एक शब्द जसको दर्जनौँ कथा-व्यथाहरू !

एक शब्द जसको दर्जनौँ कथा-व्यथाहरू !


  • प्रकाश के.सी., लण्डन

सुटिङ स्थलको बाहिर उभिएको बेला, एक व्यक्ति हतारिएर मतिर आउँछ अनि म पनि हतारिएर मास्क लगाउँछु । उसले मलाई विनम्रताका साथ सोध्छ- ‘यहाँ त हलिवुडका ठूल्ठूला एक्टरहरू आउँछन् होला, हैन ? मैले त कसैलाई पनि नजिकबाट देखेकै छैन । म धेरै टाढाबाट आएको हुँ, एकचोटि कुनै एक्टरलाई देख्न पाए मेरो यात्रा सफल हुन्थ्यो ।’

यूकेमा यतिखेर त्यति जाडो थिएन, तर उसले कानेटोपी लगाएको थियो र नाकमुखको आकारभन्दा धेरै अनुहार ढाकिने मास्क लगाएको थियो । भारतीय वा बंगाली हो कि जस्तो लाग्ने उक्त व्यक्तिको अङ्ग्रेजीको लहज पनि उस्तै थियो । केही मानिस एउटा सेटबाट अर्को सेटमा घुस्दै थिए, तीमध्ये एक अग्लो मान्छे पनि थियो, उसैलाई देखाएर मैले भनेँ- ‘उ.. त्यो अग्लो लियम निसन हो, टेकन सिरिजको हिरो।’ कालो मास्क लगाएर भित्रिएको मान्छेलाई सक्दो हेर्ने प्रयत्न गरेर उसले अन्त्यमा भन्यो- ‘कामै लागेन, मास्क लगाएकोले अनुहार देख्नै सकिएन । योबेलामा यत्रो चान्स पनि गुम्यो ।’

थक्थकिएर उसले त्यसो भनेपछि मैले सोधेँ- ‘कुन देशबाट आउनुभयो तपाईं ?’ ऊ अनौठो पाराले तन्किएर मतिर हेर्दै उल्टै सोध्यो- ‘तपाईंलाई माउण्ट एभरेष्ट थाहा छ ?’ मैले ‘छैन’ भन्दा उसको आँखामा विश्वास थिएन, उसले ‘तपाईंलाई गुर्खा थाहा छ ?’ मैले ‘छैन’ भन्दा त हाँस्यो । म पनि हाँसे । ऊ अचम्म मानेर हाँसेको लाग्थ्यो भने मैले ऊ हाँसेकोले मात्रै साथ दिएको थिएँ ।

नेपाली रहेछ । कोरोनाको कारणले लगाएको मास्कले गर्दा हामी दुवैले एक-अर्कालाई चिनेनछौँ । हुन त मास्क नलगाएको भए पनि अनुहारैको भरमा ट्वाक्कै चिन्न नसकिने अहिलेको संसार छ र, सर्वत्र छरिएर रहेका नेपालीहरू छन् । यूकेमा जन्मिएकाहरू भए मलाई बेलायतमा जन्मिएको मान्छे होइन भन्न सक्थ्यो, कारण मेरो बोलाइमा रैथानेपन आएको थिएन, तर उसले त्यो छुट्याउन सकेन ।

‘तपाईंहरू बाहिरी दुनियाँको बारेमा धेरै चासो राख्नुहुन्न, त्यसैले हुन सक्छ माउण्ट एभरेष्टको बारेमा थाहा नहोला, तर तपाईंको देशको लागि लड्ने बहादुर गुर्खाहरूबारे कसरी थाहा नपाउनुभएको ?’ ऊ धेरै पढेको नेपाली थियो, सम्भवतः नेपालकै राम्रो घरानिया मान्छे थियो, या उच्च तहको अन्तर्राष्ट्रिय कम्पनीको उच्चै तहको कर्मचारी थियो, मलाई पढाउने सुरमा देखिन्थ्यो । रमाइलो लाग्यो, साँच्चै नै, त्यसैलाई अलिकति निरन्तरता दिन मन लागेर म बोलेँ– ‘म अहिले यहाँ यो सेटको हेरचाह गर्दैछु, तर मलाई लियाम निसम त के, उसको मेकअप म्यान वा ड्राइभरले पनि चिन्दैन । त्यस्तै नै बेलायतको लागि अर्को देशसँग लड्नेहरू सबैको बारेमा आम बेलायतीहरूलाई कसरी थाहा हुन्छ र ?…

