दुर्लुङ पहिरोका मृतकहरुको सामूहिक अन्त्येष्टि

दुर्लुङ पहिरोका मृतकहरुको सामूहिक अन्त्येष्टि


पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङ काउलेमा शनिबार रातिको पहिरोमा परी ज्यान गुमाएका आठ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । उनीहरुमध्ये ६ जनाको मोदीवेणीमा र अन्य दुईको छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा दाहसंस्कार गरिएको हो ।

पर्वतको मोदीवेणीमा पाँच चिता बनाएर ६ जनाको दाहसंस्कार गरिएको छ । मृतकमध्ये ५३ वर्षीय तुलबहादुर र उनकी श्रीमती ५२ वर्षीया मीनकुमारी थापालाई एउटै चितामा र नाति सम्राट, नातिनी विविशालाई छुट्टाछुट्टै चितामा जलाइएको हो ।

त्यस्तै अर्को परिवारका ३२ वर्षीया कमला विक र उनकी छोरी आठ वर्षीया प्रमिशालाई पनि छुट्टाछुट्टै चिता बनाएर दाहसंसकार गरिएको थियो । एउटै गाउँका ६ जनाको एकैपटक दाहसंस्कार गरिएको यो नौलो घटना हो । दाहसंस्कारका लागि घाटमा सयौँको सङ्ख्यामा पुगेका नागरिक भावविह्वल बनेका राससले जनाएको छ ।

तुलबहादुर दम्पत्तीलाई छोरा अम्मरबहादुर थापाले दागबत्ती दिएका थिए । पहिरोमा आफ्नो छोरा सम्राट र विविशालाई गुमाएका उनमाथि छोराछोरीलाई पनि दागबत्ती दिनुपर्ने बाध्यता आइपऱ्यो । भक्कानिँदै एकैपटक जन्मदिने बाबुआमा र आफैँले जन्माएका छोराछोरीलाई दागबत्ती दिँदा उनको मन सम्हालिएको थिएन । कमला विक र उनकी छोरीलाई जेठाजु पर्ने चक्रबहादुर विकले दागबत्ती दिएका थिए ।

त्यसैगरी पहिरोमा पुरिएका आमाछोरा ३४ वर्षीय दिर्पा थापा र १७ वर्षीय विवेक थापाको बागलुङको जैमिनी नगरपालिकास्थित कालीगण्डकी किनारमा पर्ने जैमिनीघाटमा अत्येष्टि गरिएको छ । दिर्पा लकडाउनपछि छोरा विवेकसहित माइतीमा बस्दै आएकी थिइन् ।

बताइएअनुसार पहिरोले पुरिएका नौमध्ये १३ वर्षीय जेनिश विक अझै पनि भेटिएका छैनन् । शनिबार रातिदेखि नै खोजी गरिए पनि उनी अझै फेला नपरेका हुन् । आइतबार दिनभर खोजी भएको थियो भने सोमबार बिहानैदेखि खोजीकार्य थालिएको भए पनि निरन्तरको वर्षाले प्रभावित बनेको छ ।

दिनभर गाउँका सबै बासिन्दा मृतकको शव दाहसंस्कार गर्नका लागि मोदीवेणी घाटतर्फ लागे पनि सुरक्षाकर्मीले साँझ अबेरसम्म खोजी गरेको थियो । आज (२ असोज) बिहानबाट पुनः खोजी गर्न शुरु गरिने जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

ज्ञातव्य छ, गत शनिबार राति ८ बजे आएको पहिरोले स्थानीय तुलबहादुर थापा र कमला विकको परिवारलाई बगाएको थियो । थापा परिवारका ६ र विक परिवारका तीन जनाको परिवार पुरिएको थियो । थापा परिवारका ६ जनाकै शव फेला परेको छ भने विक परिवारका बालक अहिलेसम्म भेटिएका छैनन् ।