किन चर्कन्छ शिर काङ्ग्रेस नेतृत्वको ?

किन चर्कन्छ शिर काङ्ग्रेस नेतृत्वको ?


नेपाली काङ्ग्रेसका केन्द्रीय तहका कतिपय नेता बेला–बेला भन्ने गर्छन्, ‘अरूले हाम्रो पार्टीको चिन्ता किन गर्नुपरेको ?’ पछिल्लो समय काङ्ग्रेस सिद्धान्तच्युत भयो, आफ्नो बाटो छोड्यो, ऐतिहासिक छवि गुमायो, प्रतिपक्षी भूमिकामा अत्यन्त कमजोर साबित भयो र हुँदा–हुँदा सत्तारुढ कम्युनिस्ट पार्टीको पिछलग्गु नै बन्न पुग्यो जस्ता आलोचना सार्वजनिक तवरमा भएको पर्याप्त सुनिन्छ, र यसैको प्रतिक्रियास्वरूप काङ्ग्रेस नेताबाट उल्लिखित गुनासो आएको बुझ्न सकिने कुरा हो । बुझ्न गाह्रोचाहिँ के छ भने आफ्नै कार्यकर्ता, समर्थक र शुभचिन्तकहरूबाट काङ्ग्रेसको हित चिताएर गरिएका टीका–टिप्पणीले काङ्ग्रेस नेताहरूको टाउको किन दुखाउँछ ?

आफ्ना समर्थक तथा शुभचिन्तकले मात्र नभई अन्य दलसम्बद्ध व्यक्तिले पनि काङ्ग्रेसको कमजोरी औँल्याएर आलोचना गर्न सक्छन् । यस्तोमा आफूलाई जिम्मेवार नेता ठान्नेहरूले टाउको दुखाउँदै प्रतिआलोचनामा उत्रने कि पार्टीको कमी–कमजोरीबारे चिन्तन–मनन गरी सच्चिएर अघि बढ्न माथापच्ची गर्ने ? सवाल सामान्यझैँ लागे पनि यतिबेला नेपाली काङ्ग्रेस नेतृत्वले यसप्रति अत्यन्त संवेदनशील भई सोच्न, सच्चिन र पार्टीको ऐतिहासिक विरासत धान्न जोड लगाउनैपर्ने अवस्था छ ।

आज कम्युनिस्ट सरकारको आलोचना बेस्सरी भइरहेको छ । विश्लेषक, बुद्धिजीवी, स्वतन्त्र सचेत तप्काका अलावा आमनागरिक तहबाट पनि सरकारप्रतिको असन्तुष्टि छताछुल्ल हुँदै छन् । यहाँसम्म कि स्वयम् नेकपाका कैयन नेता–कार्यकर्ता पनि आफ्नो पार्टीको सरकार ठाउँ–ठाउँमा चुकेको स्वीकार गरिरहेका भेटिन्छन् । यसरी सरकारको आलोचना बढ्नुमा प्रकारान्तरले प्रमुख प्रतिपक्षी काङ्ग्रेसको पनि विशेष भूमिका छ । यो कसरी भने, यदि काङ्ग्रेसले आफ्नो प्रतिपक्षीय भूमिका खरो–दह्रो ढङ्गले निर्वाह गरिदिएको भए सरकार यसरी जनभावना र जनचाहनाविपरीत बहकिन पाउने थिएन सायद । जहाँ–जहाँ सरकारले गल्ती गरेको हुन्छ, त्यहीँ–त्यहीँ प्रतिपक्षी काङ्ग्रेसको समेत संलग्नता रहेकोबारे सत्ताधारीहरूबाटै चर्को स्वरमा सार्वजनिक गरिन्छ । वाइडबडी घोटाला, एनसेल लाभकर छुट प्रकरण, गोकर्ण रिसोर्ट काण्डलगायत हरेकजसो ठूला भ्रष्टाचार मामलामा सरकारको विरोध गर्दागर्दै विरोधीहरू काङ्ग्रेस नेतृत्वकै कछाड तान्नुपर्ने अवस्थामा पुग्छन् । यसले नैतिक रूपमै पनि प्रतिपक्षीय भूमिका निर्वाह गर्न काङ्ग्रेसलाई कठिन अवस्थामा पुऱ्याइदिएको छ ।