उ धेरैबेर चुप लाग्यो र विस्तारै भन्यो- ‘होला, हामीहरू मात्रै दुई सय वर्षको बेलायतसँगको राम्रो सम्वन्धको चर्चा गर्छौं अनि गर्वित हुन्छौँ, हामी मात्रै…।’ मैले त्यसपछिचाहिँ नेपालीमै भनेँ- ‘हो, हामी मात्रै ।’ त्यसपछि म मात्रै हाँसेछु, उ हाँसेन । उसले आफ्नो बोल्ने लहजामा तुरुन्तै व्यापक अन्तर ल्यायो, आखिर नेपाली न हो । ‘हेर भाइ, तिमी यहाँ नै जन्मेको भए पनि तिम्रो मूल जरो भनेको नेपाल हो, तीन-चार पुस्ताका यहाँ जन्मेका नेपाली, आखिरमा नेपाली नै मानिन्छन् । त्यसैले तिमीहरूले नेपाल र नेपालीका बारेमा धेरै जान्नु अनि बुझ्नु पर्दछ । हामी नेपालीहरू अहिले नेपालमै सक्षम, विकसित अनि सामर्थ्यवान भएका छौँ । हामी तिम्रो देशमा टुरिस्ट बनेर तिम्रो इकोनोमीलाई सपोर्ट गर्न आएका छौँ । ख्वै त तिमी त यहाँ नै जन्मिएका नेपाली भए तापनि काम त उस्तै नै रहेछ ।’ त्यसपछि ऊ अगाडि लम्किएको थियो, मेरो प्रतिक्रिया जानेबिना । म धेरैबेर अन्यौल त्यहीँ नै उभिइरहेँ ।

विष्णुबहादुर गुरुङ एक भूपू गुर्खा हुन्, लण्डनको फेल्थाममा बस्छन्, अवकासको केही वर्षपछि हङकङ हुँदै बेलायत भित्रिएका उनी पेशाले बसचालक हुन् । बेलायत छिरेको केही वर्षमै उनले स्थानीय राजनीतिमा चासो दिन थालेका थिए । अहिले लण्डनको ठूला बरोहमध्येको एक हान्स्लो बरोहका मेयरमा निर्वाचित भएका छन् । त्यसरी नै जिव बेलबासे र नेम थापा नेपालीहरूका ठूलो बसाइ रहेको बेलायतको अल्डरसट अनि फार्नबरोहका काउन्सिलर पदमा निर्वाचित भएका छन् । नेपालीहरू बिस्तारै स्थानीय मूलधारमा प्रवेश गर्ने क्रम जारी छ । उसो त केहीअघि प्रतिष्ठा राउत २०१९ मा भएको इंग्ल्याण्ड ब्यूटी प्याजेन्टमा तेस्रो भएकी थिइन् । पहिलो पुस्ता हुँदै तेस्रो पुस्तासम्म आइपुगेको नेपाली समुदाय बेलायतमा छन् । एकातिर यहाँको सगोलमा हराएका तेस्रो पुस्ताहरू छन् तथापि पहिलो पुस्ता अनि दोस्रो पुस्ताका नेपालीहरू आफ्नो उपस्थितिमा दखल राख्न सक्षम पनि अर्कोतिर छन् ।

यसको साथसाथै नेपाली चालचलन, परम्परा, राजनीति वा नेपालीत्व खासगरी पहिलो र दोस्रो पुस्तामा ताजा छ, दुरुस्त छ । कहिलेकाहीँ त यस्तो लाग्छ कि, नेपाली समाजमा बेलायत नेपालको एक जिल्ला पो हो । नेपालीहरूका जातीय हुँदै क्षेत्रीय, राजनीतिक, धार्मिक, पारम्परिक, विचार, आदि-इत्यादिका संघ-संस्थाहरू खोलिएर नेपालीहरू अनेकौँ बनेका छन् । भन्न यहाँ के छुटाउनु हुँदैन कि, यी सबै यदि नेपालमा कुनै आपदविपदमा सहयोग गर्ने क्रममा भने एक ढिक्का हुन्छन्, अहिले यस्तै भएको छ ।

