सदस्यसचिवको बोली बोलीमै सीमित, आउला त सिलवालको राजीनामा ?

सदस्यसचिवको बोली बोलीमै सीमित, आउला त सिलवालको राजीनामा ?


  • श्रीविक्रम भण्डारी

गत असार २८ गते जब तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सत्ताबाट उत्रिए, त्यसलगत्तै खेलकुद पदाधिकारीको ध्यान राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालतिर तेर्सियो । किनकि, यसअघि बारम्बार सिलवालले सार्वजनिक रूपमै उद्घोष गरेका थिए कि प्रधानमन्त्री केपी शर्मा ओली सत्ताबाट हटे भने म पनि १० मिनेटभित्रै राखेपको सदस्यसचिवको पद छोडिदिनेछु । केपी शर्मा ओली सत्ताच्युत भएको दुई साता बितिसकेको छ, तर सिलवालचाहिँ पद छोड्नुको सट्टा लिसो टाँसिएझैँ कुर्सीमा टाँसिइहने लक्षण देखाउँदै छन् । सदस्यसचिवको पदबाट राजीनामा दिने त कुरै छोडौँ उनी आफ्ना प्रतिद्वन्द्वी ठानिएका र एमालेकै फरक गुटका ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठको चाकरी गरेर टोकियो ओलम्पिकमा सहभागी हुन पुगेका छन् ।

हाम्रा देशका विभिन्न व्यक्तिहरू विदेश सयर भनेपछि हुरुक्कै हुने गरेका छन् । त्यसको लागि साम दान डण्ड भेद चारै नीति अवलम्बन गरेर विदेश सयर गर्न उनीहरू पछि पर्दैनन् । आफूलाई निकै आदर्शवान ठान्ने र बोलीको पक्का व्यक्ति भएको दाबी गर्दै आएका सिलवालसमेत यसमा अछुतो रहेनन् । हुन त उनी बोलीमा चुकेको यो पहिलो अवसर भने होइन । सिलवाल पटक–पटक कथनी र करनीमा चुक्दै आएका छन् । यसअघि पनि नेपालमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा भौतिक पूर्वाधारको बारेमा जथाभावी बोलेर उनी चर्चामा आएका थिए । त्यसको उदाहरणको रूपमा सातदोबाटोस्थित हिटिङ पौडी पोखरीलाई लिन सकिन्छ, जसले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । उक्त पोखरी निर्माण सम्पन्न भएको भनेर उनले सागमा पौडी खेलको आयोजनासमेत गराएका थिए । त्यसबेला सिलवालले खेलप्रेमीको आँखामा छारो हाले पनि अहिले उक्त हिटिङ पौडी पोखरीको दयनिय अवस्था कसैबाट छिपेको छैन ।

खेलकुदमा अहिलेसम्मकै धेरै बोल्ने तर त्यसको दश प्रतिसत पनि कार्य नगर्ने सदस्यसचिवको रूपमा परिचित सिलवालले ओलीको बहिर्गमनपछि पनि सदस्यसचिवको पदमा टाँसिरहन यस्तो हरकत गर्लान् भन्ने ठानिएको थिएन । तर सिलवालले आफ्नो बोलीलाई रछ्यानमा फ्याँक्दै आफ्नै व्यक्तित्वको अवमूल्यन गरेको मात्र नभै पदलोलुपको भूमिकामा समेत आफूलाई प्रस्तुत गरेका छन् । सदस्यसचिव सिलवाल यतिबेला शर्म पचाएर टोकियो ओलम्पिकको सयरमा रमाइरहेका छन् ।

‘केपी सत्तामा नरहेको १० मिनेटमा म पनि राखेपको सदस्यसचिवको पदमा बस्दिनँ’ भन्ने घोषणा सिलवालले गरेका थिए । उनले के आधारमा उक्त घोषणा गरेका थिए त्यो अहिले खेलकुदमा चर्चाको विषय बनेको छ । आफैले बोलेको बोली यतिबेला उनको स्मरणमा छ कि छैन ? जिज्ञासाको विषय बनेको छ । के उनले ओली अजम्बरी रूपमा सत्तामा कायम रहने ठानेका थिए ? के केपी ओलीको प्रधानमन्त्री पदको आडमै आफू सदस्यसचिव रहिरहने उनको सोच थियो ? यदि त्यस्तो हो भने सिलवालमाथि गम्भीर सवाल खडा हुन्छ- ‘उनी आफ्नो योग्यता र क्षमताले खेलकुद क्षेत्रको विकास र विस्तार गर्न नभइ पार्टीको लठैत कार्यकर्ता बनेर खेलकुदको दोहन गर्न मात्र खेलकुद प्रवेश गरेका थिए !’ यसलाई उनले १३औँ सागमै आफ्ना गुटका व्यक्तिलाई पोसेर प्रमाणित पनि गरिसकेका छन् ।

