राजमार्गको दूरावस्थाले दुर्घटनाको जोखिम बढ्दै

राजमार्गको दूरावस्थाले दुर्घटनाको जोखिम बढ्दै


  • डम्बर निदाल, डडेल्धुरा

डडेल्धुरा जिल्ला सदरमुकाम भएर जाने सुदूरपश्चिमको प्रमुख राजमार्गमा खाल्डाखुल्डीले यातायातका साधनलाई आवागमनमा सकस भएको छ । सडक साँघुरो छ, त्यसमा पनि खाल्डाखुल्डी भएकाले दुर्घटनाको जोखिम बढिरहेको छ । सडकमा अधिकतम भार भएका गाडीहरू दिनहुँ बढ्नु तर सडकको क्षमतामा भने सुधार आउन नसक्दा दुर्घटनाको जोखिम बढिरहेको हो ।

डडेल्धुरा सदरमुकामअन्र्तगत मुख्य बजार बागबजारदेखि तीन किलोमिटर कीर्तिपुर बजारसम्मको महाकाली राजमार्ग सडक खण्डमा एकोहोरो रूपमा खाल्डाखुल्डीहरू भएको निकै समय बितिसक्दा पनि सम्बन्धित निकायको ध्यान नजाँदा सडक प्रयोग गर्ने साधन र बटुवाहरूलाई समेत सास्ती भएको छ ।

सुदूरपश्चिमको हिमाली जिल्ला दार्चुला र बझाङदेखि तराईलगायत सुदूरपश्चिम प्रदेशका नौ जिल्ला र संघीय राजधानीसम्म गुड्ने गाडीहरूलाई यो राजमार्गमा खाल्डाखुल्डीले साइड दिन र अगाडि बढ्न गतिरोध हुनुका साथै सडक दुर्घटनाको सम्भावनालाई पनि निम्त्याएको स्थानीय नेत्रप्रसाद अवस्थीले बताए ।

सुदूरपश्चिमको सुन्दर भनिने, केन्द्र मानिने, पर्यटन र गन्तव्य हब भनिने डडेल्धुरा जिल्लाको सडक दूरावस्थाले बिरामीको उद्दार गर्ने एम्बुलेन्स, बिरामीको ज्यान जोखिममा त छ नै सडक सुविधा उपयोग गर्ने विद्यार्थी बाहनलगायत सर्बसाधारणलाई पनि सहिनसक्नु भएको स्थानीय समाजसेवी बीरबहादुर देउवा गुनासो गर्छन् ।

अहिले कोरोनाका कारण बजार, यातायात बन्द छन्, फाट्टफूट्ट मात्र गाडीहरू संचालन भएका बेला यसलाई मर्मत गर्न सके नागरिकले राहत पाउने भए पनि यसतर्फ सम्बन्धित कसैले ध्यान नदिएको, बरु सडक विभागले औपचारिकताका लागि सूचना प्रकाशन गर्ने, अषाढ मसान्तमा आएर टालटुल गर्ने प्रवृत्तिले गर्दा बिग्रेको सडक बनाउन कसैको ध्यान नगएको स्थानीयको भनाइ छ ।

सदरमुकाममा दिन-प्रतिदिन ठूला-साना गाडीसँगै मोटरसाइकलहरू थपिँदै गएका छन्, लामो रुटका गाडीहरू पनि त्यत्तिकै छन्, ठुला गाडीलाई त झन साइड दिन पनि अत्यन्त समस्या पर्ने गरेको छ, त्यसमाथि बजार खुलेको समयमा ट्राफिक जाम नभएको दिन नै हँुदैन । बजार अस्तव्यस्त भएको सबैले देखेकै हुनुपर्छ तर यही बाटोमा मन्त्रीदेखि स्थानीय सरकारका प्रमुखहरू दिनहुँ पटक–पटक ओहोरदोहर गर्ने गर्छन् र पनि कसैले चासो नराखेको नागरिक अभियन्ता गोविन्द खडायतको भनाइ छ ।

सडकमा निर्माण सामग्रीहरू अन्धाधुन्ध तरिकाले लछारेर अनुशासन विपरीत ढुवानी गर्दा पनि सडक क्षति भएको स्थानीय बताउँछन् । स्थानीय तह वा सडक डिभिजन कार्यालयले प्रभावकारी मापदण्ड नबनाउनु र नियमनमा पनि लापर्वाही रहेको स्थानीयको बुझाइ छ ।

आवश्यक समयमा मर्मतसंभारतर्फ पनि वास्ता नगरिएको र कुनै पनि जिम्मेवार निकायको ध्यान गम्भीर रूपले आकर्षित नहुँदा महाकाली र दशरथचन्द राजमार्ग दिन–प्रतिदिन जो्खिमपूर्ण बन्दै गइरहेको छ ।