सम्पूर्ण औपचारिक सम्मान त्यागिन् । अरब राजदरबारको औपचारिक जेल संसारबाट मानवीय स्वतन्त्रताको लागि विद्रोह गरेकी शेख मोहम्मदकी छोरी सेखा लातिफाले जुन राजकीय औपचारिकतालाई ‘नरक’ भनेर सम्बोधन गरिन् । त्यहीँ नरकबाट विद्रोह गर्दा शाही विद्रोहीहरूलाई निम्छारिलो देखाउन प्रतिष्ठित मिडियाकर्मी (टेबलोइड न्युजपेपर) समेत लाग्नु बिडम्बना हो । साहासिक विद्रोहका कथाहरू बेग्लाबेग्लै भएपनि लक्ष स्वतन्त्रता नै हो । सामाजिक न्यायसहितको सम्मानपूर्ण प्राकृतिक स्वतन्त्रताको मुल्यमा जीवन पनि त्याग्न पछि पर्दैन मानवले । मानव जगतमा स्वतन्त्रताको आकास सीमारहित हुनुपर्छ र मानिसको भित्री आकांक्षा सदैव त्यो रहन्छ । कुलीन शाही औपचारिकता सदैव रंगभेदी, वर्गीय र कृत्रिम विकारयुक्त हुन्छ । त्यो दरबारिया जहाँनिया जन्जिरभित्रको बाध्यता हो ।

तसलिमाले मुस्लिम महिला पिसिएको धार्मिक जाँतोको हातो भाँच्दा उनीमाथि फताहा जारी गरियो । सभ्य समाजका राजकुमारी डायनाहरू पर्खालभित्रको औपचारिकता तोड्दै गर्दा सुरुङभित्र प्राण त्यागे । ह्यारी, धीरेन्द्र, पारसहरूले चाहेको स्वतन्त्रताको मूल्यबारे कतै चर्चा भएन, तर निराशाका क्षणहरूमा बिताएका पीडाहरूको खोजी गर्नुको सट्टा नसाका साथ जीवन सक्याएको भनेर कुलीनहरूले खैजारी पिटे । मान्छेको जीवनमा स्वतन्त्रता र समभावभन्दा बहुमूल्य सम्पदा केही छैन ।

प्राकृतिक स्वतन्त्रलाई अति कैद गर्दै लगियो भने त्यसको परिणाम सकारात्मक हुँदैन । स्वतन्त्रता उसको प्राकृतिक अधिकारको कुरा हो । तर, दरबारियाहरूको जीवन जनसाधारणभन्दा भिन्न, भद्दा, नितान्त कृत्रिम बनाइएको हुन्छ । उनीहरूको स्वतन्त्रता पिँजडाभित्र मात्र हुन्छ । त्यसैले दरबारियाहरू प्रायः मनोरोगी हुन्छन् । त्यो कुरा बाहिर भनिँदैन, तर सत्य कुरा के हो भने प्राकृतिक स्वतन्त्रता कुल्चिएपछि मानसिक कोषहरू शिथिल हुँदै जान्छन् र बाहिरी संसार अपरिचित बन्दै जान्छ । मानव वा त्यो परिवेशको मान्छे घरपालुवा बन्दै जान्छ । अन्ततः ऊ मनोरोगी हुन्छ र एउटा कडक अम्मलको सहाराले जीवन गुजार्न बाध्य हुन्छ वा पारिन्छ ।

व्यक्तिगत स्वतन्त्रताको अभावमा मान्छे बरालिन्छ र आफैँभित्र हराउन थाल्छ । त्यो क्रमशः मनोरोगको शिकार हुन्छ । सधैँ जनसाधारणको संशयमा बाँच्न चाहन्छ मान्छे, प्रकृतिप्रेमी र मानवीय मूल्यको महत्व थोरै भए पनि चिनेको हुन्छ मानवीय चेतनाले । ‘द ड्युक अफ ससेक्स’ ह्यारीले क्यानडामा रहेकी उनकी श्रीमती द डचेज अफ ससेक्स मेघनसँग नयाँ जीवन भयरहित, चाहेजस्तो स्वतन्त्र र सामाजिक बनोस् । बेलायतमा रंगभेदको पर्याय बनाउन खोजिएका पूर्व शाही बाबु आर्चीको जीवन आमा–बुबाको चाहनाअनुरुप ‘प्रगतिशील’, ‘नयाँ भूमिकासहित’, ‘आर्थिक रुपमा आत्मनिर्भर र भब्य बनोस् ।