सिलवालको बोलीमा आकास र पातालको अन्तर छ भन्दा अतिसयोक्ति नहोला । उनले १० मिनेटमा राजीनामा दिने जुन कुरा बोलेका थिए त्यो देखावटी र बनावटी कुरो मात्रै थियो भन्ने यतिबेला प्रमाणित भएको छ । साँचो भन्नुपर्दा आफूलाई ओलीको अन्धभक्त देखाउन सिलवालले रचेको नाटक या ‘हनुमानगिरी’ मात्रै थियो । अन्यथा बोलेको कुरा उनले अवश्य पूरा गर्थे होलान् । अहिले उनकै गुटका केही खेलकुद पदाधिकारी ‘सिलवालले कहिले राजीनामा दिन्छन् ?’ भनेर कटाक्ष गर्दै उनलाई हाँसोको पात्र बनाइरहेका छन् । यदि बोलीमा अडान र नैतिकता भएको भए किमार्थ यस्तो नाजुक अवस्था निम्तिने थिएन उनका लागि । यतिबेला सिलवाल खेलकुदको ग्लैमरमा पूर्ण रूपमा डुबिसकेका छन् । यसको अर्थ उनी खेलकुदबाट सहजै विदा हुने पक्षमा छैनन् भन्ने नै हो । उनले राजीनामा दिने त कुरै छोडौँ, नयाँ खेलकुदमन्त्री नियुक्त भएपछि राष्ट्रिय खेलकुद विकास ऐन-२०७७ अनुसार सरकारले सिलवाललाई परिषदको सदस्यसचिवबाट हटायो भने पनि उनी अदालतको शरणमा पुग्ने पक्का छ । नयाँ खेलकुद ऐनअनुसार सदस्यसचिव कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै नेपाल सरकार (मन्त्रीपरिषद्)ले जुनसुकै बखत पदबाट हटाउन सक्छ ।

सिलवालले प्रतिबद्धता व्यक्त गरेर पनि राजीनामा दिएका छैनन्, जबकि नयाँ सरकारलाई काम गर्न सजिलो तुल्याउन बाटो छोडिदिने प्रचलन छ । जस्तो कि, गोरखापत्रका सम्पादक कृष्णमुरारी भण्डारीले सहजै राजीनामा दिएका छन् । ओली सरकारले गोरखापत्रको सम्पादकको रूपमा नियुक्त गरेका भण्डारीले नयाँ सरकारलाई काम गर्न सजिलो होस् भनेर विलम्ब नगरी पदबाट राजीनामा दिए, जबकि भण्डारीको राजीनामा न सरकारले मागेको थियो न संस्थानका कर्मचारीले, कसैले उनको उपस्थितिलाई समस्या माानेकै थिएनन् । गोरखापत्रका कर्मचारीहरूले भण्डारीको राजनीतिक दलसँगको आवद्धतामाथि कुनै चासो नै राखेनन्, बरु उनको कामको प्रशंसा गरेका थिए र, उनी जिम्मेवारीमा रहिरहुन् भन्ने चाहेका थिए । तर उनले नैतिकता दर्शाउँदै बाटो खुला गरिदिए, अर्थात् पदलाई भन्दा नैतिकतालाई ठूलो सम्झे ।

कृष्णमुरारीको प्रसङ्गलाई एक उदाहरण मात्रै प्रस्तुत गरिएको हो । अब १० मिनेट पनि पदमा नबस्ने घोषणा गरेका सिलवालले यस्तो नैतिकता कहिले देखाउलान् ? प्रतीक्षाको विषय बनेको छ । सिलवालको छाँटकाँट हेर्दा उनले यसरी नैतिकता देखाउने कुनै संकेत देखिँदैन । यतिबेला पार्टीको फरक गुटसँग साँठगाँठ गर्दै टोकियो ओलम्पिक पुगेका सिलवालले स्वदेश फर्केपछि यसमा अझ मलजल नगर्लान् भन्न सकिन्न । आखिर यस्ता लठैत कार्यकर्ताबाट यो भन्दा अर्को के नै अपेक्षा गर्न सकिन्छ र ? प्रश्न उठ्नु स्वभाविकै हो ।

त्यसो त ‘पशुपतिको जात्रा सिद्राको ब्यापार’ भने झैँ खेलकुद क्षेत्रलाई दुहुनो गाई बनाएर विदेश सयर गर्ने सिलवाल एक मात्र होइनन् । यसपालिको टोकियो ओलम्पिकको चर्चा गर्दा एमाले नेता वामदेव गौतमकी पत्नी तुलसा थापा (गौतम)लाई यहाँ छुटाउन मिल्दैन । यतिबेला उनी कबड्डी संघको अध्यक्ष भएर पनि जुडो ब्यवस्थापक बनेर टोकियो ओलम्पिकको आनन्द उठाइरहेकी छन् । यहाँनेर पूर्व खेलकुद पत्रकार कृष्ण खनालको शब्द सापटी लिँदा तुलसा थापाको खेलकुदमा हैसियत के हो ? भन्ने प्रस्ट होला ।

खनालले सामाजिक सञ्जालमा लेखेका छन्- ‘के यो देश वामदेवको बाउको बिर्ता हो ? आफूले सक्दो लुटे, धन र सुन कति लुटे-लुटे, अहिले पनि लुट्न तम्सिरहेका छन् । यी लुटेराकी पत्नी टोकियो ओलम्पिकमा जुडो खेलको ब्यवस्थापक बनेर गएकी छन् । कोही खेलकुदका पण्डितहरूले बताइदेउन् यिनको खेलकुदमा के हैसियत छ ? के आधारमा यिनी ओलम्पिकमा जान योग्य भइन्, कसैले सोध्दैन, कसैले औंला उठाउँदैन, अख्तियारहरू यिनका पछि लाग्दैनन् । खेलकुदमा सारा उर्जामय जीवन लगानी गर्नेहरू अहिले रङ्गशालातिर त्यत्तिकै डुलिरहेका छन्, तर वामदेवकी पत्नी भएकै नाताले ओलम्पिकमा सहभागी हुनु देशको दुर्भाग्य हो ! पाँच जना खेलाडीको नाममा १५ जना पदाधिकारी लानु र जानु दुवै दृष्टिकोणले अपराध पनि हो । के वामदेवको विर्ता हो यो देश ? जहिले पनि यिनीहरूकै हालिमुहाली हुनुपर्ने, जताबाट भए पनि आफ्नै पोल्टामा हुनुपर्ने ?… यस्तो खुलेआम लुटप्रति खेलाडीहरूले आवाज कहिले उठाउने ?’