गैरआवासीय नेपाली संघ बेलायतको अगुवाइमा दुई करोड भन्दा ज्यादा रकम उठाइन लागिएको छ अक्सिजन सिलिण्डर खरिद गर्नको लागि । नेपालमा दुख्ने घाउको दुखाइ यहाँ झन् पिरोलिएर दुख्छ । तह अनि तप्काको कुरो हँदैन । इज्जत ठूलो र सानो, गरीव वा धनी सबैको बराबर मानिन्छ । मैले गर्ने कामले मेरो बखान गर्दैन, मैले लगाउने लुगा वा मैले चढ्ने गाडीले मेरो व्यक्तित्वको गहिराइको परिभाषा दिँदैन । मैले सोँच्ने अनि मैले बोल्ने आशयले मेरो बखान गर्दछ ।

हाम्रो जीवनको लगभग एक वर्ष खेर गएको छ । यो एक वर्षले व्यक्तिविशेषको जीवनमा प्रकारान्तरले प्रभाव पारेको पक्कै छ । मेरो छिमेकी एक्लो छ, बूढो छ । साँच्चै नै यो एक वर्षको अवधिमा उसकोमा वा उसलाई भेट्न एकैजना मानिस पनि आएका छैनन् । सरकारले कोरोनाबाट बचाउनको लागि बचाउ समूहमा राखेकोले उसको खानेकुराहरूको अनलाइन डेलिभरी हुन्छ । के गर्दो हो ? अस्ति, हिजो, आज र भोलिको दिनमा उसले के नयाँ पायो र पाउँछ होला ? सूर्यको उज्यालो किरणजसरी आशा भएर नयाँ दिनको प्रहरमा झुल्किन सक्ने नयाँ पक्षले मानिसमा स्फूर्ति जगाउँछ भन्छन् । सँधै-सँधै उही र उस्तै दैनिकी बाँचिरहेको श्यामुयल (मेरो छिमेकी)मा थाँती छ कि छैन होला स्फूर्ति ? साँच्चै नै सोध्न मन लागेको हो, तर उसको ढोका कहिले पनि खोलिएको मौका हात पर्दैन । नेपालमा वा नेपाली छिमेकी भएको भए ढोका ढक्ढक्याउन गइन्थ्यो पक्कै नै ।

कोरोनाको प्रभावले अरुजस्तै म पनि एकोहोरो भएको छु । हुन त अहिले बेलायत पूर्ण रूपमा खुलिसकेको छ हामीजस्ता आम साधारण मानिसहरूका लागि, यद्यपि जुन २१ बाट बेलायत पूर्ण रूपले खुल्ने हो, तर विविध नामधारी कोरोनाको स्वरुपहरूको बिगबिगी यथावत वा निरन्तर रहेको बेला, आमथरीका मानिसहरूका सन्देश पूर्ण रूपले स्वतन्त्र भने भएका छैनन् । निम्न रूपमा ट्वाक्क भन्ने भए, मेरो हालत स्वतन्त्र भएको छैन । श्रीमती अलि कमजोर स्वास्थ्यकी छिन् । परदेशमा छौँ, आम रूपमा नजिकै नेपालीहरू छिमेकिएर रहेका छैनन् । अरुको नितान्त आफ्नो पलको इज्जत राख्ने स्थानीय स्वभावले छिमेकी घरभित्रै हावा वा माटो बनेको पनि थाहा पाउन सक्दैनन् । यस्तोमा श्यामुयलकै हालतमा हामी दुईमध्ये एक हुन सक्ने अवस्था आउन सक्दछ, त्यसैले डर लाग्छ, जिन्दगीको मोह होइन त्यो, विवशपनको लाचारी हो । त्यसैले रंगहरूसँग क्यानभासमा खेल्छु, रंगहरूको सहायताले एक संसारको निर्माण गर्दछु, नेपालीत्व बनेर बालमनको सम्झना अद्यापि मानसमा टाँसिएको छ, ग्रामीण जीवनको नेपालीपन क्यानभासमा उतार्छु र धेरै-धेरै बेर एकोहोरिएर हेर्छु, अद्वित्तीय शान्ति मिल्दछ ।