जहाँ–जहाँ सरकारले गल्ती गरेको हुन्छ, त्यहीँ–त्यहीँ प्रतिपक्षी काङ्ग्रेसको समेत संलग्नता रहेकोबारे सत्ताधारीहरूबाटै चर्को स्वरमा सार्वजनिक गरिन्छ । वाइडबडी घोटाला, एनसेल लाभकर छुट प्रकरण, गोकर्ण रिसोर्ट काण्डलगायत हरेकजसो ठूला भ्रष्टाचार मामलामा सरकारको विरोध गर्दागर्दै विरोधीहरू काङ्ग्रेस नेतृत्वकै कछाड तान्नुपर्ने अवस्थामा पुग्छन् । यसले नैतिक रूपमै पनि प्रतिपक्षीय भूमिका निर्वाह गर्न काङ्ग्रेसलाई कठिन अवस्थामा पुऱ्याइदिएको छ ।

नैतिक रूपमा चुकेर मात्र नभई क्षमताको अभावले पनि काङ्ग्रेस आज जनताको दृष्टिमा गिर्न पुगेकोमा सन्देह गर्नै पर्दैन । सरकारले के गल्ती गऱ्यो, केमा कसरी चुक्यो र उसले गर्नुपर्ने के थियो भनी आफ्नो धारणा प्रस्टसँग राख्ने सवालमा काङ्ग्रेस नेतृत्व ‘जिरो’ नै प्रतीत भइरहेको छ । वैचारिक–सैद्धान्तिक धरातलबाट विचलनमा परिसकेका काङ्ग्रेस नेतासँग न बोल्ने कला छ, न बुझ्ने र बुझाउने सीप नै । न पढ्छन्, न लेख्छन्, न त गहिरो राजनीतिक विश्लेषण गरेर आफ्ना कार्यकर्ता र आमजनतालाई बुझ्ने गरी सन्देश प्रवाह नै गर्न सक्छन् । एक–दुई अपवादलाई छोडेर पूरापूर काङ्ग्रेस नेताको हालत यस्तै छ । बोल्न–लेख्न जान्ने, कार्यकर्ता र जनतालाई आकर्षित गर्न सक्ने खुबी भएकालाई नेतृत्व गर्ने जिम्मेवारी नै दिइँदैन र जिम्मेवारी दिइएकाहरूलाई पनि पेण्डुलम तुल्याएर खसाल्ने कसरत दर्बिलै ढङ्गले गरिएको देखिन्छ । गुट बनाएर आसेपासे र चाप्लुसी–चाकडीदारलाई समेट्दै भाँडभैलो मच्चाउन भने निकै आउँछ काङ्ग्रेस नेतृत्व तहमा रहेकाहरूलाई । र, यस्तै–यस्तै निकम्मा शीर्ष पात्रहरूबीच पार्टीको बागडोर आलोपालो घुमिरहने काङ्ग्रेस–परम्परा देखिँदै आएको छ । यस्तो पार्टीले अब देश र जनताको निम्ति कस्तो योगदान देला भनेर अपेक्षा गर्ने ?

पार्टी कमजोर भएको यथार्थ काङ्ग्रेस नेतृत्वले अझै स्वीकार गरिरहेको छैन । काङ्ग्रेस भुत्ते र निकम्मा भयो भनी औँल्याउनेहरू उल्टै काङ्ग्रेस नेताका दृष्टिमा निकम्मा हुन् ! काङ्ग्रेस शीर्ष नेतृत्वले यतिबेला दाबी गर्न सक्छ कि हामी सुध्रिइसक्यौँ, पार्टी पूरै जागृत भइसक्यो, हामीले महाधिवेशनको मितिसमेत तोकिसक्यौँ ! तर, छर्लङ्गै छ कि महाधिवेशनको मिति बाध्यताले मात्रै तोकिएको हो, पार्टीलाई पुनर्जागृत तुल्याउने कुनै नीति–रणनीतिका आधारमा होइन । काङ्ग्रेसको यो हविगतलाई हेरेर अब विरोधीले मात्र नभई शुभेच्छुक र समर्थकले समेत आस मारिसकेका छन् । आफूलाई प्रजातन्त्रको पहरेदार दाबी गर्ने यस दलको लुखुरे चालका कारण नागरिक तप्का बरु स्वयम् जागृत हुँदै छन् । र, यो समयको माग पनि हो । यस परिवेशमा अब पनि कसैले आलोचना गऱ्यो भनी काङ्ग्रेस नेतृत्वले टाउको दुखाउँछ भने त्यो अझ छिटो अवसान हुने लक्षण मात्र हो भनी बुझ्दा सायद नै फरक पर्ला !