गुटबन्दी र गणितीय चलखेलबाट मुक्त रहला त नेकपा ?

गुटबन्दी र गणितीय चलखेलबाट मुक्त रहला त नेकपा ?


सत्तारुढ दल नेकपाको लगभग डेढ महिनादेखि रोकिएको स्थायी कमिटी बैठक आज (२६ भदौ) बस्दैछ । पार्टीभित्र देखिएको विवाद समधानका लागि महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित कार्यदलले दिएको सुझावलाई मुख्य आधार बनाउँदै पार्टीअध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र सहअध्यक्ष प्रचण्डदवारा संयुक्त रुपमा स्थायी समितिमा पेश गर्ने कार्ययोजना समेत तयार पारिएको सन्दर्भबीच आजको बैठकलाई निकै चासोका साथ हेरिएको छ ।

स्थायी कमिटी बैठकमा सरकारको कामको समीक्षा, वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयदेखि एमसीसीसम्मका एजेण्डामा छलफल हुने सम्बद्ध स्रोत बताउँछ । तथापि, एक व्यक्ति एक पदको वकालत गर्दै आएका वरिष्ठ नेता माधवकुमार नेपालको मुद्दा भने शुक्रबार बस्ने स्थायी कमिटी बैठकमा प्रवेश नगराइने बताइएको छ । कार्ययोजनामा दोहोरो भूमिकामा रहेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि पदबाट राजीनामा दिनु नपर्ने प्रस्ताव गरिएपछि नेपालको मुद्दा स्वतः पाखा लागेको विश्लेषण गरिँदै छ ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकारको भूमिकामा रहेका नेकपा केन्द्रिय सदस्य सूर्य थापाले गत ०७६ फागुनयता विभिन्न रूपमा देखापरेको दाउपेचयुक्त विवाद समाधान भएर केन्द्रीय सचिवालय र स्थायी कमिटी बैठकको निर्णयअनुरूप पुनः दुई अध्यक्षको समझदारीमा फर्केको दाबी गरेका छन् । ६ सदस्यीय कार्यदलले तयार गरेको प्रतिवेदनको कार्यान्वयनमा अध्यक्षद्वयले सहमति गरी बनाएका कार्ययोजना प्रस्तावको एकताबद्ध कार्यान्वयन नै पार्टी एकताको आधारशीला बनेको भन्दै उनले आज बस्ने स्थायी कमिटीको बैठकले पार्टीलाई अतीतमुखी कचिङ्गलबाट मुक्त गरेर सुन्दर भविष्यमुखी बनाउने अपेक्षा गरिएको उल्लेख गरेका छन् । गुटबन्दी र गणितीय चलखेलबाट मुक्त भएर पार्टी एकीकरण, सहमति र अग्रगतिका साथ भविष्यमुखी बन्न अग्रसर हुनुको अर्को विकल्प नरहेको उनको तर्क छ ।

नेकपा स्रोतका अनुसार कार्यकारी अधिकार आफूले पाउने भएपछि प्रचण्डले पनि नेता नेपालले उठाएको मुद्धामाथि मौनता साधेका छन् । तर नेपालनिकट स्थायी कमिटी सदस्य युवराज ज्ञवालीको भने यसबारे फरक धारणा छ । हालै सार्वजनिक भएको अध्यक्षद्वयको गोप्य प्रस्ताव नै अन्तिम सहमतिको दस्तावेज नभएको तर्क गर्दै उनले स्थायी कमिटी बैठकमा अहिले अनुमान गरिएअनुसार नै सबै कुराको टुंगो लाग्न नसक्ने धारणा सार्वजनिक गरेका छन् ।

बैठकले बहुचर्चित अमेरिकी सहयोग परियोजना एमसीसीको विषयको टुंगो लगाउन भरमग्दर प्रयत्न गर्ने बुझिएको छ । एमसीसीका केही बुँदामा संशोधन गरी यसलाई राष्ट्रिय हितको परियोजनाको रुपमा व्याख्या गरेर विवाद अन्त्य गर्न नेकपाका नेताहरु सहमत भएका सुत्र बताउँछ ।

आज बस्ने स्थायी कमिटीको पाँचौँ बैठकमा पेस गर्न अध्यक्षद्वयद्वारा तयार गरिएको प्रस्तावमा एमसीसी सम्झौता सम्बन्धमा भनिएको छ– ‘नेपाल सरकार र अमेरिकी सरकारको संस्था मिलेनियम च्यालेञ्ज कर्पोरेशन बीच सन् २०१७ मा सम्पन्न भएको मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता यतिबेला संसदमा अनुमोदनको लागि विचाराधीन अवस्थामा छ । उक्त सम्झौताका सम्बन्धमा निर्णयमा पुग्नुअघि आवश्यक अध्ययन गरी सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न केन्द्रीय कमिटीको दोश्रो बैठकबाट कार्यदल गठन गरिएको थियो । कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गरिसकेको छ । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट सम्झौता र सोसम्बन्धी कार्यदलको प्रतिवेदन उपर स्थायी कमिटी र सचिवालयमा छलफल गर्ने । उक्त सम्झौतालाई राष्ट्रिय हितमा स्पष्टपार्दै आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्ने ।’

हेरौँ अध्यक्ष ओली र प्रचण्डद्वारा तय गरिएको प्रस्ताव-
CPN Oli-Prachanda Prastab-077-05-26