बिर्साइएको विधिको राजनीतिसँग व्यक्तिगत गुनासो

बिर्साइएको विधिको राजनीतिसँग व्यक्तिगत गुनासो


■ जय शर्मा

शुरुमै प्रष्ट्याउन चाहन्छु– कसैप्रति आग्रह या प्रतिशोध साध्ने पङ्क्तिकारको चाहना पटक्कै होइन । तर, पार्टीको एक सच्चा सिपाही ठानेर त्यही नाताले पार्टीभित्र हुने अवैध, गैरराजनीतिक, नैतिकताविहीन, गैरजजिम्मेदार, असहिष्णु, अराजक, अलोकतान्त्रिक कुनै पनि पार्टी–संगठनविरोधी क्रियाकलाप र ब्यवहारलाई टुलुटुलु हेरि बस्न सकिन्न । म पनि नेपाली काङ्ग्रेसका लाखौँ कार्यकर्तामध्येको नीतिगत वैचारिक मत प्रदान गर्ने एक ब्यक्ति हुँ । मलाई लाग्छ यो मेरो प्रजातान्त्रिक अधिकार पनि हो ।

भनिन्छ, धेरै मत ल्याएर चुनाव जित्ने र हार्नेहरूलाई संख्यात्मक रूपमा केही नलाग्न सक्छ तर एक भोटको अन्तरले चुनाव हार्नेहरूका लागि त करोडौँ मूल्यबराबरको महत्व हुन्छ ! अझ नेपालमा वर्तमानको राजनितिक अवस्थालाई हेर्ने हो भने त करोडौँका कमिसन र ठेक्कापट्टा आफ्नो पक्षमा पार्ने र हार्ने दुवै अवसर पनि हुन सक्छ । त्यसैले नेपाली काङ्ग्रेसभित्र नेतृत्व र नेताहरूले सबैभन्दा बढी असहमत राख्ने, असन्तुष्ट राख्ने पक्षहरूको मागको अधिकतम सम्बोधन गर्ने प्रयास गरिनुपर्छ । विडम्बना ! पछिल्लो समय पार्टीभित्र विभिन्न समूहमा विभाजित नेताहरूको स्वार्थपूर्ण लडाइँले नेपाली काङ्ग्रेसको विचार र नीतिप्रतिको वैचारिक बहस ओझेलमा पर्दै गएको छ ।

कतिपय घरभित्रका समस्या गुटगत राजनीतिमा विभाजित भइ ब्यक्ति–ब्यक्तिबीचमा झगडाको विषय आफ्नैसँग लड्ने अस्त्र बन्न थालेको छ । पछिल्लो समयमा राणा र पञ्चायतकालीन शासनसत्ताका विरूद्व सँगै सहयात्रामा लडेका नेताहरूमा देखिएको प्रतिशोधपूर्ण ब्यवहारले आम तनहुँवासी मात्र नभइ सबै सच्चा काङ्ग्रेसीहरूको मन रोएको छ । हजारौँ कार्यकर्ताहरूमा चिन्ता प्रकट भएको छ । राजनीतिलाई राम्रोसँग बुझेका जीवनको उत्तराद्र्धतिर पुगेका पाका अनुभवी नेताहरूको विवादले आफ्नै योगदानप्रति प्रश्न खडा गरेको छ भने अर्कोतिर बीपीले देखाएको मार्गदर्शन र मूल्य–मान्यतामा नवीनतम् विचलन देखिने हो कि भन्ने भ्रमहरू श्रृजना हुने खतरा बढ्ने आशङ्का पैदा हुँदै गएको छ ।

तनहुँ जिल्लामा तात्कालीन समयका समकालीन चार नेताहरू अम्मरराज कैनी, गोविन्दराज जोशी, रामचन्द्र पौडेल र रामचन्द्र अधिकारीमध्येका निकै जुझारू नेता हुनुहुन्छ रामचन्द्र र गोविन्दराज जोशी । पूरा देशका जनताले विश्वास र भरोसा गरेका जोशी–पौडेल प्रकरण तनहुँ काङ्ग्रेसका लागि दुःखद क्षण हो भने नेपाली काङ्ग्रेस पार्टी संगठनका लागि क्षति । यहाँ प्रस्ट देखिएको छ कि घरभित्रका यस्ता समस्या मिलाउन काङ्ग्रेस नेतृत्व सफल देखिएन । यस्ता सयौँ समस्याहरू पार्टीभित्र भइरहन्छन्, ती सबैको समयमै छलफल, परामर्श र बहसका माध्यमबाट अधिकतम सहमतिमा समाधान गर्नुपर्दछ । कुनै पनि मुद्दालाई नीतिगत प्रकियाबाट समयमा समाधान गरिएन भने त्यसले दीर्घकालीन रूपमा पार्टीलाई असर पुऱ्याउन सक्छ ।

चुनावका समयमा भए–गरेका अनियमितताहरूलाई सोही समयमा एक न्यायिक छानबिन समिति बनाइ प्रकियागत ढङ्गबाट चित्तबुझ्दो नभए एक अवधिसम्मका लागि कार्वाही गर्नुपर्छ । मनपरी ढङ्गबाट अराजक ब्यवहार हुन गएमा त्यस्ता क्रियाकलापलाई पनि नियन्त्रण गर्ने संयन्त्र हुनु पनि उत्तिकै आवश्यक छ । नेपाली काङ्ग्रेस जस्तो प्रजातान्त्रिक पार्टीले आफूलाई अनुशासित कार्यकर्ताहरूको सङ्गठन हो भन्दै गर्दा अरूलाई पनि सिकाउनु परेको छ । तर त्यसका विधि–प्रकियाहरू पनि पारदर्र्शी र समयसापेक्षित हुनु आवश्यक हुन्छ । गोविन्दराज जोशी र पुष्करनाथ ओझालगायतलाई जसरी पछिल्लो समयमा आएर कार्वाही गरियो त्यो समय ठिक थिएन भन्ने तमाम कार्यकर्ताहरूको गुनासो र आपत्ति हो । याने कि प्रजातन्त्रका लागि गरेको योगदान कसैको पनि कमी छैन भन्ने कुरा विगतको इतिहासले अङ्कित गरेको छ ।

महामानव बीपीलाई जेलमा सडाउन खोज्ने र धाँधली गरेर बहुदलीय व्यवस्था हराउने सुर्यबहादुर थापाको छोरोलाई रातो कार्पेटले स्वागत गर्न काङ्ग्रेस तयार छ, तर आधा शताब्दी समय काङ्ग्रेसका लागि दिएका जोशी र पुष्करनाथहरू काङ्ग्रेसमा नअटाउनु भनेको हामी काङ्ग्रेसीका लागि लज्जाको विषय हो । तनहुँ फेरि ‘काङ्ग्रेसमय’ हुन पौडेलजी र जोशीजीको जीवनकाल भन्दा धेरै पछिसम्म पर्खनुपर्ने छ । सबैले आत्मालोचना गर्ने बेला आएको छ, हामी के र कसका लागि राजनीति गर्दैछौँ भनेर गम्भीर भएर सोच्ने समय आएको छ । नेपाली काङ्ग्रेस एउटा पार्टी मात्र होइन, विचार पनि हो भनी नबुझेको खण्डमा ढिलो भैसकेको हुनेछ । समयमै सजग भया ! जय नेपाल !!

(लेखक नेपाली काङ्ग्रेससम्वद्ध ‘जनसम्पर्क समिति पोर्तुगल’का सदस्य हुन् ।)