दल नै राज्य, दल नै राष्ट्र, दल नै समाज : नयाँ नेपालको साझा पहिचान !

दल नै राज्य, दल नै राष्ट्र, दल नै समाज : नयाँ नेपालको साझा पहिचान !


■ केशवप्रसाद भट्टराई

१. पृथ्वीनारायण शाह, बहादुर शाहहरूले भूभाग होइन, राष्ट्र जोडेका थिए,
त्यसैले आन्तरिक सत्ता सङ्घर्षबाट उत्पन्न चुनौतीहरूलाई सामना गर्दै विशाल अङ्ग्रेज साम्राज्य र चिनियाँ साम्राज्यसँग समेत लड्दै राष्ट्रको एकीकरण गरिरहन सफल भएका थिए ।
उनीहरूले राष्ट्रको एकीकरण गरेकैले त्यसपछिका कठिन क्षणहरूदेखि आज यस्तो दुर्दशापूर्ण स्थिति हुँदा पनि राष्ट्र जिनतिन बाँचिरहन सकेको छ ।

२. हेरौँ त आजको अवस्था —
सत्तारूढ दलका दुई जना प्रमुख पदाधिकारीबीचको विवादका कारण राज्यका सबै अङ्गहरू महिनौँदेखि बन्धक छन् ।
उनीहरू दुई जनाबीचको भेटघाट र वार्ता नेपाली मिडियाको लागि आमेरिकी राष्ट्रपति डोनाल्ड ट्रंप र उत्तर कोरियाली नेता किम जोङ उनको भेटवार्ता जस्तै महत्वको बन्न पुग्दछ ।
उनीहरूबीच भेटघाट गराउन पनि हामीलाई आन्तरिक र वाह्य मध्यस्थहरू आवश्यक पर्दछन् ।
सो दलका माथिल्ला तहका सदस्यहरू अराजक प्रचारयुद्धमा व्यस्त छन् ।

३. आफ्नो कुनै समितिको बैठकलाई व्यवस्थित गर्न नसक्ने दलले नेपाली जनतालाई सुख र समृद्धि दिने सपना देखाइरहेको छ ।
हामी त्यसैमा मख्ख छौँ ।
यौटै दलका दुई–चार नेता मिलेर बस्न नसक्ने अराजक राजनीतिको श्राप परेको हाम्रो मुलुकका दलहरूका सरकारहरूले यो जटिल अन्तर्राष्ट्रिय परिवेशमा सबै मित्रराष्ट्रहरूसँग उन्नत स्तरको सम्बन्ध विकास गरेर नेपालको समृद्धि, सुरक्षा र स्थिरतालाई सुनिश्चित गराउने बारेको गुड्डी पत्याइरहेका छौँ ।

४. अचम्मको लोकतान्त्रिक गणतन्त्र छ हाम्रो !
एक–दुई दलका दुई–तीन जना बसेर राष्ट्रको लागि जेसुकै निर्णय गरिदिन्छन् ।
दुई–चार जना बसेर मुलुकलाई गणतन्त्र, सङ्घीयता र धर्मनिरपेक्षतामा लैजाने जस्तो राष्ट्रको साविकको परिचय खोस्ने र नयाँ परिचय दिने कुराको निर्णय गरिदिन्छन् ।
जङ्गबहदुर, वीर समशेर, जुद्ध समशेर र मोहन समशेरहरूको राज्य सञ्चालनमा गर्ने अनिवार्य आन्तरिक परामर्शको दायरा पनि गिरिजाप्रसाद, माधव नेपाल, प्रचण्ड, ओली र शेरबहादुरहरूको भन्दा फराकिलो हुन्थ्यो ।
तर उनीहरू निरङ्कुश सामन्ती शासक र यी महान् लोकतन्त्रवादी !

५. अत्यन्त फरक मात्रै होइन विपरित राजनीतिक विचार, दर्शन, अभ्यास र परम्परा भएका दलहरूबीच रातारात एकीकरण हुन्छ यहाँ !
सहज र स्वाभाविक विकल्पहरू हुँदाहुँदै आफ्ना राजनीतिक दस्तावेजमा ‘शत्रु’ भानिएका दलसँग रातारात संयुक्त सरकार बन्न सक्दछ हाम्रो मुलुकमा !
अर्को दलको झण्डा बोक्न र उसलाई भोट हाल्न किञ्चित मान्दैनौँ हामी !!

६. हामीले जानेको भत्काउन मात्रै हो !
ध्वंश मात्रै जानेको हो !
सिर्जना, रचनात्मकता, उन्नति र प्रगति हाम्रो स्वभावकै विपरीत जस्तो छ ।

७. बलियो राष्ट्रले बलियो राज्य बनाउँछ ।
भारत राष्ट्रले भारत राज्यलाई स्वतन्त्र बनायो ।
प्रगति गराइरहेको छ !
युरोपका राष्ट्रहरू राज्यमा रूपान्तर भएका हुन् ।

८. तर अमेरिका पहिला राज्य बन्यो अनि राष्ट्र !
राष्ट्र बनिसकेको छैन, अमेरिका, बन्दै छ ।
पाकिस्तान राज्य मात्रै हो, राष्ट्र होइन ।
उनीहरूसँग बलियो राज्य र सरकार छ ।

९. हामीसँग राज्य कमजोर थियो तर बलियो राष्ट्र र समाज थियो ।
राष्ट्र र समाजले राज्यलाई बल र भर दिएर बचाएको थियो ।
तर १२ बुँदेपछिको परिवर्तनले राष्ट्र र समाज भत्कायो, राज्यको बल र भर खोस्यो !
राज्य बनाउन कुनै प्रयास नै गरेन,
राज्य दोहन मात्रै गरेर बस्यो ।
आज हामीसँग राष्ट्र, समाज, राज्य सबै ???

