पत्रकार महासंघ बेलायत शाखामा नयाँ कार्यसमिति

पत्रकार महासंघ बेलायत शाखामा नयाँ कार्यसमिति



अघोषित रूपमा संस्था दुई खेमामा विभाजित

  • प्रकाश के.सी., लण्डन

नेपाल पत्रकार महासंघ बेलायत शाखाको पाँचौँ कार्यसमितिको छनोट भएको छ । कोभिड–१९ को महामारीकै चरणमा सम्पन्न भएको संस्थाको पाँचौँ कार्यसमिति चुनावको लागि पहिलोपटक पोस्टल भोटिङको व्यवस्था गरिएको भए तापनि ४३ जना पत्रकारहरू रहेको संस्थामा पाँच जनाको मत आइनपुगेकोले सोको लागि गत शनिबार लण्डनको ह्यारोस्थित एक रेष्टुरेन्टलाई निर्वाचन स्थल बनाइएको थियो । दुई घण्टाको अवधि राखेर शुरु गरिएको सो निर्वाचनमा पाँच जना पत्रकारले आफ्नो मताधिकारको प्रयोग गरेका थिए ।

एक मत रद्द भएर पोस्टलबाट ३७ अनि प्रत्यक्षबाट ५ गरी जम्मा ४२ मतको आधारमा नेपाल पत्रकार महासंघको पाँचौं कार्यसमितिको चयन भएको छ । ४२ बाट प्रतिष्पर्धी श्याम लुईंटेललाई हराउँदै २६ मत ल्याएर ध्रुवराज अर्याल अध्यक्ष, प्रतिष्पर्धी सञ्जय कँडेललाई हराउँदै ३२ मत ल्याएर दिनेश कुमार परियार वरिष्ठ उपाध्यक्ष र प्रतिष्पर्धी जगन कार्कीलाई हराउँदै २७ मत ल्याएर नरेन्द्र बस्नेत महासचिवमा विजयी भएका छन् । तीन पदको लागि भएको उक्त चुनावपछि संस्थाको पाँचौँ कार्यसमिति निम्न प्रकारको रहेको छ-

अध्यक्ष – ध्रुवराज अर्याल
वरिष्ठ उपाध्यक्ष – दिनेशकुमार परियार
उपाध्यक्ष – शिव भण्डारी
उपाध्यक्ष (महिला) – प्रमिला लावुङ राई

महासचिव – नरेन्द्र बस्नेत
सचिव – मञ्जु भण्डारी
सहसचिव – खेमराज रानाभाट
कोषाध्यक्ष – एस. के. गुरुङ
सहकोषाध्यक्ष –सुरेन्द्र इंग्नाम

सदस्य – गोमा राना
सदस्य – नरेन्द्र नेम्वाङ
सदस्य – जयराम तामाङ
सदस्य – पछि मनोनित हुने
सदस्य – पछि मनोनित हुने
सदस्य – पछि मनोनित हुने

संस्थाको यस कार्यसमिति ३ वर्षको लागि हुनेछ । यसअघि नवीन पोखरेलले संस्थाको एक कार्यकाल, चिरन शर्माले एक कार्यकाल र नरेश खपाङ्गी मगरले दुई कार्यकाल चलाइसकेका छन् ।

करिव सय जना पत्रकारहरुले साधारण सदस्यता लिएको गत दुई कार्यकालपछि यो बेला संस्थामा सदस्यातामा सुद्धीकरण गरिएको थियो । बेलायतमा विभिन्न क्षेत्र, पहिचान, विचारलगायत क्षेत्रहरूलाई प्रत्यक्ष वा परोक्ष रूपमा प्रतिनिधित्व गर्नेहरुमध्येका आधा दर्जन सदस्यहरुको समितिले आ–आफ्ना मान्छेहरुका नाम अगाडि राख्दै समितिले साझा नामहरु छनोट गरी आधाभन्दा ज्यादा सदस्यहरुका सदस्यता खारेज गरेको थियो, जसमा कैयौँ सक्रिय पत्रकारहरू छुटेको व्यक्तिगत रूपमा समितिका हरेक सदस्यहरू मान्दछन् ।

राजनीतिक धारहरूले नेपाल पत्रकार महासंघको बेलायत शाखा पूर्ण रुपमा गिजोलिएको छ । ४३ जना पत्रकार रहेको संस्थामा सहमतिमा कार्य समिति चुन्न नसक्नु नै संस्था एक किसिमले दुई खेमाका धारमा विभाजित स्पष्टै भएको थियो । नेपालको मूल धारको राजनीतिको छाप देखिने गरेर निर्वाचन स्थलमा समानुपातिकरण, समावेशी समिति तथा राजनीतिक धारविशेष पदहरुको चयन गरिनुपर्ने चर्चा पनि चलेका थिए ।

केन्द्रीय प्रतिनिधिले पनि आफ्नो उमेदवारलाई जिताउन भोट मागेको, नेपालबाट पार्टीको उम्मेदवारलाई जिताउन दबाब दिएको, निर्वाचन बहिष्कार गर्ने प्रकारका आदिइत्यादि चर्चाहरु चले तापनि मत गणना हुनुभन्दा अघि ३ पदमा भएको चुनावपछि पनि केन्द्रीय प्रतिनिधि योगीको नेतृत्वमा सहमति खोज्ने प्रयास गरिएको थियो तर आखिरमा मतको गणना भएको थियो । मतको गणना पूर्ण नहुँदै पराजित प्रतिष्पर्धीहरु र तिनका प्रतिनिधिहरुले एकपछि अर्को गर्दै स्थल छोडेका थिए, जसलाई सानो संख्याका सदस्यहरु रहेको संस्थामा गलत परम्पराको शुरुवात भएको मानिएको छ ।

निर्वाचन कार्यक्रम सम्पन्न गराउन नेपाल पत्रकार महासंघको केन्द्रीय प्रतिनिधिको रूपमा वरिष्ठ पत्रकार भगीरथ योगीको उपस्थिति थियो भने रमेश सराङकोटीले कार्यक्रम संयोजन गरेका थिए ।