गृह मन्त्रालयले तय गरेको नीतिअनुसार काम गर्ने नवनियुक्त आईजीपीको प्रष्टोक्ति

गृह मन्त्रालयले तय गरेको नीतिअनुसार काम गर्ने नवनियुक्त आईजीपीको प्रष्टोक्ति


नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले कानून कार्यान्वयमा दत्तचित्त भएर प्रहरी संठनलाई अगाडि बढाउने बताएका छन् ।

सरकारले आफूलाई महानिरीक्षकमा नियुक्त गर्ने निश्चित भएपछि मंगलबार (२८ माघ) दिउँसो साढे एक बजेको फ्लाइटबाट काठमाडौं आएका ज्ञवालीले साँझ सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै आफूले कार्यभार सम्हालेपछि भावी कार्ययोजना बनाएर अघि बढ्ने जानकारी दिए । गृह मन्त्रालयले तय गरेको नीति तथा कार्यक्रम कार्यान्वयनमा मूलतः आफ्नो जोड रहने उनको भनाई थियो ।

महानिरीक्षक नियुक्त हुने बेलासम्म डिआईजी ज्ञवाली प्रदेश १ को प्रदेश प्रहरी कार्यालयका प्रमुखको रूपमा कार्यरत थिए ।.

ज्ञवालीले समाजमा शान्ति कायम गर्नु आफ्नो प्रमुख प्राथमिकताको विषय हुने जानकारी दिँदै नेपाल प्रहरीले गृह मन्त्रालयको नीति तथा कार्यक्रम लागू गर्ने कार्यमा कुनै कसर बाँकी नरहने दोहोऱ्याए ।

आफू आईजी नियुक्त हुनुलाई नियमित प्रक्रियाको रुपमा लिएको प्रतिक्रिया दिँदै सरल तथा कम बोल्ने स्वभावका नवनियुक्त आइजीपी ज्ञवालीले समाजमा शान्ति सुरक्षा प्रदान गरी नागरिकको सुरक्षामा प्रहरी संगठन हरतहरले लाग्दै आएको र आगामी दिनमा पनि यसका लागि कटिबद्ध रहने बताए ।