१०. ह्वाइट हाउस, सर्वोच्च अदालत, क्यापिटल बिल्डिङ, स्टेट डिपार्टमेन्ट, पेन्टागन, नेसनल सेक्युरिटी काउन्सिल, आन्तरिक सुरक्षा विभाग, सिआइए, एफबीआईहरूले संयुक्त रूपमा शासन गर्दछन् अमेरिकामा ।
राष्ट्रपति अमेरिकाका राष्ट्र र सरकार प्रमुख हुन्, सर्वेसर्वा होइनन् ।
शासक होइनन्, संयोजक हुन् !
सहजकर्ता मात्रै हुन् अन्तिम निर्णयकर्ता होइनन् ।
त्यहाँ निर्णय व्यक्तिले गर्दैन, विधि र पद्धतिले गर्दछ ।
सँस्थाले गर्दछ ।
वास्तविक शासन त माथि भनेजस्तै स्टेट डिपार्टमेन्ट, पेन्टागन, नेसनल सेक्युरिटी काउन्सिल र सिआइएहरूले गर्दछन् ।
राजनीतिक व्यक्तिले शासन गर्दैनन् कडा छनौट प्रक्रियाबाट आएका विज्ञ र विशेषज्ञहरूले कानुनअन्तर्गत रहेर शासन गर्दछन् ।
त्यसैले अमेरिका शक्तिशाली छ ।

११. भारत पनि त्यस्तै हो ।
अमेरिकाका जस्तै राज्य संरचनाहरूले भारतमा पनि शासन गर्दछन् ।
निर्वाचित संयन्त्रहरूले नीति र नियम बनाउँछन् र प्रहरी, प्रशासन र न्यायपालिकाहरूको शासन छ त्यहाँ ।
प्रधानमन्त्री मोदीले त्यहाँको शासन–प्रणालीको नेतृत्व गर्दछन् !
निर्णय प्रणालीले गर्दछ ।
मोदी प्रणालीको अङ्ग बनेका छन्, त्यसैले उनी शक्तिशाली छन् ।

१२. सेना र आइएसआईले मात्रै धानेर बाँचेको छ पाकिस्तान !
संसारकै शक्तिशाली संगठनमध्ये हो पाकिस्तानको गुप्तचर संगठन अर्थात् आइएसआई ।
त्यसैले भारतजस्तो ठूलो मुलुकको शक्तिशाली गुप्तचर संगठन ‘रअ’का प्रमुख रहिसकेका अमरजित सिंह दुलातले ‘आफूलाई कसैले के हुने मन छ भनेर सोधेमा पाकिस्तानको आइएसआईको प्रमुख हुने मन छ’ भन्ने आफ्नो उत्तर हुने बताएका छन् ।
सिआइए. आइएस आई वा रअहरू राज्यभित्रका राज्य हुन् !
राज्य धान्ने मूख्य संगठनहरू हुन् अर्थात डीप स्टेट हुन् ।

१३. हामीले त दलहरू मात्र बनायौँ !
राज्य संयन्त्र त बन्न नै दिएनौँ !
राज्य यन्त्र र संरचनालाई बन्नै नदिएपछि सबै राज्य यन्त्र र संरचनाहरूलाई दलको भातृसंगठन बनाएपछि कसरी राज्यले राज्यको कर्म गरोस्, सेवा देओस् !
अनि राज्य कसरी बाँचोस् ?

१४. चार वा पाँच वर्षका लागि हुने निर्वाचनमा जस्तोसुकै कबोल, बाचा–बन्धन गरेर,
हुने नहुने सबै कर्म–कुकर्म गरेर,
कुनै योग्यता र क्षमता सावित नगरेरै सत्तामा पुगेका व्यक्तिहरूलाई राज्यको अन्तिम अख्तियारी कुनै पनि सफल र गतिलो देशले दिएको हुन्न ।
निर्वाचन प्रणालीको सीमा र अभाव थाहा छ उनीहरूलाई !

१५. हाम्रो जस्तो चार जना मानिस बस्यो,
मनलाग्दो तरिकाले मुलुकको संविधान, कानुन बनाउने,
मुलुकको राष्ट्रिय चरित्रलाई नै परिवर्तन गर्ने घोषणा गर्ने,
राज्यका महत्वपूर्ण पदहरूमा जथाभावी नियुक्तिहरू गर्ने नेपालजस्तो मुलुकले त भुटान र माल्दिभ्सले गरेको÷पाएको जति प्रगति र सफलतालाई पनि धेरै परको देख्ने विवशता पालेर बस्नु पर्दछ ।

१६. बरू इथियोपिया र रुवान्डाले धेरै प्रगति गरिसके,
हामी ??
हो ! राष्ट्रलाई राष्ट्रको न्युनतम धर्म निर्वाह गर्न दिइएन !
राज्यलाई राज्यको धर्म निर्वाह गर्न दिइएन !
सरकार सरकार भएन,
दलहरूले दल बन्न सकेनन्, र
र नागरिकहरूले नागरिकको धर्म निर्वाह गर्न सकेनन् भने कुनै मुलुक नेपाल बन्छ !