सोती घटनाका अभियुक्तहरूको बयान जारी

सोती घटनाका अभियुक्तहरूको बयान जारी


चौरजहारी नगरपालिका, सोती घटनामा अभियोग लागेका प्रतिवादीको बयान रुकुम अदालतमा जारी छ । सोमबारदेखि शुरु भएको बयानअन्तर्गत बुधबार (३ असार) थप १० जनाको बयान सकिएको रुकुम अदालतले जनाएको छ । यससँगै आजसम्म २१ जनाको बयान सकिएको छ ।

पक्राउ परेकामध्ये अब आठ प्रतिवादीको मात्र बयान बाँकी रहेको रुकुम अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिएका छन् । सोमबार दुई नाबालक र मङ्गलबार नौ जनाको बयान सकिएको थियो ।

प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस शुरु हुने स्रेष्तेदार बोहराको भनाइ छ । ‘पक्राउ परेका प्रतिवादीहरुको बयान भोलि(बिहीबार)सम्ममा सकिने देखिएको छ, बयान सकिएलगत्तै थुनछेक बहस शुरु हुने छ, समय भए भोलिबाटै पनि थुनछेक बहस शुरु हुन सक्छ’– उनले जानकारी दिए ।

उनका अनुसार बिहीबार बयान सकिन समय लागे शुुक्रबारदेखि थुनछेक बहस शुरु हुने छ ।

गत जेठ १० गते ६ जनाको ज्यान जाने गरी भएको घटनामा संलग्न भएको आरोप लगाउँदै जिल्ला सरकारी वकिल कार्यालयले रुकुम अदालतमा ३४ जनाविरुद्ध मुद्दा दर्ता गराएको छ । तीमध्ये दुई नाबालकसहित २९ जना पक्राउ परिसकेका छन् भने पाँच जना फरार छन् । चौँतीस जनामध्ये ३३ जनालाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, जातीय भेदभाव र छुवाछुतको कसुरमा मुद्दा दर्ता गरिएको छ भने एक जनाविरुद्ध मतियारको मुद्दा लगाइएको छ ।

यसैबीच सोमबार बयान र थुनछेक बहस सकिएका दुई नाबालकलाई भने मुद्दा पुर्पक्षका लागि बालसुधारगृहमा पठाउन अदालतले आदेश दिइसकेको बताइएको छ ।