सुस्तामा पुल निर्माण कार्य किन सुस्त ?

सुस्तामा पुल निर्माण कार्य किन सुस्त ?


  • आरपी उपाध्याय, नवलपरासी

पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीमा निर्माणाधीन झोलुङ्गे पुलको पटक पटक म्याद थपिए पनि निर्माण कार्यले पूर्णता पाउन सकेको छैन । वर्षायाममा काम गर्न नसकिने भएकाले कोरोना महामारीका बीच पनि आवश्यक सावधानी अपनाइ काम भइरहेको सस्पेन्सन ब्रिज डिभिजन ललितपुरका इन्जिनियर गोपाल बहादुर थापाले जानकारी दिएका छन्।

पुलको जमिनमुनि गर्नुपर्ने २ सय २० ओटा पाइलिङ्गको काम भने सकिएको छ । अहिले ठुला पिल्लर निर्माणको काम भइरहेको छ भने १४ वटा पिल्लर (टावर ब्लक)मध्ये ६ वटाको काम सकिएको र क्याब निर्माण भइरहेको आयोजनाले जनाएको छ ।

पानीको सतह बढेलगत्तै काम गर्न नसकिने भएकाले वर्षायामको समयमा चार महिना काम रोकिने इन्जिनियर थापाले बताए । नारायणी नदीमा पानीको बहावका कारण काम गर्न कठिनाइ हुने सम्बद्ध प्राविधिकहरुको भनाइ छ ।

हिउँदको समयमा गण्डक बाँधबाट पानी नियन्त्रणका लागि भारतीय अधिकारीसँग समन्वय गरे पनि तोकिएको समयअगावै पानी छाडिदिँदा समस्या भएको निर्माण कार्यमा संलग्न प्राविधिकहरुले जानकारी दिए । झोलुङ्गे पुल निर्माणको लागि दुवैतर्फको पाइलिङ कार्य सकिएको हुँदा अब मुख्य काम नदीको बीचमा रहेका पिल्लर निर्माण रहेको पनि बताइएको छ ।

२० जना कामदारले दैनिक काम गरिरहेको झोलुङ्गे पुल निर्माण कार्यमा कोभिड महामारीका कारण आवश्यक स्वास्थ्यसावधानी अपनाएर काम गरिरहेको बताउँदै आयोजनाका साइड इन्जिनियर सत्यन्द्र यादवले सामग्री अभाव हुँदै गएकाले सोचेअनुरुप काम गर्न नसकिएको प्रतिक्रिया दिएका छन् । अहिलेसम्म तीव्रगतिमा काम भइरहेको छ तर अब निर्माण समाग्रीको अभावका कारण समस्या देखिएको यादव बताउँछन् । फलामका सामाग्री अहिले आवश्यक रहेको तर निर्यातकर्ताले समान नपठाएको उनले बताए ।

डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य नारायणीपारिका सुस्तावासीहरु पुल निर्माण भए सहजै आवातजवात गर्न सक्ने छन् भने गाउँपालिकासँग पनि प्रत्यक्ष सम्बन्ध स्थापित हुने सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । संघीयतापछि सुस्तामा विस्तारै विकास निर्माणका काम हुँदै आएको अध्यक्ष पाण्डेको भनाइ छ ।

एकातर्फ भारत र बाँकी भाग नदीले घेरिएको सुस्ताका बासिन्दा पुल निर्माणको प्रतीक्षामा रहेको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले बताएका छन् । निर्माण कार्य हालकै गतिअनुसार हुने हो भने झोलुङ्गे पुलको निर्माण कार्य छिटै सकिने विश्वास गरिएको छ । पछिल्लो पटक थप गरिएको म्याद गत वर्षको मंसिरमा समाप्त भएको थियो ।

पहिलो चरणको कोरोना महामारीका कारण थप ६ महिना समय पाएको आयोजनाको म्याद यही असारमा समाप्त हुँदै छ । थप गरिएको अवधिमा पनि पुल निर्माणको काम नसकिने चाहिँ निश्चित छ । २०७२ सालमा ठेक्का सम्झौता भए पनि समयमै ठेकेदारले पुल निर्माणको काम सुरु नगर्दा झोलुङ्गे पुल निर्माणको काममा ढिलाइ भएको हो ।

जग्गा विवाद, विद्युत आपुर्तिमा समस्या, कामदार अभाव लगायतका कारणले पनि पुल निर्माणमा बिलम्ब हुँदै आएको छ । नेपालकै लामो पुलमध्येको यो पुल १५ सय ७१ मिटर लामो हुने भएको छ । २० करोड ९३ लाख ७९ हजार लागतमा पुल निर्माणको ठेक्का त्रिशुली आश्रय जेभी काठमाडौंले पाएको हो ।

सुस्तामा निर्माण भइरहेको झुलुङ्गे पुल निर्माण कार्यले पूर्णता पाएमा सुस्ता भूमिको रक्षाका साथै सुस्तामा विकास निर्माण तथा पर्यटन उद्योग द्रुत गतिका साथ अगाडि बढ्ने सुस्तावासीले विश्वास गरेका छन् ।