एउटा गहिरो आड अभिभावकहरूलाई गुमाएपछि मेरो मननशीलताबाट गुमेको छ, क्यानभासमा उतारिएको नेपालीपनको पेन्टिङले आड दिन आउँछ । नेपालका साथीहरू ‘सँधै त्यही हिमाल, त्यही किसिमको गाउँ मात्र हुन्छ तिम्रो पेन्टिङमा’ भन्छन् । उनीहरूलाई सायद मन पर्दैन । हरपल मिल्ने साथको महत्व कसैलाई हुँदैन, साथ छुटेपछि त्यसको महत्वले पोल्न थाल्दछ मानिसलाई । आमाबाबुको साथपछि खासगरी मेरो भावनामा साथ दिन नेपालीपनको पेन्टिङ भएको ती साथीहरूलाई बुझाउन खोज्दा तिनीहरू हाँस्छन् । पीडालाई बुझ्न चोटै खानु त नपर्ने हो, सम्वेदनशील हुनु पनि जरुरी हुन्छ, त्यो भन्न सकिनँ ।

महिनाको लगभग २७, २८ दिन काम गर्ने एकजना साथी अचेल २० दिन मात्र काम गर्ने गर्दछ । घरमा एक्लै वा श्रीमती वा बच्चाहरूसँग बसेको पलले दिनभरिको कमाइभन्दा ज्यादा मुनाफा गरेको सम्झन थालेदेखि ती मित्र समृद्ध देखिन थालेका छन् । शान्ति पनि उनको अनुभरि छाएको देखिन्छ अचेल । कोरोनाले उनको एक हितैषी अल्पायुमै गुमेको थियो । उनको साथीका चुलाएर राखेको सपना अनि सफलताहरूको शिखर एक्लो ठिंगिएको छ उबिना उसको परिवारमा । हामीले बिताउँदै गरेको पल मात्रै अनि हामीले भोग्दै गरेको अनुभव मात्रै आफ्नो रहेछ, अहिले कोरोनाले बुझाएको छ । हाम्रो पुस्ताले भोगेको यो महामारीले मानिसको मृत्यु अत्यन्तै सस्तो बनाएको छ, मृत्युसँग गाँसिने भावनालाई करप्ट बनाएको छ । बाँच्नेहरूका जीवन महँगिएको बेला, मृत्युहरू सस्तो लाग्दो हो, या बचाइ नै सस्तिएकोले मृत्यु पनि खस्किएको लाग्दो हो, छुट्याउन मुस्किल लाग्नेगरी दर्जनौँ दर्जन आफ्न्तहरूले पृथ्वी छाडेका छन्, तिनको सम्झनामा कतिलाई सम्झन सक्ने सग्लो मननशील समय नै हात नलागेको हुँदो हो, सम्झनाहरू पनि खुद्रे स्वरुपमा सतहिन लागेका हुन्छन् । तिनलाई वा तिनको नाममा सामाजिक सञ्जालहरूमा श्रद्धान्जली लेखिनु मात्रै नै सहानुभूतिशील प्रचलन अहिले चलेको लागेको छ । केही दिनअघि, मेरो एक पुरानो मित्रले पृथ्वी छोडे, अन्यले जस्तै मैले श्रद्धान्जली लेखेछु, मेरो व्यक्त्याएछु, मित्रताको परिभाषा । उसँग बिताएका वर्षौं-वर्षौंअघिका पलहरू सम्झनामा खुद्रे स्वरुपमा झुल्किने गर्दछन् कहिलेकाहीँ ।

कोरोनाअगाडि अनि कोरोनापछाडि अनि फेरि उही किसिमले अगाडिपछाडि हँदै पुनरावृत भएको अवधिमा बेलायतमा गैरआवासीय नेपाली संघ, नेपाल पत्रकार महासंघका शाखाहरूलगायतका अन्य संघसंस्थाहरूमा चुनावी चहलपहल शुरु भएको छ यहाँ । यो अवधिमा समाजमा विशेष भएर चुलिने चाहना राख्ने दर्जनौँ नेतृत्वहरूका मौका गुमेको छ । यसै क्रममा महत्वाकांक्षी पूर्वराजदूत दुबसुलाई लगभग बेलायतबाट पलायन भएजसरी नेपाल फर्कनु परेको थियो । नत्र, यहाँका हरेक तह र तप्काका नेपाली संघ-संस्थाहरूलाई खुशी पारी तिनबाट उल्लासमय विदाइ लिन सक्ने दुबसु कतिबेला गए अनि कतिबेला नयाँ राजदूत आए, आम नेपालीहरूलाई थाहा नै भएको छैन । त्यस्तै विभिन्न सामाजिक कार्यक्रमहरूमा विशेष वा प्रमुख आतिथ्यता राखी खादामाला ग्रहण गर्ने र रंगबिरंगका भाषण दिने विविध संघसंस्थाका नेतृत्वहरूका कार्यकाल कतिखेर आयो र सकियो भन्ने पनि आम बेलायती नेपालीहरूलाई थाहा नै भएको छैन ।

