सदस्यहरूद्वारा लगानी फिर्ता-फणीन्द्र संगम

सदस्यहरूद्वारा लगानी फिर्ता-फणीन्द्र संगम


[युनिटीले आफ्नो वैधता पुष्टि गर्न सकेन]
युनिटी लाइफ इन्टरनेसनल प्रालिले आफ्नो वैधताबारे पुष्टि गर्न नसकेपछि यसमा आबद्ध सदस्यहरूले आफ्नो सदस्यताबापतको लगानी रकम फिर्ता गर्न थालेका छन् ।
प्रालिले आफ्नो नेटवर्किङ व्यवसाय गैरकानुनी सञ्चालन गरेको पुष्टि भएपछि इलाम शाखासँग आबद्ध सदस्यहरूले आफ्नो रकम फिर्ता गर्न थालेका हुन् । प्रालिको अवैध कारोबारसम्बन्धी जिल्लाका सञ्चारमाध्यमहरूले दुई साताअघिदेखि निरन्तर समाचार सम्प्रेषण गर्दै आएपछि सदस्यहरूले प्रालिको वैधताबारे थाहा पाएका थिए । त्यसपछि इलाम शाखा कार्यालयमा रकम फिर्ता गर्न दबाब दिँदै सदस्यहरूले निवेदन गरेका थिए । यसका लागि माओवादीको आमहडतालको समयमा पनि विभिन्न स्थानबाट पैदल हिँडेरै सदस्यहरू सदरमुकाम आएका थिए ।
युुनिटीको इलाम शाखामा देखिएको असहज परिस्थितिबारे बुझ्न शनिबार इलाम आइपुगेका केन्द्रीय अध्यक्ष काशीराम गुरुङ -प्रसाद)सँग सदस्यहरूले तीब्र आक्रोश पोखे र आफ्नो रकम तत्काल फिर्ता गर्न माग गरे । त्यसपछि प्रहरीले गुरुङलाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालयमा कागज गराएर सदस्यको शतप्रतिशत रकम फिर्ता गराउने र चाहेको समयमा प्रशासनमा उपस्थित हुने सर्तमा साँझ छोडिएको थियो । सोही दिन युनिटीले इलामको नेपाल एसबीआई बैंकमा इलाम शाखा अध्यक्ष तीर्थ ढकाल र युनिटी लाइफ अस्पतालका अध्यक्ष खिबराज दाहालको नाममा दुई करोड रुपैयाँ जम्मा गर्‍यो । आइतबारदेखि सदस्यहरूले आफ्नो लगानी रकम फिर्ता लिन थालेका छन् । गुरुङले नेटवर्किङ व्यवसाय गैरकानुनी भएको स्वीकार्दै भने, ‘कतै हामी गलत बाटोमा त छैनौँ जस्तो लाग्दैथ्यो, मिडियाले आँखा खुलाउने काम गर्‍यो, अबको एक महिनामा सुधार्ने प्रयास गर्नेछौँ नत्र हामीलाई जुनसुकै कारबाही गर्नुस् ।’
तीन महिनाअघि सदस्य बनेका इलाम जिर्मलेका सुरेन लिम्बूले युनिटीको नियत बल्ल थाहा पाएको बताएका छन् । सेवाग्राहीलाई लाभ दिनेभन्दा ठग्ने काम गरिएको लिम्बूको भनाइ छ । यस्तै, बरबोटेका गोविन्द ढुङ्गेलले सयकडा तीन रुपैयाँ ब्याजमा ऋण काढेर १५ हजारमा सदस्य बनेको भए पनि आफूले कुनै सेवा नपाएको गुनासो गरे । ‘महिनैपिच्छे ऋणको ब्याज तिरिरहेको छु, तर युनिटीले कुनै सुविधा दिएको छैन,’ उनले भने । मंगलबारेका तेजप्रसाद बास्तोलाले युनिटीले प्रलोभन देखाएर दुई नम्बरी काम गरेको आरोप लगाएका छन् । १५ हजार तिरेर सदस्य बने पनि रसिद भने १३ हजारको मात्र दिने गरेको सदस्यहरूले बताएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयमा ०६२ सालमा दर्ता भए पनि नेटवर्किङका लागि वाणिज्य विभागबाट अनुमति नलिएपछि सो प्रालि गैरकानुनी भएको पुष्टि भइसकेको छ ।
यता, सङ्घीय लिम्बुवान राज्य परिषद् र मञ्चसम्बद्ध परिषद्ले युनिटीको सम्पूर्ण कामकाज बन्द गर्न चेतावनी दिएको छ । लिम्बुवान क्षेत्रभित्रका जनतालाई ठगी गर्ने युनिटीको अब कुनै औचित्य नरहेको भन्दै परिषद्ले अरुणपूर्वका नौ जिल्लामा भए-गरेका यस्ता ठगीकार्य आफूहरूलाई मान्य नहुने जनाएको हो । परिषद्का केन्द्रीय सदस्य गोपाल थेवेले अनेकौं प्रलोभनमा परेका युनिटीका सम्पूर्ण सदस्यले रकम फिर्ता पाए पनि वैध नठहरेसम्म इलाममा सञ्चालन हुन नदिने बताएका छन् । मञ्चसम्बद्ध परिषद्का केन्द्रीय सदस्य हरि श्रेष्ठले सदस्यको रकम पूर्णरूपमा फिर्ता नभइञ्जेलसम्म प्रशासनले अध्यक्ष गुरुङसहितका पदाधिकारीलाई निगरानीमा राख्नुपर्ने बताए ।
यस्तै, युनिटीको समाचार भ्रामक भएको भन्दै युनिटीका केही लिडरले इलामका सञ्चारमाध्यम र सञ्चारकर्मीलाई दिएको धम्कीप्रति नेपाल पत्रकार महासङ्घ इलाम शाखाले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको छ । सो विषयमा आफूहरूको कमजोरी स्वीकार्दै युनिटी अध्यक्ष काशी गुरुङ -प्रसाद)ले माफी मागेका थिए । युनिटीको वैधताबारे सञ्चारमाध्यमले निरन्तर खोजी गरिरहँदासमेत युनिटीले आफू कानुनसम्मत छु भनेर पुष्टि गर्न सकेको छैन । आफू गैरकानुनी छैन भनेर नागरिकलाई पुष्टि नगरेसम्म अब पनि युनिटीको क्रियाकलापलाई निरन्तरता दिने कि नदिने ? इलामका नागरिकले प्रश्न उठाएका छन् ।