विद्युत् खपत बढाउन घट्यो इन्डक्सनको भन्सार महसुल

विद्युत् खपत बढाउन घट्यो इन्डक्सनको भन्सार महसुल



विद्युतीय सवारीको आयातमा लगाइएको अन्तःशुल्क खारेज, भन्सार महसुल पनि घटाइयो

सरकारले आगामी आर्थिक वर्षका लागि शनिबार सार्वजनिक गरेको बजेटले मदिरा, बियर, वाइन, चुरोट, सुर्तीजन्य वस्तु र हल्का पेय पदार्थमा अन्तःशुल्क वृद्धि गरेको छ भने इन्डक्सन चुल्हो, रेफ्रिजेरेटर, ग्राइन्डर, राइस कुकर, पङ्खालगायत विद्युतीय उपकरणको मूल्य भने घट्ने भएको छ ।

शिशु स्वास्थ्य र पोषण प्रवर्द्धन गर्न शिशुले सेवन गर्ने दूधको भन्सार महसुल पनि ५० प्रतिशतले घटाइएको छ । मूल्य थपघटको व्यवस्था आगामी साउन १ गतेदेखि लागू हुनेछ ।

डेबिट कार्ड, क्रेडिट कार्ड, क्युआर कोड, स्क्यान-टु-पेलगायत अन्य विद्युतीय माध्यमबाट भुक्तानी गरी वस्तु तथा सेवा खरीद गर्दा तिरेको मूल्य अभिवृद्धि करको १० प्रतिशतले हुने रकम उपभोक्ताले तत्काल फिर्ता पाउने व्यवस्था पनि बजेटले गरेको छ ।

विद्युत् खपत बढाउनका लागि सरकारले विद्युतीय चुल्होको प्रयोगलाई बढावा दिने लक्ष्य निर्धारण गरेको छ । त्यसका लागि इन्डक्सन चुलोमा लाग्दै आएको भन्सार छुटलाई चार प्रतिशतले घटाएर एक प्रतिशतमा सीमित गरिएको छ । यसअघि इन्डक्सन चुल्होमा पाँच प्रतिशत भन्सार लाग्दै आएको थियो ।

भन्सार शुल्क कम भएपछि नेपाली बजारमा सस्तो मूल्यमा इन्डक्सन चुल्हो पाइनेछ । मुलुकमा पछिल्लो समयमा बिजुलीको उत्पादन बढ्दै गएको र खपत बढाउनका लागि उपाय खोजी भइरहेको बेला सरकारको यस्तो व्यवस्थाले नेपाल विद्युत् प्राधिकरणलाई समेत राहत पुग्नेछ ।

यस्तै विद्युत् खपत बढाउनका लागि रेफ्रिजेरेटर, ग्राइण्डर, राइसकुकर, पंखालगायत विद्युतीय उपकरणको अन्तःशुल्क खारेज गरी भन्सार महसुल घटाइएको छ ।

निजी क्षेत्रसमेतको सहकार्यमा ५०० चार्जिङ स्टेशन

सरकारले विद्युतीय सवारी साधनको प्रयोगलाई बढावा दिन निजी क्षेत्र समेतको सहकार्यमा देशभर ५०० चार्जिङ स्टेशन निर्माण गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरणले कूल ५० चार्जिङ स्टेशन निर्माणको प्रक्रिया थालिसकेको छ । निर्माण व्यवसायीको छनोट भए पनि कोरोनाका कारण काम भने अगाडि बढ्न सकेको छैन ।

आगामी आर्थिक वर्षको बजेटमा नै निजी क्षेत्रसँग मिलेर काठमाडौं उपत्यकालगायत देशभरका विभिन्न स्थानमा चार्जिङ स्टशेन, टर्मिनल भवनलगायत भौतिक पूर्वाधार निर्माण गरिनेछ । यसबाट व्यापार व्यवसायको विस्तारका अलावा विद्युतीय सवारी साधनको प्रयोगमा समेत व्यापकता आउने विश्वास लिइएको छ । त्यस्तै विद्युतीय सवारीको आयातमा लगाइएको अन्तःशुल्क खारेज भएको छ भने भन्सार महसुल पनि घटाइएको छ । यसअघि सार्वजनिक यातायातमा एक प्रतिशत र निजीमा १० प्रतिशत भन्सार शुल्क लाग्दै आएको थियो ।