तर अहिले आखिरमा बेलायत सँधैका लागि फेरि लकडाउनमा नजाने गरी खोलिने क्रममा थरिथरिका नेताहरूको उदय भएका छन् । जातीयताको बुई चढ्ने जातीय नेतासहित नेपाली राजनीतिक पार्टीहरूका आधारहीन विचार बोक्ने भातृसंस्थाका थमौतीहरूका बोलबाला खासगरी गैरआवासीय नेपाली संघ र नेपाल पत्रकार महासँघको बेलायती शाखाहरूमा देखिएको छ । जातीय, क्षेत्रीय अनि विचारका राजनीतिहरू अचानकै शुरु हुँदै गएको छ यही धूमील परिवेशमा पनि यहाँ । घिस्रिइँदा पनि कसले टाउको ज्यादा माथि उठाउने भन्ने प्रतिस्पर्धामा व्यस्त हुँदै गएका बेलायती नेपालीहरूमा कहिलेकाहीँ लाग्छ, तिनीहरूसँग (हामीहरूसँग ?) थोकको हिसाबमा समयहरू पर्याप्त छन् ।

यो सबैको अन्त्यमा, नेपाली राजनीतिको वर्तमानको चर्चा गर्नु भने सान्दर्भिक लागेन । साँच्चै, साँच्चै लागेन । प्रशस्तै कमी–कमजोरीहरू देखाउनेहरूको भरमार वृद्धि हुँदै गएको भए तापनि योपालि बेलायतमा खासगरी इंग्ल्याण्डमा कन्जर्भेटिभले अपार सफलता प्राप्त गरेको छ । आम मानिसहरू सिद्धान्त वा विचारमा होइन, उपलब्धिमा, काममा अनि वास्तविकतामा विश्वास राख्दछन् । बेलायतले दोस्रो विश्वयुद्धपछि वास्तवमै त्योबेलाको भन्दा भयावह अवस्था अहिलेको वर्तमान महामारीमा खेपिरहेको छ, त्यसको आडमा अप्ठ्याराहरूको शिखर बनेर युरोपियन युनियनसँग बेलायत अग्गिएको अवस्था छ । अब बेलायत बर्बाद हुन्छ भन्ने अर्थविदहरू, राजनीतिज्ञहरू या आदिइत्यादिका विद्वानहरूले भविष्यवाणी गरेबिपरीत अहिलेको राजनीतिक, आर्थिक अनि समाजिक अवस्था छ बेलायतको र त्यो वस्तुस्थितिले चिच्याएर बोलेको छ, जसको असर स्थानीय चुनावमा देखिएको हो । नेपालमा त्यस्तो हुने छाँट छैन, कहिले नि हुँदैन, हुनै सक्दैन । नेताहरूलाई मुलुकको होइन, पार्टीको चिन्ता छ, आफ्नो र परिवारको चिन्ता छ, जनताहरूमा थरिथरिले फराकिएर पनि जे-जस्तो मिलेको छ, त्यही त त्यस्तैकै आफू हकदार भएको अनुभव गर्न विश्वस्त छन् । जमिनमुनि भास्सिनु मात्रै भास्सिनु हो भन्ने ठान्ने आमविश्वास आफैमा घातक बनेको छ । विचारको राजनीति अनि विचारको आस्था राख्नेहरूबीचको सामन्यजस्यतामा वर्तमान नेपाली परिवेश अनि व्यवस्थालाई कोरोनाको महामारीले झन् ज्यादा बिटुल्याएको प्रतीत हुन्छ ।