दिवंगत पत्रकार बानियाँको परिवारलाई अमेरिकावासी नेपालीबाट चार लाख सहयोग

दिवंगत पत्रकार बानियाँको परिवारलाई अमेरिकावासी नेपालीबाट चार लाख सहयोग


तनहुँको भानु नगरपालिका–१३ मिर्लुङका दिवंगत पत्रकार बलराम बानियाँको परिवारलाई अमेरिकाबाट प्राप्त रु चार लाख ३१ हजार ९५१ सहयोग हस्तान्तरण गरिएको छ । बानियाँको १३औं दिनको पुण्यतिथिको अवसरमा उक्त रकम परिवारलाई हस्तान्तरण गरिएको हो ।

नेपाल–अमेरिका पत्रकार सङ्घले पठाएको उक्त रकम आज (७ भदौ) नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले दिवंगत बानियाँका छोरी सुष्मिता बानियाँलाई हस्तान्तरण गरे । बानियाँका एक छोरा र एक छोरीको शिक्षादीक्षाका लागि पत्रकार महासङ्घको पहलमा उक्त रकम अमेरिकाका पत्रकारले पठाएको आचार्यले जानकारी दिए । कान्तिपुर दैनिकमा काम गरिरहेकै परिवेशमा दिवंगत भएका बानियाँका बालबालिकाको शिक्षादीक्षाका लागि महासंघ अध्यक्ष आचार्यले नेपाल पत्रकार महासङ्घले पनि पहल गर्ने प्रतिबद्धता जनाए ।

१३औं दिनको पुण्यतिथिमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, काउन्सिलका सदस्य खिलाबहादुर भण्डारी, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश कमिटीका अध्यक्ष त्रिभुवन श्रेष्ठ, प्रदेश सदस्य गोरा मियाँ, नेपाल पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्य लगायतले शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका थिए ।

गत साउन २६ गतेदेखि एकाएक हराएका पत्रकार बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा २८ गते भेटिएको थियो ।